Saturday, 16 April 2016

चिनियाँ राष्ट्रपति सी जिन पिङले आगामी अक्टोबर पहिलो साता नेपाल भ्रमण गर्ने

चिनियाँ राष्ट्रपति सी जिन पिङले आगामी अक्टोबर पहिलो साता नेपाल भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीले आगामी अक्टोबर २ तारिख (असोज १६ गते) मा नेपाल भ्रमण गर्ने सम्भावना उच्च रहेको चिनियाँ परराष्ट्र स्रोतले जनाएको छ ।
भारतको गोआमा आयोजना गरिने ब्रिक्स शिखर सम्मेलनअघि नै राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने संकेत चिनियाँ परराष्ट्र मन्त्रालयले गरेको थियो । गोआमा आगामी असोज २९ र ३० गते आठौं ब्रिक्स शिखर सम्मेलन हुँदैछ । सोही सम्मेलनमा भाग लिन जाँदा राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने अडकल गरिँदै आएको थियो ।

चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले सन् २०१६ भित्र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भए पनि मिति तय नभएको उल्लेख गरे । ‘चिनियाँ परराष्ट्र मन्त्रालयले हामीलाई चालू वर्ष सन् २०१६ को मध्यपछि स्टेट लिडरले नेपालको भ्रमण गर्ने जानकारी दिएको छ,’ मास्केले  भने, ‘तर कुन नेताले कहिले भ्रमण गर्ने भन्ने कुराचाहिँ खुलाएको छैन ।’

ब्रिक्स सम्मेलनमा भाग लिन भारत जाँदा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने अनुमान गरिँदै आएको राजदूत मास्केले उल्लेख गरे । तर सम्मेलनभन्दा अगाडि अर्थात् जुलाईपछि कुनै पनि समयमा नेपालको भ्रमण गर्ने अवस्था रहेको चिनियाँ परराष्ट्र मन्त्रालयले दूतावासलाई पनि जानकारी दिएको छ ।

 नेपालमा नयाँ संविधान जारी भएर कार्यान्वयनको चरणमा रहेकाले आगामी असोज अगाडि नेपालको राजनीति स्थिर र शान्त रह्यो भने चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने निश्चित भएको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्राय:जसो छिमेकी मुलुकको भ्रमण गरिसकेका चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्न चाहे पनि यहाँको आन्तरिक राजनीतिक अस्थिरता र अन्य प्रतिकूलताले गर्दा अहिलेसम्म हुन नसकेको चिनियाँ परराष्ट्र मन्त्रालयले बताएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएका दुई पक्षीय सम्झौता र समझदारीका कारण पनि चिनियाँ नेतृत्व नेपालप्रति अलि बढी विश्वस्त देखिएको छ ।   





About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us