Monday, 8 February 2016

क्यान्सर जितेका कांग्रेस सभापति सुशिल कोइराला मृत्युसंग हारे

संविधान निर्माणपछि क्यान्सरको अन्तिम रिपोर्ट लिन अमेरिका पुगेका कांग्रेस सभापति सुशील कोइरालाले नेपाली समुदायसँग भनेका थिए– ‘अब क्यान्सर जितें’ । क्यान्सर जितेको खुसीमा केही दिन अमेरिकामै घुमफिरमा विताएका कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिएका थिए ।

आफूलाई बिरामी भएकाले आराम गर्नुपर्ने नेताहरुको दबाब प्रतिवाद गर्दै कोइरालाले केही दिनअघि मात्रै भक्तपुरमा भनेका थिए– ‘क्यान्सर जितेर आएको छु, अब म स्वस्थ भएको छु ।’ उनको संकेत आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी प्रष्टै थियो ।

दमसम्बन्धी क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगन्जमै राति १२ बजेर ५० मिनेटमा निधन भएको हो ।

कोइराला परिवारको बिरासत थाम्दै १२ औं महाधिवेशनमा सभापति चुनिएका कोइरालालाई ठूलो जस चाहीं संविधान निर्माणमा जान्छ । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तराद्र्धमा सुरु भएर थाँती रहेको काम थियो ।

सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनरमा भएको हो । उनका ६ भाई र एक बहिनी थिए । अविवाहित सुशील वन अधिकृत बाबुसँगै नेपालगन्ज पुगे । त्यसपछि कोइरालाको स्थायी बसोबास उतै भयो ।

दोस्रो संविधानसभामा ठूलो पार्टी भएपछि कोइराला २०७० साल माघ २७ गते प्रधानामन्त्री निर्वाचित भएका थिए । उनी सबैभन्दा गरिब प्रधानमन्त्रीका रुपमा चर्चासमेत भएको थियो । उनले आफ्नो सम्पत्ति विवरणमा तीन वटा मोबाइल सेट मात्र रहेको सार्वजनिक गरेका थिए । पदमा रहँदा उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि पहल गरेका थिए ।

२०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । २०४२ सालको सत्याग्रहदेखि २०४६ र २०६२-६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशील पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us