
पाइलट सरले सबैलाई सिट बेल्ट बाँध्न भन्नुुस् भन्नुभयो । मैले पछाडि बसेका सबैलाई सिट बेल्ट बाँध्न भनें । तै पनि डर लागिरहेको थियो । बाँच्ने आशा गुमेको थियो । घरपरिवार, साथीभाई सम्झिएँ । दुई दिनअघि मात्रै पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज म्याग्दीमा दुर्घटना हुँदा २३ जनाको निधन भएको थियो । त्यही घटना झल्झली सम्झिएँ । आजै जीवनको अन्तिम दिन रहेछ जस्तो लाग्यो ।
पाइलट र को–पाइलटले पाखो बारीमा जहाज ‘फोर्स ल्याण्डिङ’ गराउने सल्लाह गर्नुभयो । दुई जनाले केही कुरा गर्नुभयो । आवाजका कारण मैले कुरा बुझिन । हातले इशारा गरेको पनि देखेको थिएँ । के भन्न खोजेको हो बुझिएन । हामीले नबुझिने भाषामा टावरमा पनि सम्पर्क गर्नुभएको थियो । उताबाट पनि प्रत्युत्तर आएको थियो । हामीले कुरा बुझ्न सकेनौं । जहाज पाखोबारी पाखोबारी नजिकै आइपुग्यो । पाइलट सरले मलाई यहीं रोक्ने हो, ठाउँ ठीक छ होइन त भनेर सोध्नुभयो ।
मैले ठीक छ सर भनें । पंखा चल्न छाडेको त्यस्तै २० सेकेण्डजतिमा जहाज ल्याण्ड भयो । ठूलो आवाज आयो । धुलो र धुवाँको मुस्लोले केहीबेर वरिपरिको वातावरण केही देखिएको थिएन । जहाजको अगाडिको भाग भाँचियो । त्यही भाँचिएको भागमा पाइलट र को–पाइटल च्यापिनुभयो । पाइलटको त्यस्तै २–३ मिनेटमै निधन भयो । उहाँ बोल्न सक्नुभएको थिएन । तर यताउता चल्मलाएको देखिन्थ्यो । अनुहारमा अलिअलि रगत देखिएको थियो । को–पाइलटको एउटा खुट्टा भाँचिएको रहेछ । अनुहारमा सानो घाउ थियो । जहाज अडिएपछि यात्रु सबै एकएक गरेर बाहिर निस्किए । जहाजको पछाडिको भाग केही भएको रहेनछ । म च्यापिएको थिएँ । दुईटै खुट्टा च्यापिएको थियो मेरो । घटनाको ५ मिनेटपछि स्थानीय बासिन्दाहरु दगुरेर आउनुभयो । को–पाइलट र मलाई उहाँहरुले नै निकाल्नुभएको हो । अरु यात्रुहरु कसैको पनि होस् अवास थिएन । सबै आत्तिएको जस्तो । कोही घरपरिवारमा फोन गरेर जहाज दुर्घटना भएको र आफू बाँचेको जानकारी दिँदै दिए । कोही रोइकराई गरिरहेका । स्थानीय मानिसहरुले हामी सबैलाई ग्लोकोज र पानीहरु खुवाउनुभयो ।
एकैछिनमा स्थानीय उप–स्वास्थ्य चौकीबाट स्वाथ्यकर्मीको टोली आयो । उहाँहरुले यात्रु र सह–चालकको प्राथमिक उपचार गर्नुभयो । सहचालकको भाँचिएको खुट्टाबाट धेरै रगत बगिरहेको थियो । स्वास्थ्यकर्मीहरुले तपाईंलाई केही हुन्न, नआत्तिनुस् भनेर ढाडस दिए । उहाँले मलाई बचाइदिनुस्, प्लेन बोलाइदिनुस् भन्नुभएको थियो । झण्डै तीन घण्टासम्म उहाँ बाँच्नुभएको थियो जस्तो लाग्छ । उद्धारका लागि समयमै जहाज गएको भए सायद उहाँ बाँच्ने अवस्थामै हुनुहुन्थ्यो ।घाउबाट अत्याधिक रक्तश्राब भएका कारण रानाको निधन भएको उनले बताए । केसीका अनुसार स्थानीय उप–स्वास्थ्य चौकीका अहेबले रक्तश्राब रोक्न निकै कोसिस गरेका थिए । तर औषधि र साधनश्रोतको अपर्याप्तताका कारण रक्तश्राब नरोकिएको उनले जनाए ।
स्वाथ्यकर्मीले आफूसँग भएको साधन स्रोत प्रयोग गरेर बचाउन खोज्नुभएको हो । तर रगत अडिएन र उहाँ बित्नुभयो । हामीलाई बचाएर उहाँहरु जानुभयो । सायद उहाँहरुले होस गुमाउनुभएको भए हामी सबै मर्ने थियौं । उहाँहरुको आँट र साहसले मात्र हामी बाँचेका हौं ।
(चन्दननाथ– ५ भार्तीबाडा, जुम्लाका यात्रु अनञ्जय केसीसँग गरिएको कुराकानीमा आधारित)kathmandutoday