Saturday, 19 March 2016

प्रकाश चेपाङ जंगलकोबीचमा लथालिंग घर,जहाँ उनी बस्दैनन् सुतछन् मात्र

प्रकाश चेपाङ गोरखाको ताङ्लिचोक गाविस ९ भलायडाँडाको पुछारगाउँमा बस्छन् । सालघारी माझको पखेरामा उनको घर छ ।
उनको एकपाखे घरको धुरीमा राहतमा पाएको जस्ता छापेको छ । घरमा गारो र बारबन्देज केही छैन, चारैतिर खुला छ ।

उनी घरमा बस्दैनन्, सुत्छन्मात्र । उनको घरमा ओछ्यानमात्र छ, बस्ने ठाउँ छैन । सामान केही छैन । चुलो आँगनमै छ । प्रकाश यो उदांगो घरमा बसेको १० वर्ष भयो । उनलाई जन्म दिने आमाबुबा दुवै घरमा छैनन् । जन्माएर बुबाआमा लाखापाखा लागेपछि उनलाई ७८ बर्से हजूरबाले लालनपालन गर्दै आएका छन् ।

सालघारीको छेउमा उदांगो घरमा वृद्ध हजूरबुबासँग सुत्दा प्रकाशलाई बाघको डर लाग्छ । ‘निदाइरहेका बेला बाघले तान्छ कि भनेर डर लाग्छ', उनी भन्छन् । सधैं आइरहने सर्प, बाँदर र स्यालसँग भने डर नलाग्ने उनी सुनाउँछन् । सुत्न भुइँमा आधा फिट अग्लो टाँड छ । टाँडमाथि सुकुल छ । सुकुलमाथि दुईवटा दरी ओछ्याइएको छ । ओढ्न दुईवटा कम्मल छन् । यी सबै सामान राहतमा आएका हुन् ।

बुबाआमाको खासै न्यास्रो नलाग्ने उनी बताउँछन् । उनले भने, ‘बाले कान्छी बुरी लिएर माडी गा । आमाचाहिँ सोमे कान्छाको बुरी हो ।'

उनका बुबा कान्छी आमा लिएर चितवनको माडी गए । उतै बसोबास गर्न थाले । उनकी आमाले पनि गाउँकै एक युवकसँग दोस्रो बिहे गरिन् । तर प्रकाश दुवैतिर जान पाएनन् । उनी भन्छन्, ‘म पनि गयो भने बाजे एक्लै हुन्छ ।' १० वर्षका प्रकाश ७८ बर्से हजूरबाको सारथी बन्दै घर रुँगेर बस्छन् ।

हजूरबा (थापा माहिला) लाई पृथ्वी राजमार्गको चुमखोलामा गाडीले हानेर सडकमा लडाइदियो । अहिले पनि टाउकोमा गम्भीर चोट छ । घरिघरि फन्फनी रिँगटा लागिरहन्छ । सडकमा बजारिएकाले उनलाई छाती दुख्ने समस्या पनि छ । आफ्नो जीर्ण शरीर र बालक नाति पाल्न उनी जंगलमा घाँस र दाउरा काट्छन् । अनि चुमखोलामा बेच्छन् । उनी टाउकोमा राखेर भारी बोक्न सक्दैनन् ।

‘बाजे टाउकोमा राखेर भारी बोक्न सक्दैन । घाउ छ', प्रकाश भन्छन्, ‘निधारमा राखेर बोक्छ । अनि चुमखोलामा लगेर बेच्छ । चामल किनेर ल्याउँछ ।' यसले दुईजनाको ज्यान पालिरहेको उनी बताउँछन् ।

बेलाबेला आफूले काँचै चामल पनि खाने गरेकाले बाजेले चामल सिरानीमुनि लुकाएको उनी बताउँछन् । सिरानी उचालेर देखाउँदै उनी भन्छन्, ‘यीः यहाँ छ चामल ।’ उनका हजूरबाले बेलुकीको छाक टार्ने एक माना चामल सिरानीमुनि पोलिथिन झोलाभित्र राखेको उनी देखाउँछन् । सधैं चामलकै भात खान पाएको प्रकाश खुसी हुँदै सुनाउँछन् । घाँस–दाउरा बेचेर उनका हजूरबाले दिनदिनै चामल किनेर ल्याउँछन् ।

