Saturday, 26 March 2016

अस्थिरता फैलाउने भारतीय राजदूतलाई फिर्ता पठाउने सरकारको तयारी

कुटनीतिक मर्यादा नाघेर भारतीय राजदूत रेले नेपालमा अस्थिरता फैलाउने कार्य गरेको उपप्रधानमन्त्री मैनालीको ठहर, कुटनीतिक सीमा ननाघ्न चेतावनी !

उपप्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले कुटनैतिक मर्यादा विपरित मुलुकमा अस्थिरता फैलाउने कार्य नगर्न भारतीय राजदूत रञ्जीत रेलाई आग्रह गर्नुभएको छ । उहाँले राजदूत रेले मर्यादा नाघेर नेपालमा राजनीतिक चलखेल गरिरहेको आरोप समेत लगाउनु भयो ।

शनिवार विराटनगरमा संचारकर्मीहरुसंग उपप्रधानमंत्री मैनालीले भारतिय राजदुत रेले दुतावासमा मधेसवादी दलका नेताहरुलाई बोलाएर आन्दोलनको तयारी बारे विचार विमर्श गर्नु कुटनैतिक मर्यादा विपरित भएकाले यस विषयमा प्रधानमंत्रीको नेपाल आगमन पछि कुरा हुने बताउनु भयो । उहाँले नेपालले भारत र चीन संग सन्तुलित सम्बन्ध राख्ने उद्देश्यका साथ प्रधानमंत्रीको चीन भ्रमण भएकोले यो भ्रमणलाई कसैको विरुद्ध नसम्झिन आग्रह गर्नुभयो ।

उपप्रधानमंत्री मैनालीले संविधान कार्यान्वयन अहिले चुनौतीपूर्ण रहेकाले पनि सरकारमा नेपाली कांग्रेसको सहभागिता आवश्यक भएको बताउनु भयो । उहाँले नेपाली कांग्रेसले सरकारमा सहभागिता नजनाउने भए सरकार ढाल्ने खेलमा नलाग्न पनि आग्रह गर्नुभयो । उहाँले सरकारको आलोपालो नेतृत्व गर्ने कुरा आवश्यक नभएको बताउदै यसबारेमा छलफल भने हुन सक्ने जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा उपप्रधानमंत्री मैनालीले लगातारको बन्द हडताल र नाकाबन्दीका साथै राजनैतिक कारणले गर्दा सरकारले गतिलो काम गर्न नसकेको बताउनु भयो । उहाँले राजनैतिक मुद्दा समाधान हुदै गएकाले अब सरकारको कामले गति लिने धारणा व्यक्त गर्नुभयो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us