Wednesday, 3 February 2016

‘वनक्षेत्रमा यौन क्रियाकलाप बढ्यो’

बर्दिवास, माघ २० । पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने वनक्षेत्रमा यौन क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीले नियन्त्रण गर्न आग्रह गरेका छन् ।

राजमार्गको जिल्लामा पर्ने वनक्षेत्रमा १०/१२ ठाउँमा विभिन्न खालका पसल सन्चालनमा आएर बढेको चहल–पहलसँगैै जोडी युवा–युवतीको आगमन ह्वात्तै बढेको नजिकैका गाउँबस्तीका बासिन्दाको भनाइ छ ।

राजमार्गको जिल्लामा पर्ने बर्दिवासदेखि बाँके पुलसम्मको २० किलोमिटर क्षेत्रको वनक्षेत्रमा यौन क्रियाकलाप धेरै हुनेगरेको वनक्षेत्रसँगै जोडिएको खयरमारा बस्तीका ६५ वर्षीय चन्द्रलाल लोप्चनले बताए ।

वनक्षेत्रका माइस्थान, वनपथ, लक्ष्मीनियाँ, गणन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, कान्तिबजारचोक, मरहापुल र बाँकेलगायतका एकदर्जन चोकमा अचेल दिनहुँ २०औं जोडी युवा-युवती यौन क्रियाकलापकै लागि आउने गरेको त्यस ठाउँमा पसल सन्चालन गरेर बसेका साना व्यापारी बताउँछन् ।

बर्दिवासबाट पश्चिम जाँदा र पश्चिमबाट बर्दिवासतिर आउँदा लालबन्दीबाट वनक्षेत्र ओर्लने थुप्रै युवा-युवतीका जोडी हुने गरेको जनकपुर–वीरगन्ज रुटको बसका सहचालककोे भनाइ छ ।

खासगरी शनिबारका दिन जोडी युवा-युवतीको संख्या निकै बढ्नुले यीमध्ये कलेजमा पढ्ने विद्यार्थी पनि हुनसक्ने सहचालककोे अनुमान छ ।

सुरक्षित उपायबिना नै शारीरिक सम्बन्ध राख्नेहरू एचआइभी र यौनजन्य रोगको चपेटामा पर्नसक्ने सम्भावना रहेको नेपाल परिवार नियोजन संघका प्रबन्धक धीरज पौडेलको भनाइ छ ।

वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत् सामाजिक संघ–संस्थाका प्रतिनिधिसँग कन्डमको कुरा गर्न लाजमान्ने गरेका पाइएको छ ।

यौन व्यवसाय नै रोजेका यौनकर्मी महिला स्वास्थ्य सचेतनामा सजग पाइएका भएपनि ग्राहकले कन्डमको प्रयोगमा अनिच्छा देखाउँदा कन्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुको गुनासो छ ।

यता, जिल्लास्थित प्रहरी प्रशासनले भने यस्ता खालका गुनासा आफूहरुसमक्ष नआएको जनाएको छ । रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us