Friday, 25 March 2016

कता गए र के गर्दैछन् राजकुमार ह्यारी ?


 गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयको मोबाइल फोनमा बिहीबार दिनभर घण्टी बजिरह्यो । खासमा कुनै विपदका घटना, झैझगडा वा सुरक्षा सम्बन्धी असजिलो परेर फोन आएका थिएनन् ।

फोन गर्नेमध्ये धेरैजसोको प्रश्न हुन्थ्यो, ‘बेलायती राजकुमार ह्यारी कता छन् ?’ यसरी जिल्लाका उच्च सुरक्षा अधिकारीहरुलाई प्रश्न गर्नेमा पत्रकार तथा काठमाडौंमा रहेका उच्च प्रशासक र प्रहरीका अधिकारीहरु थिए ।

‘उहाँ गोरखा जानुभएको छ भन्ने आधारमा मलाई र सिडिओ साबलाई काठमाडौंबाट फोनहरु आइरहेका छन्’ एसपी पाण्डेले भन्नुभयो । नेपालको औपचारिक भ्रमण सकेर पनि थप ६ दिन यतै बस्ने र भूकम्प प्रभावित जिल्लाको एउटा विद्यालयको पुनर्निर्माणमा खट्ने राजकुमारले बताउनुभएको थियो । तर उहाँले कुन जिल्लाको कुन विद्यालयको पुनर्निर्माण गर्दै हुनुहुन्छ भन्ने विषयलाई निकै गोप्य राखिएको छ ।  वैशाख १२ को भूकम्पको केन्द्रबिन्दू रहेको ठाउँ पनि भएकाले ह्यारी गोरखामै छन् भन्ने अनुमान गर्नेको संख्या धेरै छ ।

उच्च सुरक्षा स्रोत भन्छ, ‘ह्यारी मोटरबाटो हुँदै गोरखा गएका छन् ।’ गोरखाका प्रहरी प्रमुख एसपी पाण्डेयलाई पनि त्यस्तै जानकारी आएको रहेछ । ‘पहिले रसुवा जाने कार्यक्रम थियो तर पछि परिवर्तन गरेर गोरखा आएको जानकारी छ’ उहाँले भन्नुभयो ।

राजकुमार ह्यारी भूकम्पको केन्द्रबिन्दू बारपाक पो गए कि भन्ने अनुमान शुरुमा गरिएपनि उहाँ बिहीबार साँझसम्म त्यहाँ नपुगेको स्थानीयबासिन्दाले बताएका छन् ।

पृथ्वी राजमार्गसँग जोडिएको गोरखाको घ्याल्चोक गाविस पुगेको हल्लाका आधारमा हिजो खोजी गरिएपनि त्यो हल्ला मात्रै भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । तर उहाँ गोरखा आउनुभएको र आउने सम्भावना भने धेरै रहेको जिल्ला स्थित अनुसन्धान कार्यालयका कर्मचारी बताउँछन् ।

तर राजकुमार कहाँ के गर्दैछन् ? केन्द्रदेखि राष्ट्रिय तहको सुरक्षा संयन्त्र र मिडियालाई समेत थाहा छैन । ह्यारी जहाँ भएपनि भूकम्प प्रभावित कुनै ठाउँमा स्कुल बनाउने काममै व्यस्त हुनुहुन्छ । आफ्नो औपचारिक नेपाल भ्रमणको अन्तिम दिन उहाँले अझै एकहप्ता यहीँ बसेर भूकम्प प्रभावित क्षेत्रमा स्कुल बनाउने बताउनुभएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us