बिहीबार बेलुकी ५ बजेतिर दुईवटा जीप
आरुघाट बजारमा रोकिए । ५-७ जना बिदेशी झरे र फेन्सी पसलमा पसे । ‘उ बेलायती
राजकुमार ह्यारी’ औंलाले देखाउँदै कसैले भन्यो । ‘होइन होला, सुरक्षा
गार्ड, पुलिस कोही छैन, कहाँ ह्यारी हुनु ?’
अर्काथरीले आशंका गरे । ‘हैन ह्यारी नै
हुनुपर्छ’ भन्नेहरु धेरै भए । तर ह्यारी हो कि होइन भनेर स्थानीयबासिन्दाले
निधो गर्न नपाउँदै गाडी मनासलु जाने बाटोतर्फ अघि बढ्यो ।
‘हामीलाई राजकुमार ह्यारी नै हो जस्तो लागेर फोटो पनि खिच्यौं’ आरुघाटका व्यापारी धर्मेन्द्र श्रेष्ठले भन्नुभयो, ‘हाम्रो अघिल्तिर रहेको फेन्सी पसलबाट मास्क किनेर उहाँ मनासलुतर्फ लाग्नुभयो ।’
फेन्सी पसल सञ्चालक करिन्दिन मियाले भने आफूले मास्क किन्ने मान्छे
नचिनेको बताउनुभयो । ‘विदेशीहरु थिए, अंग्रेजीमा बोले, यहाँ विदेशीहरु आउनु
सामान्य कुरा हो, ह्यारी भन्ने चाहिँ थाहा भएन’ उहाँले भन्नुभयो ।

तर आरुघाट बजारका धेरै स्थानीयबासिन्दालाई
भने मास्क किन्ने मान्छे राजकुमार ह्यारी नै हो भन्ने लागेको छ । नेपालको
औपचारिक भ्रमण पूरा गरिसकेपछि ह्यारीले भूकम्प प्रभावित क्षेत्रमा स्कुल
बनाउन आफू केही दिन नेपाल बस्ने घोषणा गर्नुभएको थियो ।
तर औपचारिक भ्रमणपछिका गतिबिधिलाई उहाँले
गोप्य राख्नुभएको छ । यही कारण ह्यारी कहाँ हुनुहुन्छ भन्ने कुरा सुरक्षा
निकायलाई पनि राम्रोसँग थाहा छैन ।