Sunday, 24 April 2016

दोस्रो एकीकृत बस्ती निर्माणमा जुटे धुर्मुस(सुन्तली, पहिलाको भन्दा ठूलो र व्यवस्थित हुने


काठमाडौं । भूकम्पछिको पुनर्निर्माणको सरकारी अभियान एक वर्षसम्म कुहिरोको काग बनिरहेका बेला कलाकार सीताराम कट्टेल दोस्रो एकीकृत बस्ती निर्माणमा जुटेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकोप्टर चढेर बारपाक पुगी भूकम्प स्मारकको शिलान्यास गरेकै क्षण धुर्मुसले सिन्धुपाल्चोकको मेलम्ची गाविसस्थित गिदानचौरमा नमुनाबस्तीको आफैं शिलान्यास गरे ।

धुर्मुसले निर्माण गर्ने दोस्रो नमुना बस्तीको नामाकरण गरिएको छ, गिदानचौर एकीकृत नमुनाबस्ती पुनर्निमाण तथा पर्यटन प्रवर्द्धन परियोजना । बस्तीमा एउटा सामुदायिक हलसहित ६५ वटा घर रहने धुर्मुसले जानकारी दिए ।

‘यो मेरो महत्वाकांक्षी परियोजना हो,’ उनले भने, ‘जसरी पनि सफल पार्छु ।’

निर्माणका लागि उनले साढे तीन करोड रुपैयाँ लाग्ने अनुमान गरेका छन् । तर, धुर्मुस-सुन्तली फाउन्डेसनकोे खातामा छ, जम्मा एक लाख ७४ हजार रुपैयाँ । यति ठूलो रकम कसरी जुटाउनुहुन्छ त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मैले धनले होइन, मनले यो काम गर्दैछु, मन भएपछि धन जसरी पनि जुट्छ भन्ने विश्वास छ ।’

धुर्मुसले नयाँ बस्ती निर्माणमा आर्थिक सहयोग गर्न ‘मन भएका’ दाताहरुलाई आह्वान गरेका छन् । अहिलेसम्म थुप्रैले इच्छा व्यक्त गरेको तर, ठोस प्रतिवद्धता भने आइनसकेको उनले बताए ।



‘अघिल्लो कामको अनुभवका आधारमा पनि मलाई सबैले विश्वास गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

यदि तपाईंले सोचेको जस्तो भएन भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘काम थालिसकेपछि कुनै पनि हालतमा पछि हट्दिँन । अाफ्नै घर बेचेर भए पनि परियोजना सफल बनाउन तयार छु ।

धुर्मुसले भूकम्प आएको केही समयमै काभ्रेको पाँचखालमा एकीकृत बस्ती निर्माण गरेका थिए । उनले ६७ लाख ३७ हजारको लागतमा ७० दिनभित्र निर्माण सम्पन्न गरेको सो बस्तीमा २० घरहरु छन् । नयाँ बस्ती उनले ४ देखि ६ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।
अघिल्लोभन्दा यो बस्ती केही फरक र थप व्यवस्थित पनि हुने धुर्मुसले बताए । सरकारले तोकेको सबै मापदण्ड पूरा गरेर, स्थानीय स्रोत-साधनलाई बढीभन्दा बढी प्रयोग गरेर बस्ती निर्माण गर्ने उनको लक्ष्य छ ।

धुर्मुस भन्छन्, ‘मैले पुनर्निर्माण प्राधिकारणको समानान्तर भएर काम गर्न खोजेको होइन । आवश्यक सबै कागजात पेश गरेर प्राधिकरण लगायत सम्वन्धी सबै निकायको स्वीकृति लिएर गर्दैछु ।’

नयाँ बस्तीलाई बालमैत्री, अपाङ्गमैत्रीका साथै हरियालीयुक्त बनाउने पनि उनको योजना छ । तामाङ बस्ती भएकाले स्थानीयवासीको सांस्कृतिक पहिचान पनि झल्कने गरी डिजाइन गरिएको छ । यो ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने सम्भावना देखेका छन् धुर्मुसले ।

‘भविष्यमा पर्यटकीय सम्भावना देखेर पनि मैले यो क्षेत्र छनोट गरेको हुँ,’ उनले भने ।


वस्तीभित्र गाईवस्तु पाल्न दिइने छैन । पशुपालनका लागि छुट्टै ठाउँ व्यवस्थित गरिनेछ । यसबाहेक स्थानीयवासीको आयआर्जनका लागि अन्य के-कस्ता विकल्पहरु अपनाउन सकिन्छ भनेर पनि धुर्मुसले अध्ययन गरिरहेका छन् ।

गिदानचौरका बासिन्दाहरु पहिले पनि नमुनावस्तीकै अवधारणमा सामूहिकरुपमा मिलेर बसेका थिए । तर, भूकम्पले बस्तीलाई तहस-नहस बनाइदियो । अहिले सो बस्तीमा कुनै पनि घरहरु बस्नयोग्य छैनन् । मानिसहरु पालमा गुजारा गरिरहेका छन् ।

बस्तीका बासिन्दाहरु केही समय अघि एकीकृत बस्ती निर्माणको माग गर्दै नगरपालिकामा पुगेका थिए । यता धुर्मुस पनि दोस्रो एकीकृत बस्तीका लागि उपयुक्त स्थान खोजी गर्दै त्यहाँ पुगे । नगरपालिकाकै संयोजनमा आफू सो गाउँसम्म पुगेको धुर्मुसले बताए ।

अघिल्लो बस्तीमा जस्तै आफूहरु दिनरात निर्माणस्थलमा खट्ने योजना धुर्मुस-सुन्तलीको छ । उनीहरुले टेलिभिजनमा सञ्चालन गर्ने मेरी बास्सैको सुटिङ पनि त्यतै गर्ने योजना बनाएका छन् । बस्ती निर्माणका लागि पूर्वमुख्यसचिव लीलामणि पौडेल, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल र सञ्चारकर्मी रवीन्द्र मिश्रलाई सल्लाहकार समितिमा राखिएको छ ।

आज शिलान्यास गरेपछि केही दिनभित्रै डोजरको काम सुरु गर्ने धुर्मुसले बताए । उनले बस्ती डाँडामा भएकाले पानी पुर्‍याउन सबैभन्दा ठूलो चुनौति रहेको उल्लेख गरे । ‘तल नदीबाट डाँडामा पानी पुर्‍याउन सबैभन्दा कठिन देखेको छु,’ उनले भने ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us