बेलाबेला उनका हजूरबा चुमखोलाबाट राति निकै ढिला गरी आउँछन् । त्यतिबेलासम्म आफू भोकै सुतिसक्ने प्रकाश सुनाउँछन् । ‘बेलाबेला बाजे चुमखोलाबाट रक्सी खाएर राति आउँछ । म निदाइसक्छु', उनी भन्छन्, ‘राति ब्युँझँदा भोक लाग्छ । भोक लागे पनि नकराईकन बस्छु ।' एकाबिहानैदेखि केही नखाई बस्दा खप्नै नसक्ने भोक लाग्ने उनी सुनाउँछन् ।

सानैदेखि उनले निस्तै भात खाने गरेका छन् । दाल, तरकारी र अचार बनाउने त चलनै छैन । उनले नुनको धुलो हालेर भात मुछ्ने गरेका छन् ।
१० वर्षको उमेर भयो, अहिलेसम्म उनले दिउँसो खाजा खाएका छैनन् । बानी परेर हुनसक्छ, दिउँसो खाजा खान मन पनि नलाग्ने उनी बताउँछन् ।

दिउँसो खाजा खाने त बानी नै छैन । ‘बाजेले बिहानै उठेर खाना पकाउँछ । अँध्यारैमा खान्छ र काममा जान्छ’, उनले भने । बिहानको खाना सखारै खाने उनी त्यसपछि एकैपटक रातिमात्र खान पाउँछन् ।

उनको खुट्टामा अहिलेसम्म जुत्ताचप्पल परेको छैन । जन्मेदेखि कसैले जुत्ताचप्पल नल्याइदिएको उनी बताउँछन् । ‘चप्पल लगाउन त मन किन नलाग्ने ? बाजेले किन्दैन', उनी भन्छन्, ‘मसित पैसा छैन ।' गाउँलेको काम गर्न गए पनि पैसा दिँदैनन् । ‘साहूको काम गर्न गयो, हामीलाई त भात खुवाएर पठाउँछन् । पैसा त दिँदैनन्', उनी भन्छन् ।

ज्यानमा ठूलो हुने गरी लगाएको स्विटर र सर्ट उनका हैनन् । खुट्टामा लामो हुने पाइन्ट घुँडामाथिसम्म आउने गरी दोबारेर लगाएका छन् । ‘यो सबै बाजेको लुगा झिकेर लगाएको हो', उनी भन्छन् ।

बाजेका अनुसार प्रकाशको खास नाम कुमबहादुर चेपाङ हो । बाजेको नामचाहिँ टंकबहादुर चेपाङ हो । तर सानैदेखि उनलाई गाउँमा थापा माहिला भनेर बोलाउँछन् । तीन पुस्ताअघिसम्म उनीहरूको थर थापामगर थियो । ‘हाम्रो बाले चेपाङ्नीसँग बिहे गरे । चेपाङ गाउँमै बसाइँ आए', थापा माहिला भन्छन्, ‘अनि नागरिकता बनाउने डोर गाउँमा आउँदा नागरिकताको थर पनि चेपाङ बनाइदिए ।' आफूले पनि चेपाङ्नी बिहे गरेको र अहिले उनका ६ भाइ छोरा र चार बहिनी छोरी सबैले चेपाङसँग बिहे गरेर चेपाङ थर नै चलाएको उनी बताउँछन् ।

उनका अनुसार कान्छो छोरोबाहेक सबै छोराछोरी गाउँबाहिर छन् । गाउँमै भएको कान्छो छोराले पनि नपालेपछि ७८ वर्षीय थापा माहिलाको बिचल्ली भएको छ । आफूलाई अरूले पाल्नुपर्ने बेलामा उनी नाति हुर्काइरहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us