Saturday, 6 February 2016

फुटबलबाट दुई स्वर्ण

नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रवेश गरेयता सबैभन्दा लामो समय राष्ट्रिय टोलीमा रहने खेलाडी हुन् राजुकाजी शाक्य। समूहगत खेल भए पनि १७ वर्षे खेल जीवनमा शाक्यले प्राप्त गरेको सफलता समकालीन कुनै खेलाडीको नाममा छैन। नेपाली फुटबलको पहिलो पुस्ताका सफल खेलाडी शाक्यले आफ्नो पूरा जीवन यही खेलमा समर्पण गरेका छन्। खेल जीवनपछि उनी प्रशिक्षणमा संलग्न छन्। अहिले उनकै नेतृत्वमा नेपालको पुरुष यु–२३ टोलीले साग फुटबलमा भाग लिइरहेको छ।


नेपालले फुटबलमा प्राप्त गरेको अहिलेसम्मका सबैभन्दा ठूला दुई सफलताको स्वाद चाख्नेमा दुई खेलाडी मात्र छन्। दक्षिण एसियाली खेलकुद (साफ हालको साग) को आठौं संस्करणसम्म फुटबलमा राष्ट्रिय टोलीले भाग लिने चलन थियो। नेपालले १९८४ र १९९३ मा फुटबलबाट स्वर्णपदक जितेको थियो। दुवैपटक स्वर्ण जित्दा टोलीमा हुने दुई खेलाडीमध्ये एक राजुकाजी हुन् भने अर्का हुन्– उमेश प्रधान। १९८७ मा शाक्य सम्मिलित टोलीले साफमा रजत पदक पनि जितेको थियो।

नेपालले पछिल्लो पटक शाक्यकै नेतृत्वमा स्वर्ण पदक जितेको थियो। छैटौं साफमा नेपाललाई स्वर्ण पदक दिलाउने फुटबल एक्लो खेल थियो। अहिले पनि ती सफलतालाई सम्झेर शाक्य रोमाञ्चित हुन्छन्। 'हरेक खेलाडीलाई आफ्नो खेल जीवन प्यारो लाग्छ। खेलाडीकै रुपमा हुँदाको नसाले फुटबलमा फरक भूमिकामा देखिनु अर्को पाटो हो,' ५४ वर्षे शाक्य भन्छन्, 'मलाई खेलाडी हुँदा नै बढी आनन्द लाग्थ्यो।'

लामो खेल जीवन सम्झँदा उनी राष्ट्रिय टोलीमा पर्ने अनुमान पनि नगरेको प्रसंग छुटाउँदैनन्। तर, लगातारको मिहिनेत र साधनाले उनलाई नेपाली फुटबलको शिखरमा पुर्यारयो। राष्ट्रिय टोलीबाट लामो समय खेल्नेमा शाक्यको नाम अग्रपंक्तिमा आउँछ।

शाक्यको खेल जीवनको सुरुआत जन्मथलो धरानबाट भएको थियो। स्कुले जीवनबाटै उनले फुटबल खेले। 'हामी हुर्के–बढेको ठाँउमा फुटबलमैत्री वातावरण थियो। धरानमा रहेको ब्रिटिस क्याम्पका कारण पनि त्यहाँ फुटबलको बेग्लै माहोल थियो,' उनी सम्झन्छन्, 'दाइहरुले खेलेको देख्दा रहर लाग्थ्यो। त्यही रहर नशामा परिणत भएको पत्तै भएन। पछि त फुटबल नै जीवन भयो।'

स्कुलबाट कलेज हुँदै करियर अघि बढ्दा उनले २०३३/३४ सालमा जनकपुर चुरोट कारखानाको टोलीमा आबद्ध हुने मौका पाए। जसले उनको करियरको दायरा धरानबाट फैलियो। २०३८ सालको पहिलो राष्ट्रिय खेलकुद उनले जनकपुरबाट खेले। त्यति बेलाको प्रदर्शनले उनलाई १९८१ मा सिक्किमको गभनर्स गोल्डकपमा भाग लिने तत्कालीन राष्ट्रिय टोलीमा बोलाइयो। त्यसपछि भने उनको फुटबल जीवनले नयाँ उचाई लियो। १९८२ को एसियाली खेलकुद नेपालले खेलेको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल थियो। त्यो खेलमा पनि उनी राष्ट्रिय टोलीको हिस्सा थिए।

एसियाली खेलकुद देखि १९९७ मा काठमाडौंमा सम्पन्न प्रथम साफ च्याम्पिपियनसिपसम्म पुग्दा उनी बिरलै मात्र टोलीबाट अलग भए। 'मेरो जीवनको त्यो स्वर्णिम समय थियो। खेलबाहेक अरु केहीमा ध्यान गएन, अहिले जस्तो सुविधा त्यतिबेला थिएन,' उनले भने, 'हामी केही पाउने आशाभन्दा पनि देशका लागि र आफ्नो परिचय बढाउनका लागि फुटबललाई जीवन मान्थ्यौं। सम्भवतः त्यही भावनाले नेपाली फुटबलको ऐतिहासिक सफलतामा नाम जोडिन्छ। मैले अहिलेसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति त्यही हो, मेरो त्यो इतिहासलाई कसैले तोड्न सक्दैन।'

१९९९ मा आठौं साफमा नेपालले रजत पदक जित्दाको समय राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहेका शाक्य फेरि एकपटक देशलाई स्वर्ण पदक दिलाउने जिम्मेवारी काँधमा लिएर भारत यात्रामा निस्केका छन्।

'मैले खेल जीवनमा दुईपटक स्वर्ण र एकपटक रजत जिते। सहायक प्रशिक्षकका रुपमा पनि रजत जितेको अनुभव छ,' उनले भने, 'घरेलु फुटबलमा म अलि 'अनलक्की' प्रशिक्षकमा पर्छु। अहिले फेरि यु–२३ हेर्ने अवसर मिलेको छ। यसपटक स्वर्ण जितेर पुरानो दाग मेटाउन प्रयास गर्नेछु।'

एनआरटीलाई लामो समय प्रशिक्षण गराएका शाक्यले आर्मी र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सम्हाल्दा पनि कहिल्यै सहिद स्मारक लिग जित्न सकेका छैनन्। यद्यपि उनले प्रशिक्षकको रुपमा नकआउट प्रतियोगिताका थ्रुपै उपाधि जितेका छैनन्। खेल जीवनमा प्राप्त गरेको सफलतालाई शाक्य प्रशिक्षकका रुपमा जोड्न चाहन्छन्। 'दक्षिण एसियाली स्तरमा हामी कमजोर छैनौं। तर, यु–२३ ले खेलेयता हामीलाई भाग्यले पनि त्यति साथ दिएको छैन,' उनको आशा छ, 'यसपटक हामीले भर्खरै बंगबन्धु गोल्डकप जितेका छौं। त्यो सफलताको मनोबल र त्यही टोलीको निरन्तरता भएकाले स्वर्ण पदकको आशा गर्न सकिन्छ।'

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us