Tuesday, 2 February 2016

चीनवाट पेट्रोल ल्याउने कुरा सेलाउनुको रहस्य

विजय केसी । भारतले नाकावन्दी लगाएको केही दिन पछि नै चीनवाट पेट्रोल ल्याउने चर्चा शुरु भएको हो । भारतले नाकावन्दी गरेको वेला शुशील कोइराला प्रधानमन्त्री थिए । उनको नेतृत्वको सरकारले चीनवाट पेट्रोल ल्याउने विषयमा खासै प्रयास गरेन ।
भारतले नाकावन्दी गरेको केही दिन पछि के पि ओली प्रधानमन्त्री भए । यस पछि भने चीनवाट पेट्रोल ल्याउने चर्चाले तीब्रता पायो । के पि ओलीलाई प्रधानमन्त्री वनाउने किंग मेकरको भूमिका खेलेका प्रचण्ड र ओलीले त्यसवेला चीनवाट पेट्रोल, डिजेल, खाना पकाउने ग्याँस लगाएतका इन्धन ल्याउने भनेर ठुलो होहल्ला गरे तथा केही प्रयास पनि गरे जस्तो गरे ।
चिनियाँ सरकारले पनि चीनवाट पेट्रोल नेपाल पठाउन सकिन्छ भन्ने प्रतिकात्मक सन्देश दिंदै केही लाख लिटर पेट्रोल अनुदान स्वरुप सित्तैमा उपलब्ध गराए । चीनवाट रसुवाको केरुङ नाका हुँदै चिनियाँ अनुदानको पेट्रोल नेपाल भित्रीएको दिनमा ओली र प्रचण्डहरुले नाक फुलाएर राष्ट्रवादको झ्याली पिटे । ठुलो हल्ली खल्ली गरे ।
त्यस पछिका दिनहरुमा चीनवाट इन्धन ल्याउन सरकारी टोली चीन भ्रमणमा जाने क्रम वढ्यो । चीनका लागि नेपालका राजदूतको सक्रियता पनि निकै थियो ।
तर  नाकावन्दी भएको  पाँच महिना हुन  लागि सक्यो चिनियाँ इन्धन व्यापारिक रुपमा नेपाल आयात गर्ने कामको शुरुवात सम्म पनि भएन ।
अहिले पनि कालो वजारमा पेट्रोल प्रति लिटर दुई सय पचास देखि तीन सय सम्ममा किनेर सार्वजनिक तथा नीजि सवारी साधन चलिरहेको छ । पेट्रोल पम्पहरुमा लामो लाइन र क्यू प्रणालीको वाध्यता छ । महिनामा दश लिटर पेट्रोल डिजेल सरकारी मूल्यमा पाउँछन् जनताले । ग्याँसको अभाव उस्तै छ ।
तर प्रचण्ड, ओली र कमल थापाको गठवन्धन सरकारले एक लिटर पेट्रोल वा एक सिलिण्डर ग्याँस पनि चीनवाट व्यापारिक रुपमा आयात गर्न सकेको छैन ।
यसमा वहाना वाजी अनेकौं वनाएको छ सरकारले । मुख्य रुपमा चिनियाँ इन्धन महंगो पर्ने कुरा अगाडि सारिएको छ । तर चिनियाँ पेट्रोल डिजेल भारतको भन्दा गुणस्तरिय छ भन्ने कुरा ओझेलमा पारिएको छ ।
साथै कालो वजारको मूल्य भन्दा चिनियाँ इन्धनको मूल्य धेरै कम छ । भारतले दिएको दुःख पीडा भन्दा अलि वढी मूल्य तिरेर चिनियाँ इन्धन किन्न नेपाली जनता तयार छन् भन्ने कुरालाई गम्भीरता साथ लिइएको छैन ।
यदि नेपाललाई चाहिने इन्धन मध्ये कम्तिमा एक तिहाइ इन्धन दीर्घकालीन रुपमा चीनवाट ल्याउने प्रतिवद्धता नेपाल सरकारले आधिकारीक रुपमा दिन्छ भने चीनले लगाउने करहरु घटाएर भारतवाट आउने इन्धन कै मूल्यमा चीनवाट इन्धन ल्याउने सम्भावना रहेको विषयमा ओली सरकारले गम्भीरता साथ प्रयास गरेको छैन ।
चीनले यो विषयमा नेपालका प्रधानमन्त्री स्तरमा नै वार्ता गरेर टुंग्याउन चाहेको कुरा स्पष्ट गरेको थियो । यसैका लागि पनि चिनियाँ सरकारले ओलीलाई चीन भ्रमणको निम्तो पठाइ सकेको धेरै समय भैसक्यो ।
तर ओली सरकार भने भारत सरकार कै चाकडिमा लागिरहेको छ । ओली सरकारलाई जनताको दुख पीडा भन्दा पनि चीनवाट इन्धन व्यापारिक रुपमा ल्याउन थाले भारत सरकार दीर्घकालीन रुपमा रिसाउने र आफ्नो र आफ्नो गुटको राजनीति धरापमा पर्ने डरले भारत संग लम्पसार पर्ने वाटो खोज्दैछ ।
भारत सरकारले ओली, प्रचण्ड, कमल थापा तथा गच्छदारलाई यदि चीनवाट इन्धन व्यापारिक रुपमा आयात गरिएमा राम्रो नहुने भनि चेतावनी दिएकोले नै चीनवाट इन्धन ल्याउने योजना कार्यान्वयनको स्थगित भएको अब स्पष्ट हुँदैछ ।
भारत सरकारले पनि चीनवाट इन्धन नल्याउने शर्तमा नाका खुकुलो गरिदिने वचन ओली सरकारलाई दिएको भनिन्छ ।
ओली सरकारले भारत सरकारको आग्रहमा मधेशी मोर्चाको सहमति नभएपनि संविधान संशोधन गरेको छ । भारतले एकातिर ओली सरकारलाई चीन तिर नढल्कन फकाउने र धम्क्याउने गरिरहेको छ भने मधेशी मोर्चाको आग्रहमा मुख्य नाका वीरगंजमा नाकावन्दी यथावत राखेको छ ।
चीनवाट इन्धन ल्याउने विषय केवल अहिले भारतले नाकावन्दी गरेकोले मात्र आवश्यक भएको नभएर नेपाललाई आगामी दिनमा भारतको राजनैतिक आर्थिक प्रभूत्ववाट मुक्त वनाउन पनि अति आवश्यक विषय हो ।
तर ओली, प्रचण्ड, कमल थापाहरुको नक्कली राष्ट्रवाद अर्थात भित्र भित्र भारतको चाकडि गरेर वाहिर जनता सामु भारत विरोधी राष्ट्रवादी देखाउने गम्भीर विश्वासघाती कदमले नेपाली जनतालाई पुनः भारतीय प्रभूत्वमा दुख पीडा खपिरहन वाध्य वनाइ रहने भएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us