Thursday, 10 March 2016

प्रधानमन्त्रीको भ्रमणका लागि चीनले भन्यो कत्रो जहाज पठाउँ

 प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएका छन् । चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन्– ‘कत्रो विमान पठाउँ ?’

प्रधानमन्त्री ओलीले चैत ७ देखि चीनको पाँचदिने औपचारिक भ्रमण गर्दै छन् । परराष्ट्र स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी प्राप्त भएको छ ।

खासगरी प्रधानमन्त्रीको भ्रमण टोली तय नहुँदा कत्रो विमान पठाउने भन्नेमा चीन सरकार अन्योलमा परेको छ । चीनले विमानको विषय टुंग्याउन ताकेता गरिरहेको स्रोतले जनायो ।

चीनले पठाउने विशेष विमान वा राष्ट्रिय ध्वजावाहक प्रयोग गर्ने भन्नेमा उच्च तहमा बहस भइरहेको स्रोतको भनाइ छ । विशेष सुरक्षा जडित विमान आउने जानकारी गराइएकाले प्रधानमन्त्रीले चिनियाँ विमानै उपयोग गर्ने संकेत गरेका छन् ।

उनले भारत भ्रमणमा नेपाल वायुसेवा उपयोग गरेका थिए । आफ्नै ध्वजावाहक विमानबाट फर्कने क्रममा डेढ घण्टा ढिला भएकोमा उनले गम्भीर चासो देखाएका थिए ।

नेपाल वायुसेवा निगमले समय तालिका मिलाएर आफ्नो नियमित उडानमा असर नपर्ने गरी भ्रमणका लागि विमान उपलब्ध गराउन सक्ने पर्यटन मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय र परराष्ट्रमा जानकारी गराएको छ । प्रधानमन्त्री ओली चीनको बोआओमा हुने एसियाली सम्मेलनमा भाग लिन जाने क्रममा दुई दिनअघि बेइजिङ पुग्ने भएका हुन् ।

उनलाई बोआओ फोरममा सहभागी हुन निमन्त्रणा गरिएको थियो । लामो समयदेखि बोआओ फोरममा नेपाललाई निमन्त्रणा गर्न छाडेको चीनले गत वर्षदेखि पुन: निमन्त्रणा गरेको हो ।

गतवर्ष तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बोआओमा सहभागिता जनाएका थिए । यद्यपि उनलाई चीन सरकारले बेइजिङमा रेड कार्पेट नओछ्याएको कारण उनी बोआओबाटै फर्केका थिए ।

यसपटक भने ओलीलाई बेइजिङमा स्वागत गरेर त्यहाँबाट हैनानमा पुन: स्वागत गर्ने चीनको तयारी छ । गत वर्ष पनि चीनले आफ्नै विमानमा कोइराला नेतृत्व टोलीलाई हैनान लगेको थियो । उनलाई नियमित उडानबाट छेन्दु हुँदै हैनान पुर्‍याएको थिए ।

अहिले ओलीलाई विशेष विमानबाट सिधै बेइजिङ पुर्‍याउने कार्यक्रम छ । सरकारले चीन भ्रमण टोली पनि विशेष बनाउने तयारी गरेको छ । विभिन्न विषयमा छलफल हुने उक्त भ्रमणमा कम्तीमा तीन मन्त्री हुनेछन् ।

प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयका अधिकारी तथा व्यापारी समुदायसहित भारतको जस्तै जम्बो टोली बन्ने अधिकारीहरूले बताएका छन् । चीन सरकारले अझै नेपाली टोलीको संख्या छिटो तय गर्न आग्रह गरिरहेको छ ।

सरकारी टोली ४० भन्दा बढी नहुने र व्यापारीहरू पनि भारत गए जति नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । सबै तयारी चलिरहेकाले टोलीको अन्तिम नामावली तय हुन बाँकी रहेको दाहालले बताए ।

टोली जस्तोसुकै भए पनि त्यहाँ सरकारले गर्ने काममा यो भ्रमणको मूल्यांकन हुने भन्दै परराष्ट्र अधिकारीले टोलीबारे खासै चासो नराखेको अधिकारीहरूले बताए ।

संविधान जारी भएपछि भारतले देखाएको व्यवहारबाट अलमलिएको एमाले नेतृत्वको सरकारले एकतर्फी परनिर्भरताको अन्त्य गर्न चीनसँग पारवहनसहित अन्य महत्त्वपूर्ण विषयमा सम्झौतासमेत गर्नेछ । प्रधानमन्त्री ओलीले नै आसन्न चीन भ्रमणको क्रममा नेपालले पारवहनलगायत विविध द्विपक्षीय सुविधाबारे सम्झौता हुने बताइसकेका छन् ।

पारवहन सुविधासँगै इन्धन र स्वतन्त्र व्यापार क्षेत्र (फ्री ट्रेड एरिया) सम्झौता हुनेछ भने अन्य द्विपक्षीय विविध विषयमा छलफल हुने तय छ । चीनसँग जलाशययुक्त विद्युत् परियोजनामा चिनियाँ एक्जिम बैंकमार्फत् सहुलियतपूर्ण ऋण लिनेबारे समेत प्रस्ताव लैजाने तयारी सरकारको छ ।

नाका सुचारु, सडकको स्तरोन्नति, विभिन्न पूर्वाधारमा लगानी, नेपाली उत्पादनलाई चीनमा सहज पहुँच, पर्यटनमा सहकार्य, नेपालसम्म रेलमार्गलगायत एक दर्जनभन्दा बढी विषयमा छलफल हुनेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us