जारी यु १९ विश्वकप क्रिकेटमा नेपालले घरेलु टोली बंगलादेशसामु २१२ रनको विजय लक्ष्य पेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राज रिजालको विस्फोटक ७२ रनको मद्दतमा बंगलादेशलाई सो चुनौती दिएको हो । कप्तानी पारी खेलेका राजुले आयोजक राष्ट्र बंगलादेशविरुद्ध गतिलो प्रदर्शन गर्दै ८० बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७२ रन बनाए ।
राजु ७२ रनमा पेभेलियन फर्कँदा नेपाललाई पाँचौ झड्का लागेको थियो । नेपालका ओपनरहरु आजको खेलमा पनि जम्न सकेनन् । सन्दीप सुनुवार ७ र योगेन्द्र कार्की १ रनमै आउट भए ।
उनीहरु सस्तैमा आउट हुँदा ढाकास्थित शेरवंगला रंगशालामा रहेका नेपाली दर्शक स्तब्ध भएका थिए। नेपालका लागि सुनिल धमलाले २५ र आरिफ शेखले २१ रन जोड्दै आउट भए । राजवीर सिंह ९ रनमा अउट हुँदा नेपाललाई छैठौँ झड्का लाग्यो ।
कुशल भुर्तेल १४ रन बनाउँदै रनआउट हुन पुगे । नेपालका लागि अन्तिमक्रमका दिपेन्द्र सिंह एेरी र प्रेम तामाङले पनि सम्हालिएर खेले ।
नेपालका लागि दिपेन्द्रले अन्तिमक्रममा आएर ४५ बलमा २२ रन बनाउन सफल भए । त्यसैगरी नटआउट रहेका प्रेम तामाङले गतिलो पारी खेल्दै २४ रनमा २२ रन जोडे ।
बंगलादेशका लागि मोहम्मद साईफुद्दिनले २ विकेट लिए । त्यस्तै मेहदी हसन राना, मेहदी हसन मिराज र सलेह अहमतदले एक एक विकेट लिन सफल भए ।