Thursday, 18 February 2016

फाइनलको टर्निङ प्वाइन्ट प्रकाशकै फ्रिकिक थियो:नवयुग श्रेष्ठ

नवयुग श्रेष्ठले १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा भारतविरुद्ध निर्णयक गोल गरेका थिए । तर, उनी प्रकाश बुढाथोकीको फ्रि–किक गोललाई खेलको ‘टर्निङ प्वाइन्ट’ मान्छन् ।

‘उनले अपत्यारिलो रुपमा गोल गरे,’ नवयुगले भने, ‘फाइनलको टर्निङ प्वाइन्ट त्यही हो । त्यसैले हामीले २३ बर्षपछि सागमा स्वर्णपदक जित्न सक्यौं ।’ इन्दिरा गान्धी एथलेटिक्स स्टेडियम, गुवाहाटीमा सोमबार भएको फाइनलमा प्रकाशले ६६ औं मिनेटमा करिब २५ यार्डबाट प्रहार गरेको फ्रि–किकले मानवीय पर्खाल र भारतीय गोलकिपरलाई जिल्याउँदै सुन्दर गोलको रुप लिएको थियो । त्यसैले नेपाल १–१ को बराबरीमा पुगेको थियो ।


प्रकाशकै क्रसमा नवयुगले निर्णायक गोल गरेपछि भारतविरुद्ध २–१ को जित निकाल्दै नेपालले दक्षिण एसियाली खेलकुदमा २३ बर्षपछि स्वर्णपदक हात पारेको थियो । फाइनलमा हिरो बनेका प्रकाश नेपाली यू–२३ टिमका पहिलो रोजाईका खेलाडी होइनन् । प्रशिक्षक राजुकाजी शाक्यले उनलाई डिफेन्डर मनबहादुर तामाङको स्थानमा ३५ औं मिनेटमा मैदानमा प्रवेश गराएका थिए ।

मिडफिल्डर विक्रम लामालाई डिफेन्समा झार्दै प्रकाशलाई विङ्समा खेलाइएको थियो । पेनाल्टमिा ३१ औं मिनेटमै गोल बेहोरेको नेपाली टिमले प्रकाश मैदानमा ओर्लिएसँगै लय समातेको थियो ।

त्यो लोभलाग्दो गोलमा परिणत भएको फ्रि–किक सुरुमा विशाल राईले प्रहार गर्न लागेका थिए । ‘माल्दिभ्सविरुद्ध सेमिफाइनलमा २ घन्टा खेल्दा साह्रै थाकेको थिएँ । त्यसैले प्रकाशलाई फ्रि–किक तिमी हान भनें,’ विशालले भने, ‘उनले निक्कै राम्रो प्रहार गरे र सुन्दर गोल भयो । साह्रै खुशी लाग्यो ।’

‘पेनाल्टी क्षेत्रवरिपरि फ्रि–किक पायो भने भने राम्रैसँग हान्छु भन्ने थियो । मौका पाएँ, सेकेन्ड बार च्याप्दै प्रहार गरें र गोल पनि भयो,’ २२ बर्षीय प्रकाशले भने, ‘सेमिफाइनलमा पनि त्यस्तै एक प्रहार गरेको थिएँ, गोल नभए पनि बल पोलमा लागेको थियो ।’

त्यस्तो फ्रि–किक उनको लागि खास नौलो भने होइन । उनले फ्रेन्ड्स क्लबबाट खेल्दा नियमितजस्तै फ्रि–किक प्रहार गर्थे । र, केही लोभलाग्दा गोल पनि गरेका थिए । एक सिजन थ्रीस्टारमा उनीसँगै खेलेका नेपाली टिमका कप्तान विराज महर्जनले भने, ‘थ्रीस्टारमा अभ्यास गर्दा पनि उनले त्यस्ता फ्रि–किक खुबै प्रयास गर्थे । त्यसले यो उनमा देखिएको नयाँ खुबी भने होइन । यस्ता गोल गर्न उनी सक्षम खेलाडी हुन् ।’

फुटबलको सहरको रुपमा चिनिएको धरानका प्रकाश गोलको अवसर सिर्जना गर्न र आफंै पनि गोल गर्न सिपालु छन् । सानो जीउडालका उनको क्रस विपक्षीको लागि डरलाग्दो हुन गर्छ । उनी खासमा राष्ट्रिय लिग २०६९ बाट चिनिएका फुटबलर हन् । त्यसबेला फ्रेन्ड्स क्लबबाट खेल्दै उनले ६ गोल गरेका थिए । त्यसमध्ये ५ गोल त सुपरलिगमा मात्र गरेका उनी प्रशिक्षकहरुको रोजाईमा लिगकै सर्बोत्कृष्ट विंगर भएका थिए । उनी अर्को सिजन थ्रीस्टार गए । तर, पहिलो रोजाईमा नियमित अवसर नपाउँदा उनी छायाँमा परेका थिए ।

उनले राष्ट्रिय टिमबाट पनि दुई खेल खेलिसकेका छन् । ३१ अगस्ट, २०१३ मा दशरथ रंगशालामा बंगलादेशविरुद्ध २–० ले नेपालले जितेको खेलमा उनले दोस्रो हाफमा जगजितको स्थान लिँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । उनले दुई क्याप जितेका छन् ।

उनले १२ औं सागमा पनि जम्मा दुई खेल खेले, सेमिफाइनल र फाइनल । उनी दुवै खेलमा सब्स्टिच्युटको रुपमा मैदानमा उत्रिएका थिए । अखिरमा फाइनलका हिरो उनी नै भए । तीन साताअघि ढाकामा बंगबन्धु गोल्डकप जित्दै नेपाली राष्ट्रिय टिमले २३ बर्षपछि उपाधि जितेको थियो । त्यस टिममा पनि थिए, प्रकाश । तर, उनल खेल्ने अवसर भने पाएका थिएनन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us