Saturday, 5 March 2016

दुई सय वर्षअघिको त्यो सुगौली सन्धिले नेपालको नक्सा परिवर्तन गर्‍यो


आजको ठीक दुई सय वर्षअगाडिजस्तो नेपालको अस्तित्वमाथि यति धेरै संकट कहिल्यै देखिएको थिएन । नेपाल यति धेरै डर र त्रासबाट पनि कहिल्यै गुज्रेको थिएन । शत्रु सेना काठमाडौंको यति धेरै नजिक पनि त पुगेको थिएन ।

सन् १८१६ को फेब्रुअरी २७ । जनरल अक्टरलोनीको नेतृत्वमा अंग्रेज फौज मकवानपुरगढी पुगिसकेको थियो । त्यसविरुद्ध नेपाली सेनाले युद्ध पनि गरेको थियो ।

तर, शमशेर रानाको नेतृत्वमा रहेको सेना पछाडि हट्न बाध्य रह्यो । नेपालका आठ सय फौजको ज्यान गएको थियो । फेब्रुअरी २९ कर्णेल कोलीको नेतृत्वको अंग्रेज फौजसँग हरिहरिपुरगढमा अर्को युद्ध भयो । नेपाली सेना रणजोरसिंहको नेतृत्वमा थियो ।

अंग्रेजले मगाएको थप फौज र तोप आइपुगेपछि त्यहाँबाट पनि नेपाली सेना पछाडि हट्न बाध्य भयो ।
यी सबैबीच राजधानी काठमाडौंमा हल्ला फैलियो, अक्टरलोनीको फौज काठमाडौंतर्फ बढ्दै छ ।

भनिन्छ, त्यसैको डरले देशका बहुमूल्य सम्पत्ति अन्यत्र सार्ने काम पनि भएको थियो । सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्ध खासमा समाप्त भइसकेको थियो । फेब्रुअरीको अन्तिम साताका यी सबै सैनिक गतिविधि त्यस युद्धको अन्तिम केही क्षण मात्र थिए । युद्ध त मेतिर नै समाप्त भइसकेको थियो ।

त्यति बेला नेपाल अंग्रेजविरुद्धको युद्धमा जताततै पराजित भइरहेको थियो । नेपाल नाजुक मोडमा पुगिसकेको थियो, जहाँबाट नेपाल अगाडि बढ्न सक्ने कुनै स्थिति नै तयार भएको थिएन । आत्मसमर्पणको दबाबमा रहेका अमरसिंह थापाले मे १५ मा जनरल अक्टरलोनीसँग सन्धिमा हस्ताक्षर गर्न बाध्य भए । यस सन्धिपछि नै अंग्रेजसँगको युद्ध समाप्त भएको थियो ।

यसै परिस्थितिमा सुगौली सन्धि भएको थियो, जसलाई इतिहासको भाषामा एउटा विजयी सेनाले पराजित देशमाथि गर्न बाध्य पारिएको सन्धि भनिन्छ । सुगौली सन्धि नेपालका लागि धेरै अर्थमा अपमानजनक थियो ।

इतिहासकार श्रीरामप्रसाद उपाध्यायले लेखेका छन्, ‘यो सन्धिले नेपालीलाई कहिल्यै निको हुन नसक्ने घाउ दिएर गएको थियो । यो नेपाली राष्ट्रियतामाथि घोर अन्याय थियो ।’

नेपालको तर्फबाट यस सन्धिमा गजराज मिश्रले नोभेम्बर २८ मा हस्ताक्षर गरेका थिए । तात्कालीन इस्ट इन्डिया कम्पनीको तर्फबाट भने डिसेम्बर २ मा लेफ्टिनेन्ट कर्नेल पेरिस ब्रडसाले हस्ताक्षर गरे । यस सन्धिका नौ धारा थिए ।

यो सन्धिका केही धाराले नेपालको स्वतन्त्र अस्तित्व अस्वीकार गरेको थियो । केही धाराले भने नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्तालाई मानेको पनि थियो ।

