Thursday, 10 March 2016

'हेर्दाहेर्दै आगोले निल्यो छोरो'

दोलखा-भूकम्पले घर लग्यो, उनले सहेकै थिए । अन्न पाताल भयो, लुगाफाटा केही बचेनन् । त्रिपालको ओतमुनि भिजेरै थुप्रै रात बिते । भोकै, ठिही झेल्दै सकसले हिउँद कट्यो। सहिरहेकै थिए।

वैशाखयता निरन्तर दशाले लखेटिरहेका दोलखा, भीमेश्वर नगरपालिका–७ का नारायण खत्रीको जीवनमा नियतिले बुधबार यति ठूलो बज्र हान्यो, जुन सहन उनलाई हम्मे परिरहेको छ।


भूकम्पबाट उम्किएको यो परिवार अर्काे विपत्तिमा छोरो गुमाएर शोकले आकुल छ यतिखेर । बुधबार टहरैमाथिको जंगलमा लागेको आगो निभाउन छिमेकीसँगै गएको ११ वर्षे छोरोले त्यही आगोमा परेर ज्यान गुमायो।

'हाम्रो मुटुको टुक्रा आगोले खाइदियो,' बाबु नारायणले  रुँदै भने, 'छिमेकीको लापरबाहीले यस्तो भयो, उनीहरूले चाहेका भए जोगाउन सक्थे, बुढेसकालको सहारा नै उड्यो ।'

भूकम्पको ११ महिना बित्दा पनि सरकारले केही गरेन । अब पनि आफैं नताते बर्खामा अझ बिजोग हुन सक्छ भनेर उनी आफैं ढुंगामाटोको घर बनाउन कस्सिए ।

बुधबार बिहानै ज्यामी आइपुगे । पत्नी मञ्जु उनीहरूलाई खाना तुल्याउन थालिन् । छोरी नम्रता साथमै थिइन् । स्कुल छुट्टी थियो । मनीष नजिकै छिमेकमा टिभी हेर्दै थिए ।

घडीले ९ हानेको हुँदो हो । नारायणले घरमाथिको जंगलमा अचानक धुवाँको मुस्लो देखे । त्यो झन् बाक्लिँदै गयो । केही बेरमै गाउँले चिच्याउन थाले । नारायण काम छाडेर त्यतै दौडिए । सुवर्ण, उनकी पत्नी र केही बच्चा स्याउला बोकेर आगो निभाउने प्रयास गर्दै थिए ।

त्यहाँ पुगेपछि नारायणले थाहा पाए, आगोमा मान्छे परेछ । उनी नजिकै गए । चारैतिर आगोले घेरिसकेको बाँसको झ्याङभित्र एउटा बालक घोप्टो परेर चिच्याइरहेथ्यो । आगोको लप्काबीच उनलाई त्यो बालक चिन्न गाह्रो प¥यो । तैपनि आँट गरेर अघि बढे । जब नजिकै पुगे, उनी छाँगाबाट खसेझैं भए । ती बालक उनकै छोरा मनीष थिए । नारायणका खुट्टा लगलगी काँप्न थाले । छोराको निःसहाय चित्कार कानैमा ठोक्किइरहेको थियो– 'बाबा, मलाई बचाउनुस् !'

नारायण बलिरहेको बाँसघारीभित्र छिरे । रापकै बीचबाट छोरालाई तानेर निकाले । यति गर्दासम्म उनको पनि हात पोलिसकेको थियो । उनी छोरो बोकेर खुला स्थानमा आएर थचक्क बसे । आगोले डढेका मनीष बेहोस थिए । गाउँलेले उनको नाडी छामे, धुकधुकी चल्दै थियो । सबै मिलेर बालकलाई तत्काल सदरमुकाम चरिकोटतिर दौडाए तर बचाउन सकेनन् ।

कसरी लाग्यो जंगलमा आगो ?

