
'देशको अन्य प्रमुख नाका पूर्णरुपमा खुल्ला भइसकेको छ,' महतोले भने, 'वीरगन्ज नाका किन बन्द गर्नुपर्योब।' नाका केन्द्रित भएरै आन्दोलन गर्ने हो भने सबै नाका बन्द गर्नपर्ने उनको भनाई थियो। वीरगन्ज नाकामात्र खुल्ला गरेर केही नहुने उनले बताए।
महतोले सरकारमाथि कुनै दबाब सिर्जना गर्न नसकेको स्वीकारे। 'सरकार हाम्रो मागप्रति गम्भीर छैन। वीरगन्ज नाकाले पनि सरकारलाई कुनै दबाब भएन। वीरगन्ज नाका बन्द गरेर जनतालाई मात्र दुःख भइरहेको छ,' उनले नागरिकन्युजसँग भने।
आन्दोलनका कारण तराई मधेसका जनता बढी पीडित बनेकाले आनदोलनको स्वरुप परिवर्तन गरेर जाने उनको भनाई थियो। 'नाकाबन्दी जारी नै राख्ने हो भने अन्य चारवटै नाका ठप्प पारौं,' उनले भने, 'राजधानीमा बसेर नाकाबन्दी हुँदैन। नाकामै आएर नेताहरुले धर्ना बस्न पर्यो ।'
उनले मधेसीहरुको माग दिल्लीभन्दा युपी बिहारले सजिलै बुझ्नेगरेको बताए। 'मधेसको विषयमा युपी बिहारले जति सजिलै बुझछ, दिल्लीले बुझ्दैन,' उनले भने।
उनका अनुसार मधेसी मोर्चाको आगामी बैठकमा नाकाबन्दी र स्वरुप परिवर्तनको विषयमा विस्तृत रुपमा छलफल हुनेछ।