Thursday, 10 March 2016

भैंसी पाल्न पर्वत झरे गायक पशुपति शर्मा

पश्चिमाञ्चल महिला महोत्सवको अन्तिम दिन । कुश्माको बान्द्रेबिंडीचौर दर्शकश्रोताले भरिभराउ थियो । पशुपति शर्मा आउने खबरले उनका लोकभाकाका पारखीको उल्लेख्य भीड लाग्यो । बुधबार गायकले राम्रै स्वागत पाए । पहिलो गायन टुक्कामै सुरु गरे :

भैंसी पाल्छु पर्वतमा झरेर
घाँस काट्छु संघर्ष गरेर
चिन्ता छैन क्यै...

ससुराली गाउँ पर्वतकै चुवा भएका पशुपतिले दर्शकहरूलाई उमेरअनुसार सासू, ससुरा, साला, साली भन्दै गरेको सम्बोधनले सबै उमेर–समूहका दर्शकश्रोतालाई नाच्न बाध्य पार्‍यो । पछिल्लो समय बजारमा आउन लागेको ‘७२ सालको हालखबर’ देखि लोकप्रिय रहेका ‘सातो फुक झाँक्री बा...’, ‘माया भुल्ने के होला दबाई...’, ‘झमझम दर्कियो पानी...’ र ‘ससुराली गाउँमा, सुती–सुती खाउँm भने...’ सम्म गरी दर्जनभन्दा बढी गीत गाए उनले ।

गाउँदिन भन्दा
गाउने बनायो मलाई
झम्के बुलाकीले
नाच्दिनँ भन्दा नाच्ने बनायो...

उपर्युक्त गीतसँगै पशुपति उफ्रिँदा मञ्चको कुनामा बसेकी ८३ वर्षीया हरिकला शर्मा लट्ठीको सहारामा नाचेको दृश्य रोचक थियो । ससुराली गाउँमा सबै आफ्नै परिवारजस्तो लाग्ने पशुपतिलाई दर्शकश्रोताले पनि परिवारकै सदस्यजस्तो गरी गीत फर्माइस गरे । अन्त्यमा ‘झटारो’ एल्बमको ‘कुरीकुरी’ गीतले दर्शकश्रोतालाई जिल्ल बनाउँदै मञ्चबाट बाहिरिए ।

उनीपछि मञ्च सम्हालिन् ‘उध्रेको चोली’ गायिका इन्दिरा जोशीले । तन्नेरी दर्शकश्रोता उनको गायनमा झुम्मिए । उनले ‘म हुँ लोकल ब्युटी...’, ‘उध्रेको चोली...’ र ‘रातो घाँगरा’ लगायत सुनाइन् ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us