सन्धिको अनुमोदन
नेपाली इतिहासका विद्यार्थीलाई रोमाञ्चित तुल्याउने तथ्य के छ भने सुगौली सन्धि तय भयो, तर त्यसलाई नेपालले अनुमोदन गर्न लामै समय आनाकानी गरेको थियो । त्यसको पहिलो कारण थियो, नेपाल अंग्रेजसँग फेरि युद्ध गर्न चाहन्थ्यो ।

खासमा नेपाली भारदारमध्ये ठूलो संख्या त्यस सन्धिको विरोधमा थिए र त्यसलाई मान्न नहुने पक्षका थिए ।
नेपालको दाउ थियो, वर्षाको समय लाग्नुपर्छ, अंग्रेजसँग फेरि युद्ध सुरु गर्ने । त्यो समय अंग्रेजका लागि नेपाली भूमि युद्ध लड्न उपयुक्त नहुने केही भारदारको तर्क थियो । दोस्रो कारण, नेपालको अरूबाट सहयोग पाउने विश्वास थियो ।

 यो युद्धमा आफूलाई सहयोग गर्न नेपालले धेरैसँग अनुरोध पनि गरेको थियो । अंग्रेजको बढ्दो शक्ति अगाडि नेपाललाई सहयोग गर्न कोही अगाडि बढ्न चाहेन ।

नेपाललाई त्यति बेला सबैभन्दा बढी निराश चीनले गरेको थियो । नेपालले यसअगाडि तिब्बतसँग पनि युद्ध गरेको थियो र त्यस युद्धपछि भएको सन्धि अनुसार तेस्रो पक्षसँग युद्ध भएमा चीनले नेपाललाई सहयोग गर्नुपर्ने थियो ।

तर, चीन पनि त्यस युद्धमा होमिन चाहेन । चीनले युद्धबारे बुझ्न आफ्नो एक प्रतिनिधि पनि तिब्बततर्फ खटाएको त थियो । तर त्यो टोली त्यहाँ पुग्दा अगस्ट लागिसकेको थियो ।

त्यो टोली धेरै ढिलो मात्र आइपुगेको थियो । सन्धि अनुमोदन गर्न अगाडि नेपालका यी सबै घटनाक्रमलाई इस्ट इन्डिया कम्पनीले नजिकबाट हेरिरहेको थियो नै । त्यसैले नै अंग्रेज सेना राजधानी काठमाडौंको यति नजिक आइपुगेको थियो, चेतावनीको ठूलो सन्देश लिएर ।

यस्तोमा नेपाल सुगौली सन्धिलाई अनुमान गर्न बाध्य भयो । मार्च ४ मा नेपालले सुगौली सन्धिलाई औपचारिक रूपमा अनुमोदन गरेको थियो ।

यसरी आजबाट ठीक दुई वर्ष र एक दिन अगाडि सुगौली सन्धि अनुमोदनसँगै नेपाल सधैंका लागि निर्णायक रूपमा फेरियो । नेपाल सरकारको लालमोहरसहित स्वीकृत भएको सुगौली सन्धि लिएर चन्द्रशेखर उपाध्याय अक्टरलोनीको छाउनीमा पुगे ।

इतिहासकार विजयकुमार मानन्धर यसलाई नेपाली इतिहासकै सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ मान्छन् । मार्च ४ पछि नै नेपालले लगभग अहिलेको भौगोलिक रूप लियो ।

नेपालको इतिहासमा यो सन्धि वास्तवमै कस्तो ‘टर्निङ प्वाइन्ट’ थियो भने यसको प्रभाव भौगोलिक मात्र रहेन्, आर्थिक, कूटनीतिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा परेको थियो ।

युद्धले गर्दा नेपालले आफ्नो ठूलो भूभाग अंग्रेजलाई बुझाउनुपरेको थियो । नेपालले एक तिहाई भूभाग गुमाएको थियो । यो ४० हजार वर्ग माइल हुन आउँछ ।

नेपालले कुमाउँ, गढवाल, नैनीताल, दार्जिलिङजस्ता स्थान गुमाएको थियो । यी स्थानमा इस्ट इन्डिया कम्पनीले सुरुदेखि नै आँँखा लगाएको थियो । युद्धपछि अंग्रेजले ती सबैलाई हात पारेर आफ्नो योजनामा सफल पनि भएको थियो ।

