Saturday, 19 March 2016

जब रातो र चन्द्र सुर्य भन्दै सिड्नीमा नेपाली झण्डा फहऱ्यो

शनिबार बिहान झिसमिसेमै सिड्नीस्थित ब्राइटन बिच नेपालीले भरिएको थियो । हातमा नेपाली झण्डा लिएर एकै किसिमको पोशाकमा करिब ३ सय नेपालीहरु त्यहाँ उपस्थित थिए ।

उक्त स्थानमा पुगेका नेपालीहरुलाई हौसला दिन उक्त क्षेत्रका मेयर पनि उपस्थित थिए । भेला भएका नेपालीहरुको एउटै उद्देश्य भनेको परोपकारी कामका लागि रकम संकलन गर्नु थियो ।
अष्ट्रेलियाको सिड्नीका सबै क्षेत्र र तहका ब्यक्तिहरु सम्मिलित कार्यक्रम एनआरएनले आयोजना गरेको थियो । ‘वाक फर वेलफेयर’ नाम दिएर करिब ३ किलोमिटरको पैदलयात्रा गरेका नेपालीहरुलाई अन्य विदेशी समुदायका ब्यक्तिहरुले समेत हौसला दिइरहेका थिए । उनीहरु उत्सुकतापुर्वक हेरिरहेका मात्र थिएनन् कि फोटो खिच्न समेत भ्याइरहेका थिए ।

करिब ३ महिनादेखिको दौडधुप पछि मात्र सफल हुन सकेको यो कार्यक्रम १ करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने र त्यसबाट यहाँ रहेका र नेपालबाट उच्च शिक्षा अध्ययनका लागि आएका नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले गरिएको हो । अष्ट्रेलियाका प्राय: सबै मुख्य सहरहरुमा आयोजना गर्न लागिएको यस कार्यक्रमले रकम संकलन गर्ने मात्र नभएर नेपाली पहिचानलाई पनि फाईदा पुर्‍याउने सहभागीहरुको दाबी थियो ।



कार्यक्रमको संयोजन गरेका समीम अनवरले  भने– ‘यसले अष्ट्रेलियाजस्तो देशमा नेपाली समुदायको एकता र आपसी विश्वास समेत झल्काएको छ ।’

सबै सहरहरुको कार्यक्रम सम्पन्न भएपछि उक्त कोषलाई पारदर्शी किसिमले सञ्चालन गर्न एनआरएन ओसिनिया संयोजक महेन्द्र लम्सालको संयोजकत्वमा समिति समेत बनाइएको छ । समितिले बिद्यार्थीहरुलाई समस्या परेमा आवश्यकता अनुसार सहयोग गर्ने लम्सालले जानकारी दिए । आउँदो दुई महिनासम्म अष्ट्रेलियाका मेलबर्न, ब्रिसबन, पर्थ र एडिलेड शहरमा यस्तै कार्यक्रम आयोजना गरिने एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले जानकारी दिएका छन् ।





About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us