
Saturday, 12 March 2016
धादिङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको पराकम्प
काठमाडौं, फागुन ३०
नेपालमा गत बैशाख १२, १३ र २९ गतेको विनाशकारी महाभूकम्प पश्चात् सानातिना पराकम्पनहरू जाने क्रम क्रमिक रूपमा कम हुँदै गए पनि सानातिना पराकम्प अझै पनि रोकिएको छैन ।
धादिङ केन्द्रबिन्दु भएर अहिले केही समय अगाडि पनि पराकम्प गएको छ । आज बिहान ११ बजे धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
पराकम्पको धक्का धादिङसहित काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो । पराकम्पको केन्द्रविन्दु धादिङ परेकाले धादिङका बासिन्दा घरबाट बाहिर निस्किएका थिए ।
बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दामाथिका चार सय ३९ भन्दा बढी पराकम्प गएको भूकम्प मापन केन्द्रको बेवसाइटमा जनाइएको छ ।
