Saturday, 19 March 2016

एसियाकै ठूलो गुफा नेपालमा भेटियो

 निस्पट्ट अँध्यारो। गाइड भिमबहादुर थापाले एक मिनेट आँखा बन्द गर्नुस् भन्नु भयो। हामीले टर्चलाइट निभायौं। र, आँखा चिम्म गर्यौं।। कस्तो शान्त वातावरण! नौलो अनुभूति सँगाले मैले।
तनहुँको सिद्ध गुफा भित्र थियौं हामी। प्रकृतिप्रेमी समूहले आयोजना गरेको तीन दिने पदया
त्राको अन्तिम दिन ०७२ फागुन २९ मा हामी त्यहाँ पुगेका। हामी २२ जना चितवनको कुरिनटारसम्म गाडिमा गयौं। कुरिनटारबाट ठाडो उकालो हिँडेर मनकामना मन्दिर पुग्यौं। मनकामनाबाट बक्रेश्वर गाउँ हुँदै गोरखा पुगेर तेस्रो दिन बिमलनगर माथि सिद्ध गुफामा पुगेका थियौं।

एशियाकै ठूलो गुफा अचम्मकै रहेछ। गुफामा पुग्दा सम्झें :

हेर्न जान्यो भने भेटिन्छ
मृदुफल अकारा बकरामा
जानेन खोज्न भने माग्छ
एक सुका सुनको कतरामा।

वास्तवमा यस्तै भएको छ हामी नेपालीलाई। हाम्रो देश सानो भए पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। कतै हिमाल, कतै हरिया पहाड त कतै झरना र कतै कलाकृति। प्रकृतिको अनुपम बरदानलाई चिन्न सकेन भने सुनको थालीमा माग्दै हिँडे जस्तो हुन्छ। यस्तै भैरहेको छ यहाँ।

सिद्ध गुफा घुम्न लायक छ। यसको धार्मिक तथा पुरातात्विक महत्व छ। बन्दिपुर–६ कोक्चे सामुदायिक वन भित्र चुरियाघाटी डाँडामा छ गुफा। जुन विमलनगर बजारको दक्षिणमा पर्छ। गुफा ६५० मिटर उचाइमा छ। विमलनगरबाट आधा घन्टा उकालो चढे गुफामा पुगिन्छ। विमलनगरबाट गुफा १.३ किमि छ। त्यस्तै गुफाबाट बन्दिपुर बजार ३.५ किमिमा। ढुँगा ओच्छाइएको सिँढी चढेर गुफामा जानु पर्छ।

भुगोलविदका अनुसार प्राचीनकालको भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्राग मानवद्वारा गुफा निर्माण गरिएका हुन्। सिद्ध गुफा धेरै पुरानो हो। पहिलो चोटी ०४४ चैत १३ गते घुम्न भनेर ५ जना स्थानीय चन्द्रबहादुर थापा मगर, नरबहादुर पुन, नारायणबहादुर कुमाल र नोटे्रडम उच्च माध्यमिक विद्यालयका शिक्षक भारतीय नागरिक वारेन क्वाड्रसले जंगलमा गुफा देखेका थिए।

भिमबहादुर दाइका अनुसार सुरुमा गुफामा प्राचीन वस्तुहरु, अक्षर मेटिएका तामाका पैसा, माटोका घैंटा, सुराहि, पाला, धुपौरो, पानस, जनावरका दारा, थाल आदि भेटिएका थिए। अनुसन्धानका लागि ती सामान विमलनगर सिद्ध गुफा विकास समितिको सूचना केन्द्रमा राखिएका छन्।

ठूलो चट्टान बीच भागमा गुफा छ। प्रबेशद्वार साँघुरो भए पनि भित्र पुरै फराकिलो, सजिलो र अग्लो उचाइ छ। गुफाको लम्बाई करिब ४२५ मिटर र चौंडाई २५ मिटरसम्म छ। होचो भागमा ५७ मिटर गहिरो सुरुङ छ।

गुफाभित्र चुनढुँगामा किसिम किसिमका आकृती छन्। जस्तो कल्पना गर्योह, त्यस्तै देखिन्छन् ती। त्यतिमात्र होइन, गुफाभित्र ध्यान कक्ष, सभा कक्ष, तप कक्ष र खोपी पनि छन्।

पूर्व, दक्षिपश्चिम फैलिएको गुफा प्रबेशद्वारमा शिवलिंग, त्रिशुल र घन्टा छन्। प्रबेशद्वार साँघुरो छ। अलिक भित्र छिर्ने वित्तिकै अध्यारो हुन्छ। ठूल–ठूला चट्टान छन्। भित्र पस्ने वित्तिकै पहिला श्रीपेचको आकृति देखिन्छ। दुरुस्तै श्रीपेच!

त्यसैगरी बर्षातमा पानी जम्ने पोखरी छ। 'साउन–भदौमा यहाँ पौडि पनि खेलाइन्छ', गाइड भिमबहादुरले भन्नु भयो। त्यस्तै नागहरु पनि छन्। एक ठाउँमा दुरुस्तै बाघको टाउको देखिन्छ। अर्को ठाउँमा ध्यान बस्ने कुटि छ जहाँ त्रिशुल छन्। साउने सोमबार यहाँ पूजापाठ गरिन्छ। देवता चढ्छ तिर्थालुलाई।

अरु थुप्रै कलाकृति पनि छन् त्यहाँ। कुखुरा, हात्तीको टाउको, घरको पिलर, ब्रोकाउली, शंख, हाँस, सिद्ध बाबा आदिका आकृति।