खासमा युद्धको मुख्य र तत्कालीन कारण स्युराज र बुटवलको विवाद थियो । अंग्रेजले त्यसैलाई निहुँ बनाएको थियो । तर उसको खास भित्री मनसाय अरू नै थियो ।

अंग्रेज फौज किन रोकियो त ?
नेपाली इतिहासका विद्यार्थीले धेरै प्रश्न राख्ने एउटा तथ्य के हो भने अक्टरलोनी नेतृत्वको अंग्रेज फौज वास्तवमै किन काठमाडौं प्रवेश गर्न चाहेन ? फौजले चाहेको भए, दुई तीन दिनमा काठमाडौं पुग्न सक्थ्यो ।

त्यसो भए, अंग्रेजले युद्ध गर्न चाहेको कारण के थियो त ? यसको पनि इतिहासकार मानन्धरसँग विश्लेषण छ र यो उनी अगाडिका इतिहासकारको सोचसँग मिल्छ पनि ।

युद्धअगाडि एकातर्फ नेपाल आफ्नो आकार बढाउन अगाडि बढिरहेको थियो भने त्यसको ठीकविपरीत दिशाबाट त्यस्तै मनसाय लिएर इस्ट इन्डिया कम्पनी पनि आइरहेको थियो । त्यो स्थितिमा दुवैको स्वार्थ एकअर्कासँग जुध्थ्यो ।

अंग्रेजको पहिलो लक्ष्य नेपालको त्यो अभियानलाई स्थगित गर्नु थियो । त्यसका लागि अंग्रेजले नेपालको मुख्य शक्ति रहेको सेना कमजोर बनाउन चाह्यो ।

त्यति बेला सेनालाई तलबको रूपमा जग्गा नै दिने गरिन्थ्यो । त्यसैले इतिहासकार मानन्धरकै भाषामा अंग्रेजले नेपालको ठूलो भूभाग खोजेर नेपाली सेनाको त्यो प्रथामै ठूलो चोट पुर्‍याएको थियो । युद्धकै क्रममा अंग्रेजले राम्रोसँग बुझेका थिए, नेपाली वास्तवमै बहादुर हुन्छन् । यिनीहरू भारतका अरू राज्यका सेनाजस्तो कमजोर र सधैंका लागि चुप लाग्ने खालका छैनन् ।

त्यसैले अंग्रेजको नेपालमाथि खास ठूलो रुचि थिएन । उसको जे रुचि थियो त्यो सुगौली सन्धिले पूरा गर्ने तय थियो । त्यसैमा टिकेर अंग्रेजले पछि नेपालबाट धेरै फाइदा लिन खोजेको थियो र त्यो कालान्तरमा पूरा पनि भयो ।

सन् १८१६ कै डिसेम्बर ८ मा अंग्रेजले सुगौली सन्धिमा संशोधन गरेर नेपाललाई केही भूभाग फिर्ता पनि दिएको थियो, जसबारे नेपाली इतिहासमा खासै चर्चा हुन्न ।

बरु धेरै चर्चा भने जंगबहादुरको पालामा प्राप्त भएको कैलाली, कञ्चनपुर, बाँके, बर्दियालाई लिएर हुन्छ । त्यसपछि भने नेपालले थप भूभाग फिर्ता पाएन ।

सन् १९२३ मा चन्द्रशमशेरको पालामा अंग्रेजले औपचारिक रूपमा नेपालको सार्वभौमिकता स्विकार्दा किन पुराना भूभाग फिर्ता लिने प्रयास भएन ? यो प्रश्न अझै उठ्ने गरेको छ । अथवा यो प्रयास मोहनशमशेरकै पालासम्म पनि हुन सक्थ्यो ।

युद्धमाथि नै प्रश्न
अंग्रेजविरुद्धको युद्धताका नेपालका सर्वेसर्वा थिए, भीमसेन थापा । अंग्रेजसँग युद्ध गर्ने निर्णय उनकै थियो । त्यसैले इतिहासकार बाबुराम आचार्यले भीमसेन थापाबारे लेख्दा प्रश्न उठाएका छन्, ‘लडाइँको मैदानमा कहिल्यै पनि पाइला नटेकेका यिनलाई लडाइँका मोर्चाका विभीषिकाबारे के पो थाहा ?’ आचार्य युद्धको सबै दोष भीमसेन थापालाई दिन चाहन्छन् र यसको कारण उनको घमण्ड मान्छन् ।

