Monday, 15 February 2016

साँझ ७ बजेबाट नेपाल र भारतबीचको फाइनल खेल सुरु हुने


 १२ औ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदकका लागि नेपालको पुरुष र महिला फुटबल टिमले आज भारतसंग प्रतिस्पर्धा गर्दैछ । गुवाहाटीको इन्दिरा गान्धी स्टेडियममा पुरुष फुटबलको फाईनल खेल साँझ सवा ७ बजे सूरु हुनेछ ।
 
सन् १९८४ र १९९३ को साफमा स्वर्ण जितेको नेपाल २३ बर्षपछि उपाधि जित्ने संघारमा आईपुगेको छ । नेपालले सेमिफाईनलमा माल्दिभ्सबिरुद्ध ४–३ गोल अन्तरले पराजित गरेको थियो भने भारतले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।


यता सागको महिला फुटबलमा पनि नेपालले भारतसंग प्रतिस्पर्धा गर्दैछ । ढाकामा भएको ११ औ सागबाट समावेश गरिएको महिला स्पर्धामा भारत डिफेन्डिङ च्याम्पियन हो । राउन्ड रोबिन लिगमा अपराजित रहदै नेपालले फाईनल यात्रा तय गरेको थियो । खेल सिलोङस्थित नेहरु स्पोर्टस कम्प्लेक्समा दिउँसो सवा ४ बजे सूरु हुनेछ । लिग चरणमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए ।
   
 नवयुगलाई फेरि सर्वाधिक गोलकर्ता बन्ने अवसर
एकमहिना अघि बंगबन्धु कपमा सर्वाधिक गोलकर्ता बनेका  'ह्याट्रिक म्यान' नवयुग श्रेष्ठसामु जारी साग खेलकुदमा पनि सर्वाधिक गोलकर्ता बन्ने अवसर छ।

सागको पुरुष फुटबलमा उनले दुई ह्याट्रिक गर्दै गोलसंख्या ६ पुर्‍याएका छन्। उनले समूह चरणमा भुटानविरुद्ध ह्याट्रिक गरेका थिए । शनिबारको सेमिफाइनलमा मालदिभ्सविरुद्ध अन्तिम दुई मिनेटमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

नवयुगलाई पछ्याइरहेका भारतका उदान्त विश्वासले तीन गोल मात्रै गरेका छन्। संयोगवश फाइनलमा आज नवयुग र उदान्त एकअर्का विरुद्ध मैदानमा उत्रँदैछन्। तर, नवयुगसँग बराबरी गर्न पनि आजको खेलमा विश्वासले ह्याट्रिक पुरा गर्नुपर्ने हुन्छ, त्यो पनि नवयुगले गोल नगरेको अवस्थामा मात्रै।

यसैबर्ष भारतविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका नवयुगले अहिलेसम्म नेपालका लागि तीन ह्याट्रिक सहित १० गोल गरिसकेका छन्।

गतमहिना बंग्लादेशमा भएको बंगबन्धु कपको सेमिफाइनलमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । माल्दिभ्सविरुद्धको यही खेलमा उनले ह्याट्रिक गरेका थिए । फाइनलमा बहराइनविरुद्ध १ गोल गर्दै उनी प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका थिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us