दुःखले लखेट्न नछाडेपछि स्थानीय सुवर्ण खत्रीले गाउँकै धामी सेते झाँक्री गुहारेका थिए त्यस दिन । सेतेले सुवर्ण र उनकी पत्नी माइलीलाई 'बुढ्यानी (वनदेउता)' पूजा गर्न सुझाएका थिए ।

बिहानै सुवर्ण दम्पती पूजासर्जाम बोकेर गाउँकै पिप्लेस्थित छ्यारछ्यारे सामुदायिक वननजिककै आफ्नै बालीस्वाँरा जंगलतिर हानिए । सेते धामीले पूजा सुरु गरे, धूपबत्ती सल्काए । केही बेरमा पूजा सकियो । सबै जना घर फर्किए ।

घर आएको केही समयमै पूजास्थलबाट धूवाँको मुस्लो उठेको देखे, सुवर्ण दम्पतीले । धूपबत्तीको आगो सल्किएर डढेलो लागेको लख काटे । घरमा खेलिरहेका मनीषसहित बालकलाई साथै लिएर गए, आगो निभाउन ।

सबै जना सेउला बोकेर डढेलो निभाउन चारैतिर खटिए । गाउँलेका अनुसार सुवर्ण र माइली बाँसघारी जोगाउनतिर लागे । मनीष जंगलतिरको आगोमा सेउला हान्दै थिए । अचानक पछाडिपट्टि रापले भेटेपछि उनी सुरक्षित स्थानतिर दौडिए । दौडँदा–दौडँदै चिप्लिएर बाँसघारीमा फसे । आगोको लप्काले त्यहीँ घेरिए ।

'हेर्दाहेर्दै पूरै बाँस बल्न थाल्यो, आगो यति धेरै फैलियो कि उसलाई बाहिरबाट देख्नै नसकिने भयो,' प्रत्यक्षदर्शी बालक मनीष केसीले भने, 'ऊ रोइरहेको थियो, हामी कोही जानै सकेनौं ।'

...

सदरमुकाममा उपचार हुन नसकेपछि राजधानी लैजाँदै गर्दा बाटैमा मनीषको प्राणपखेरु उड्यो । यो घटनापछि गाउँ नै शोकमा छ । बुबाआमा विक्षिप्त छन् । छोरो गुमेको पीडाले आमा मञ्जु पटकपटक मूच्र्छा परिरहन्छिन् । 'छिनछिनमा मूच्र्छा पर्छे, कसरी सम्हाल्नु मैले,' गहभरि आँसु पार्दै नारायणले भने । छोरी नम्रता राम्ररी हिँडडुल गर्न सक्दिनन् । बार्दलीबाट खसेर हातखुट्टा भाँचिएपछि एक वर्षदेखि स्टिलपाता राखिएको छ ।

मामा नारायण बुढाथोकीका अनुसार मनीष सानैदेखि ज्ञानी स्वभावका थिए । 'पढाइ ठिकै थियो, अतिरिक्त क्रियाकलापमा निकै चासो राख्थे,' उनले सम्झिए । बहिनीको परिवारको आर्थिक अवस्था कमजोर रहेको उनी बताउँछन् । 'ज्वाइँ पाँच वर्ष खाडीमा काम गरेर आउनुभयो,' उनले भने, 'खेतबारीका नाममा थोरै जग्गा मात्र छ ।'

छिमेकीले बेहोर्नुपरेको पीडाले गाउँलेका आँखा ओभाना छैनन् । 'एउटा छिमेकीको लापरबाहीले यति राम्रो परिवारले के दिन देख्नुप¥यो,' छिमेकी शिवबहादुर बुढाथोकी भन्छन् । खत्रीपरिवारले सुवर्णलाई कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

पाँच वर्ष खाडीमा पसिना बगाएर एक वर्षअघि मात्र घर फिरेका नारायणको चार जनाको परिवार पीडा बिर्सेर सामान्य दैनिकीमा रमाउँदै थियो । पत्नी, मञ्जु, छोरा मनीष र छोरी नम्रता । अभावका बीच पनि खुसीको आफ्नै संसार चलमलाइरहेथ्यो, कटेरोमुनि ।

११ वर्षीय मनीष र सात वर्षीया नम्रता घरनजिकैको स्कुलमा कक्षा ३ र १ मा पढ्दै थिए । जिन्दगी सुधार्ने मेसोमा दम्पती खेतबारीमा हड्डी घोट्न व्यस्त थिए । फेरि नियति त्यति डरलाग्दो गरी बज्रेला भन्ने उनलाई एकरत्ति पनि थिएन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us