Saturday, 16 April 2016

नेपाल दुई स्थान उक्लियो

नेपालले विश्व क्रिकेट लिग च्याम्पिनसिपमा पहिलो विजय हात पारेको छ । सानदार बलिङ तथा शरद भेषावकर र विनोद भण्डारीको उत्कृष्ट ब्याटिङपछि नेपालले शनिबार नामिबियामाथि ५ विकेटको विजय हात पार्‍यो ।

नेपाल कठिन स्थितिमा पुगेको अवस्थामा शरदले विनोद भण्डारीसँग ८४ रनको अविजित साझेदारी गरेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले विजय हात पार्‍यो ।

शरदले विजयी चौका प्रहार गरेपछि नामिबियाले छाडेको १ सय ९६ रनको लक्ष्य नेपालले १७ बलअगाडि १ सय ९७ रन बनाउँदै पूरा गर्‍यो । लिस्ट ‘ए’ मान्यता खेलमा नेपालले सबैभन्दा बढी रन लक्ष्य पछ्याएर खेल जितेको हो ।

नेपालले यसअघिका चारै खेलमा पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा पाएको विजयपछि नेपालले युएई र नामिबियालाई उछिन्दै आठ राष्ट्र सहभागी अंकतालिकाको छैटौं स्थानमा उक्लेको छ । २०१७ को मध्यसम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोली २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।

‘५ विकेटले जितको अन्तर ठूलो देखाए पनि पिचको स्वभावका कारण त्यस्तो सजिलो विजय थिएन,’ नेपालका कप्तान पारस खड्काले भने, ‘शरदले एउटा इन्डबाट इनिङ्स सम्हाले र विनोदले निकै महत्त्वपूर्ण इनिङ्स खेले ।’ स्पिनरहरूको राम्रो प्रभावपछि टस जितेर ब्याटिङ रोजेको नामिबियालाई ५० ओभरमा नेपालले १९५–९ मा रोकेको थियो ।

‘हामीले पर्याप्त स्कोर बनाउन सकेनौं र बलिङ पनि राम्रो गर्न सकेनौं । हामीसँग ५ विकेट लिन सक्ने खुबी भएका स्पिनर पनि थिएनन्,’ नामिबियाका कप्तान स्टेफन बार्डले भने, ‘यो टर्निङ विकेट थियो र नेपालले त्यसको उपयोग गर्‍यो ।’

सोमपाल कामीको पहिलो ओभरमा ३ चौकासहित १५ र पारसको अर्को ओभरमा १० रन जोड्दै नामिबियाले राम्रो सुरुआत गरेको थियो । तेस्रो ओभरको पहिलो बलमै सोमपालले बार्डलाई एलबीडब्लु आउट गरी नेपाललाई पहिलो सफलता दिलाए ।

बार्डले ८ बलमा १८ रन बनाए । अर्का ओपनर जेन ग्रिनले पारसलाई दुई चौका प्रहार गरेपछि छ ओभरमा नामिबियाको स्कोर ४१ रन पुगेको थियो । त्यसको ओभरमा सोमपालले ग्रिनलाई १४ रनमा बोल्ड गरे ।

त्यसपछि स्पिनरहरू हावी हुन पुगे । दोस्रो स्पेलमा अफ स्पिनरको रूपमा आएका पारसले चौथो विकेट लिएपछि नेपाल खेलमा हावी हुन पुग्यो । २६औं ओभरमा नामिबियाको १ सय ९ रन हुँदा नेपालले ६ विकेट खोसिसकेको थियो ।

तल्लो क्रममा भेट्रान सरेल बर्गरले ७७ बलमा ४ चौकासहित ३८ र जेजे स्मिथले २६ रन बनाएपछि नामिबियाको स्कोर हेर्नलायक बनेको थियो । देब्रेहाते स्पिनर वसन्त रेग्मीले १० ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ३ विकेट लिए ।

उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाएर नेपालको नयाँ जोडीको रूपमा ओपनिङमा ब्याटिङ आएका थिए । उनीहरूले पहिलो विकेटमा ४२ रनको साझेदारी गरे । ज्ञानेन्द्र ४० बलमा १ चौका प्रहार गरी २१ रनमा बोल्ड भए ।

लगत्तै १ छक्का प्रहार गरेका नरेश १६ रन बनाई एलबीडब्लु आउट भए । पारस खड्काले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरी २१ रन बनाए । राजु रिजाल ५ र राजेश पुलामी ९ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

विनोदले तीन छक्का प्रहार गर्दै खेलको नक्सा परिवर्तन गरिदिए । एक चौका पनि प्रहार गरेका उनले ४९ बलमा ४० रन बनाए । शरदले भने संयमित खेले । उनी १२ औं ओभरमा क्रिजमा आएका थिए ।

३३ औं ओभरमा क्रिजमा आएका विनोदले इनिङ्सका क्रममा उनलाई बढी रन बनाउनेमा उछिनेका थिए । आवश्यक समयमा शरदले ब्याट घुमाए । उनले ९९ बल खेली ३ चौका प्रहार गरे ।

राजु र सन्दीपको ‘डेब्यु’
राजु रिजाल र सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका छन् । जनवरी–फेब्रुअरीमा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेसँगैं यी दुईका लागि राष्ट्रिय टोलीको ढोको खुलेको थियो । राजु विकेटकिपिङमा खासै आत्मविश्वासी देखिएनन् । उनले ब्याटिङमा पनि त्यस्तो प्रभाव पार्न सकेनन् ।

पहिलो बल नै गुगली फालेका १६ वर्षे लेग स्पिनर सन्दीपले नामिबियाका ब्याट्सम्यानलाई आच्छु आच्छु पारे । धेरैपटक उनको बलिङलाई नामिबियाका ब्याट्सम्यानले अन्दाज पनि लगाउन सकेका थिएनन् ।

इनिङ्सको १७ औं ओभरमा प्वाइन्टमा वसन्तले सुन्दर क्याच लिएर पिकी फ्रान्सलाई आउट गरी सन्दीपलाई पहिलो विकेट दिलाए । सन्दीपले सो क्रममा १० ओभरमा २ मेडन राख्दै ३७ रन खर्चे ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us