
दुर्गम पाचोक गाविसको उपल्लो पाचोक र तल्लो पाचोकका अधिकांश जनताले हालसम्म १५ हजार नगद समेत नपाएका हुन् । भूकम्प गएको ११ महिना वित्न आग्दा समेत सरकारले दिने भनेको रकम नपाउँदा पिडितहरुमा निरासा पैदा भएको छ । पाचोक –७ तल्लो पाचोकका लक्ष्मी घलेले घर क्षति भएपछि रातोकार्ड पाएकी छन् । तर, रातो कार्ड भएर अहिलेसम्म पनि राहत नपाउँदा उनलाई सरकारी राहतको आश मरिसकेको बताईन् । उनले भनीन् “अरुले राहत पाएको त सुनिन्छ, तर सरकारले दिने भनेको तत्कालीन राहतको १५ हजार समेत नपाउँदा राहत पाउने आश मरिसक्यो ।”
जिल्लाको दुर्गम भेग मानिने पाचोकका अधिकांश नागरिकले पटक–पटक सम्म जिल्लाप्रशासन कार्यालय धाएपछि मात्रै रातोकार्ड पाएका हुन् । रातो कार्ड पाएपछि त सरकारले अरुलाई झैं राहत दिन्छ भन्नेमा ढुक्क रहेका पिडितहरु सरकारले हालसम्म कुनैपनि राहत नदिंदा भने आफुसँग भएको कार्डको भुमिकामाथी पनि शंका गर्न थालेका छन् । दुर्गम पाचोकका अधिकांश पिडितहरुले दोस्रो पटकको मुचुल्का पछि मात्र रातो कार्ड पाएका थिए ।
तर, रातो कार्ड भएर अहिलेसम्म पनि राहत नपाउँदा उनीहरु दुःखी बनेका छन् । चिसो मौसममा जाडोबाट निकै कठ्याङग्रीएका उनीहरुले न न्यानो कार्यक्रमको १० हजार पाएका छन न त १५ हजार नै । पाचोक १ की नौमायाँ गुरु्ले भनीन् “अझैपनि त्रिपालकै बास छ, तत्कालिन रकम र न्यानो रकम त पाउन नसकेका हामी सरकारले पुनःनिर्माणका लागि दिने भनेको २ लाख रकमको त आश नै छैन् । हाम्रो पिडा कस्ले बुझ्ने ।”
रातो कार्ड पाएका तर, सरकारले दिने भनेको कुनैपनि राहत रकम नपाएका जिल्लाका ४ हजार भन्दा बढी पिडितहरुको सरकार प्रति यस्तै गुनासो छ । यता जिल्ला प्रशासनले भने राहत पाउन छुट भएका भुकम्प पीडितलाई थप रकम पठाउन माग गरीएपनि हालसम्म प्राप्त नभएकाले बाँड्न नसकिएको बताउँदै आएको छ । जिल्लामा १३ हजार ८ सय १ पीडित मध्ये ९ हजार ५ सय ३३ भुकम्प पीडितले मात्रै राहत पाएका छन् । चिसोमा कष्टकर रुपमा जिवनयापन गर्दै आएका भुकम्प पीडितहरु अझै राहतको आश गर्दै सरकारको बाटो कुरेर बसीरहेका छन् ।