नेपालले अंग्रेजसँगको युद्ध हार्नुपछाडि पनि धेरै कारण छन् र ती स्वाभाविक पनि देखिन्छन् । इतिहासकार उपाध्यायले औंल्याएजस्तै, नेपाली सेनामा प्राविधिक ज्ञानको कमी थियो ।

दुई पक्षको सेनामा शक्तिको ठूलो असमानता थियो । नेपाली सेनामा सञ्चार र सम्पर्कको अभाव थियो । र, केही हदसम्म नेपालीमा एकताको कमी पनि थियो, किनभने ठूलो संख्यामा भारदार भीमसेन थापाको विरोधमा थिए ।

वास्तवमै त्यति बेला अंग्रेजसँग युद्ध गर्नुहुन्छ अथवा हुन्न भनेर नेपाली भारदार दुई खेमामा विभाजन भएका थिए । एक युद्धका पक्षमा थिए, अर्को विरोधमा ।

यसै विषयलाई लिएर अहिले आएर अर्का इतिहासकार भवेश्वर पँगेनी के मान्छन् भने अंग्रेजसँग युद्ध निश्चितजस्तै थियो, किनभने तिनीहरूको नियत नै त्यही थियो । इतिहासकार पँगेनी मान्छन्, अंग्रेजको मनसाय नै युद्ध थियो । त्यसैले युद्ध रोकिन सकिने स्थिति थिएन ।

सन्धिको दीर्घकालीन असर
सुगौली सन्धिका धेरै दीर्घकालीन असर देखिए । सबैभन्दा ठूलो नेपालको विस्तार सधैंका लागि रोकियो । सन्धिपछि नेपालले चारै दिशातर्फ अगाडि बढ्ने अवसर गुमाएको थियो । नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप यही समयबाट सुरु भयो ।

सन्धिअनुसार अंग्रेज रेजिमेन्टले काठमाडौंमा प्रवेश पाएको थियो । अंग्रेजी हस्तक्षेप भीमसेन थापाकै पालामा कतिसम्म बढ्यो भने यो नै अन्तत: उनको पतनको कारण बन्यो ।

सन्धि अगाडिसम्म नेपाली सेना मात्र होइन, भारदारको मनस्थिति नै लडाकु थियो । युद्ध के रोकियो, विशेषत: भारदारहरू फुर्सदिला हुन थाले । यही फुर्सदले नेपाली राजनीतिमा सधैंका लागि षड्यन्त्रलाई प्रवेश गरायो ।

यसको पहिलो सिकार त भीमसेन थापा नै थिए । उनको अन्त्यसँगै यो षड्यन्त्र रोकिएन । नेपाली दरबारमा हत्याको क्रम सुरु भयो र यसैको परिणाम मानिन्छ, कोतपर्व र भण्डारखाल पर्व ।

यसै सन्धिपछि ब्रिटिस सेनामा नेपालीको प्रवेशको बाटो पनि तय भयो । युद्धका क्रममा अंग्रेजले राम्रोसँग बुझे, नेपाली सेनाका वीरता । त्यसैले अक्टरलोनीले गरेको सन्धिमै बेलायती सेनामा नेपालीको भर्तीका लागि अनुमति दिइएको थियो ।

लामो समयको विवादपछि रणोद्दीप सिंहको पालामा नेपालीलाई ब्रिटिस सेनामा भर्नाको पूर्ण स्वतन्त्रता दिइयो ।
यो त्यही सन्धि थियो, जसले नेपालको अहिलेको नक्सा तय गर्‍यो ।

ठूलो भूभाग गुमेन मात्रै, विदेशी हस्तक्षेप पनि बढ्यो । भारतबाट अंग्रेजहरू बिदा भएपछि पनि यो सन्धिअनुसारको सीमा कायम रह्यो । सन् १९४७ मा अंग्रेजबाट स्वतन्त्र भएपछि बनेको स्वतन्त्र भारतसँग नेपालको अहिलेसम्मको राजनीतिक सम्बन्धको जगमा पनि यही सन्धि बस्यो ।
हिमेश


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us