गुफाको कुनै भाग सम्म छ भने कुनै भिरालो। तल झर्न भर्यााङ र डोरीको भर पर्नु पर्छ। कतै ओसिलो छ कतै सुख्खा। अनौठो कुरा गुफाभित्र एसि कक्ष समेत छ जहाँ छिर्ने वित्तिकै तातो हावा आउँछ।

गुफामा चमेरा छन्। गुफाको माथिल्लो भागमा शिव लिंगको शिरबाट निस्केका जलका स–साना खोल्सा छन्। गुफामा पुग्दा ठूलो हलमा पुगको अनुभूति हुन्छ। डोरी समातेर माथि उक्लिँदा सहासिक अनुभव भयो।

यो गुफा माथि अर्को वतास फुङ गुफा छ। त्यहाँबाट पनि यहिँ तल झर्ने मुख छ। हामी माथिल्लो गुफामा गएनौं। गुफा माथिको प्वालबाट तल झर्ने खेल र्याछप्लिङ सिद्ध गुफामा गरिन्छ। फ्रान्सेली नागरिक मौरिस दुसेनले केही वर्ष अघि यहाँ यसको सफल प्रयोग गरेका थिए। त्यतिबेला गुफाका अध्यक्ष लालकुमार श्रेष्ठ पनि डोरी समातेर तल झरेका थिए।

गुफा पुरै घुम्न करिब दुई घन्टा लाग्छ। कतै हात टेकेर जानु पर्छ भने कतै खुट्टाको सन्तुलन मिलाएर। गुफाबाट तल जान सकिन्छ तर अहिले पानी जमेकाले तल जान निषेध छ।

वैशाख १२ को भुइँचालोपछि यहाँ घुम्ने पर्यटकमा कमि आएको थियो। पछि भुकम्पविदहरु आएर गुफा सुरक्षित भएको बताएपछि पर्यटक आउन थालेको गुफाका लेखापाल समेत रहेका भिमबहादुरले बताउनु भयो। यहाँ हाल दुई गाइड छन्। गुफा गाइडको तालिम त ४० जनाले पाएका रहेछन्। तर, ती रोजगारीका लागि बाहिरिएका छन्।

सिद्ध गुफामा बाविर्षक करिब ८ हजार विदेशी आउँछन्। नेपालीको संख्या १० हजार हाराहारि हुने समितिका सल्लाहकार शुभ पियाले बताए। गुफा घुम्ने मुख्य सिजन, कार्त्तिकदेखि फागुनसम्म। गुफा प्रबेश गर्न नेपालीले १० रुपैयाँ र गाइड शुल्क २० रुपैयाँ तिर्नु पर्छ। विदेशीको हकमा भने प्रबेश शुल्क सय र गाइड शुल्क सय गरी दुई सय रुपैयाँ छिर्नु पर्छ।

बाटो भरि गाउँले मुस्कान हेर्न र चराचुरुङीको चिरविर सुन्न पाइन्छ। गुफालाई केन्द्रविन्दु बनाएर पदयात्रा प्याकेज बनाउन सके गुफामा घुमन्तेको अझै भिड लाग्न सक्छ। समितिले सिद्ध गुफा र बन्दिपुरलाई समेटेर दुई राते प्याकेज बनाउन ढिला भैसक्यो। साथै गुफाभित्र बिजुलीको व्यवस्था गर्न सके सजिलो हुने थियो।

गुफा पुग्ने बाटो र भित्र सजिलो बनाउनु जरुरी छ। बिजुली भएमा सबै आकृति राम्रोसँग देख्न पाइन्छ। अहिले टर्च लाइटको भरमा हेर्नु पर्छ। गुफालाई धार्मिक तथा एतिहासिक तिर्थका रुपमा विकास गर्न सकिन्छ। गुफाभित्र फेला परेका पुराना सामान सजाएर प्रदर्शन कक्ष बनाउन समितिले ध्यान दिनु पर्छ। सरकार र पर्यटन बोर्डले समेत यसमा हातेमालो गर्नु पर्छ।

गुफाबाट दुई घन्टामा बन्दिपुर बजार पुगिन्छ। गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठका अनुसार गुफासम्म सिँढी बनाउन र्पटन कार्यालय, नगरपालिका र डुम्रे भन्सारबाट ३० लाख रुपैयाँ सहयोग आएको छ। माथिसम्म बाटो बनिसकेको छ। गुफा वरपर आराम गर्ने चौतारा, पानीको धारा र शौचालय बनिसकेको छ।

श्रेष्ठका अनुसार बन्दिरपुर बजार माथिको गुरुङचे डाँडामा ७५ जिल्लाको चिनारी स्वरुप स्तम्भ राख्ने समितिको योजना छ। त्यसैगरी विमलनगरबाट बन्दिपुरको रानीवन गुम्बासम्म केबुलकार बनाउने योजना छ। 'केवुलकार चढ्नेहरुलाई सिद्ध गुफामा अवतरण गराएर गुम्बामा पुर्या उने व्यवस्था मिलाउने छौं ', श्रेष्ठले भन्नु भयो।

हरियो जंगल बीचमा रहेको गुफा रमणिय छ। शितल छ। हामी त घुम्यौं सिद्ध गुफा। तपाइँ पनि घुम्ने होइन त?

कसरी पुग्ने : काठमाडौंबाट तनहुँको विमलनगर १४० किलोमिटर गाडिमा। बिमलनगरबाट दक्षिण उकालो आधा घन्टा हिँडे गुफामा पुगिन्छ। विमलनगर–गुफा १.३ किमि। गुफा–बन्दिपुर बजार ३.५ किमि। गुफाबाट दुई घन्टा पदयात्रामा बन्दिपुर बजार पुगिन्छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us