Friday, 18 March 2016

नेपालमै यस्तो गाउँ जहाँ रोप्दै नरोपी आलु फल्छ

गुल्मीको अर्खवाङ्ग गाविसमा यति बेला बारी जोत्नको माचो छ । त्यहाँका प्रत्येक कृषकहरुले वारी त जोतेका छन् तर, केहि रोप्दैनन् र कुनै विउ–विजन पनि छर्दैनन् । टाढाबाट जानेले किन त केहि नरोप्ने तर बारी जोत्ने ? भनेर जिज्ञासा राखे भने, ‘उनीहरुबाट अनौठो कुरा थाहा पाउँछन् कि त्यहाँ वर्षौंदेखि बारीमा आलुको विउ रोप्नै पर्दैन आफैं फल्छ ।

लुम्विनी अञ्चल कै सबैभन्दा अग्लो पहाड अर्थात जमिनी सतहदेखि २६ सय ९० मिटर उचाईमा रहेको मदाने लेकको काँखमा रहेको त्यस अर्खवाङ्ग गाउँमा सदियौंदेखि मुख्य पेशाका रुपमा त्यसै आलु खेती गरिन्छ । त्यहाँका कृषक प्रेम भट्टराई भन्छन– ‘यहाँको आलु खेती रोप्दै नरोपी फल्ने वन तरुल जस्तै हो ।’ उनको अनुसार पिता पुर्खाहरुले रोपेको आलुका बाँकी अंशहरु त्यसै बारीमा रहने गरेको र त्यही वर्षेनी बिउ बनेर उमे्रने गरेको हो ।

त्यहाँका गरिवदेखि सम्पन्न परिवारको बारीमा दुई चार मुरीदेखि ६० मुरीसम्म रोप्दै नरोपी आलु फल्ने र त्यो आलु धानभन्दा महङ्गो हुने भएकोले कृषकहरु खेतभन्दा बारी किन्न आकर्षित हुने अर्का कृषक तिलबहादुर विक बताउँछन् । ‘पहिला–पहिला पाथीका हिसावले धान र आलु सौं–साटे आदनप्रदान हुने गर्दथ्यो । तर, अहिले सदरमुकाम तम्घासदेखि वुटवलसम्म अर्खवाङ्गको आलुको माग बढ्दै गएपछि धान भन्दा महङ्गो बनेको छ र कृषकहरु खेतभन्दा बारी मै रमाउने गरेका छन्’– विकले भने– ‘यहाँ धेरै खेत छैन् यो बारी नै खेत भन्दा बढि आम्दानी दिने जमिन हो ।’

त्यहाँको आलु पूर्णत अर्गानिक भएकोले अत्यन्तै तिख्खर हुने गरेको छ । एकातिर कुखरा र परेवाको रस अर्कोतिर आलुको रस राखेर स्वाद चाख्दा कुखरा र परेवाको रसभन्दा तिख्खर हुने गर्दछ आलु । अर्खवाङ्गमा यसरी अनौठो प्रकारले फल्ने आलु यस जिल्लामा सदियौंदेखि कहलाएको छ । यसलाई देशैभर प्रचारप्रचारमा ल्याई दिन स्थानीयवासीको आग्रह छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us