Thursday, 4 February 2016

निगमकै मिलेमतोमा ट्यांकरबाट तेल चोरी

भारतको नाकाबन्दीले इन्धनको चरम अभाव भइरहेका बेला झापामा भने नेपाल आयल निगमकै मिलेमतोमा तेल चोरी हुने गरेको रहस्य खुलेको छ ।

 चारआली डिपोको प्रत्यक्ष मिलेमतोमा ट्यांकरबाट तेल चोरी हुने गरेको हो  । तेल चोरीमा ट्यांकरका चालक र सहचालकको प्रत्यक्ष संलग्नता पाइएको छ ।  भारतको सिलिगुडी डिपोबाट आयात भई भन्सार भएपछि अधिकांश तेल ट्यांकर दुवागढी–४ स्थित तोकप्रसाद दुलालको घरमा लगेर पार्किङ गरिन्छ । दुलाल ट्यांकरका पूर्व चालक हुन । दुलालले आफ्नो घर परिसरमा ट्यांकरका लागि पार्किङस्थलै बनाएका छन् ।  

‘रातको समयमा ट्यांकरबाट तेल चोरी हुन्छ’, एक स्थानीयवासीको दाबी छ, ‘कहिलेकाँही बिहान र दिनदहाडै पनि तेल चोरेको देख्न सकिन्छ ।’  स्रोतका अनुसार आयल निगम डिपो अन्तर्गत हाल करिब चालिसवटा ट्यांकर संचालित छन् । आधा जति ट्यांकर मात्रै भन्सार भएर सोझै निगमको डिपो कार्यालयभित्र जान्छन् । आधा चाहिँ दुलालले बनाएको निजी पार्किङस्थलमा लगेर रातभरी राखिन्छ । ‘ट्यांकरबाट तेल झिकेपछि बिहान मात्रै निगमको कार्यालयमा पठाइन्छ’, एक स्थानीयले भने ।  उनका अनुसार प्रत्येक ट्यांकरबाट लगभग ५० देखि सय लिटरसम्म तेल चोरी हुन्छ । 

चोरीको तेल झापाकै केही उद्योगले खरिद गरिरहेका छन् । केही तेल राजधानी पनि पठाइन्छ । यसरी लामो समयदेखि तेल चोरी हुँदा प्रहरी प्रशासन समेत वेखबर छ । चालक–सहचालकले निगमको डिपोकै पार्किङस्थलबाट समेत तेल चोर्ने गरेको उदाहरण पनि छ । केही समय अघि तेल चोर्ने गिरोहलाई नै चारआली चौकीले पक्राउ पनि गरेको थियो ।  

मंगलबार दिउँसो दुलालको घर पुग्दा आधा दर्जन जति ट्यांकर पार्किङमा थिए । तर, बुधबार त्यहाँबाट सबै ट्यांकरहरु हटाइएको थियो । निगमको कार्यालयमा पर्याप्त पार्किङस्थल हुँदाहुँदै किन अन्यत्रै पार्किङ हुन्छन् ट्यांकरहरु ? तोकप्रसाद दुलाललाई उनको घरको कम्पाउन्डमा ट्यांकर पार्किङ गर्नुको कारण बारे प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् । निगमको चारआली डिपोका निमित्त प्रमुख लोकमणि पौडेल भन्छन्, ‘अधिकांश ट्यांकरका चालक तथा सहचालकहरु दुवागढी–४ का तोकप्रसाद दुलालको घर छेउछाउ डेरामा बस्ने र केहीको घरसमेत त्यही भएकाले त्यतै पार्किङ गरिएको होला ।’ 

 उनले पहिलादेखि नै ट्यांकरहरु दुलालकै घरमा पार्किङ गर्ने चलन रहेको उल्लेख गर्दै भने, ‘तेल चोरिन्छ चोरिँदैन भन्ने कुरा चाहिँ निगमलाई फिटिक्कै थाहा छैन ।’ निगमले भारतबाट आयातित तेललाई पुन: जाँच नगर्दा तेल चोरी बढेको देखिन्छ । ‘निगमले तेलको क्वालिटी मात्रै जाँच्छ,’ पौडेलले थपे, ‘क्वान्टिटी हेर्ने काम हाम्रो होइन ।’  झापाको एक पेट्रोल पम्पका संचालकका अनुसार ट्यांकरमा निगमले भनेजति परिणाममा तेल कहिल्यै नहुने दाबी गरे । उनका अनुसार ३ हजार लिटरमा ५०–६० लिटर तेल प्राय: कम हुन्छ । तेल कम छ भनेर सोध्दा निगम चाहिँ ट्यांकरका चालक र खलासीलाई तिराउनु भनेर पन्छिने गरेको ती पम्प संचालकले गुनासो गरे । उनले थपे, ‘चालक र खलासीलाई सोध्दा निगमले जति पठायो, त्यति नै ल्याएको भन्छन् ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us