Saturday, 30 January 2016

यी हुन्, शुक्रराजको शव उतार्ने ब्यक्ति

हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । सरकारले सहिद दिवसको दिन सार्वजनिक विदा समेत दिने गरेका छ । माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ ।

जहाँनियाँ राणा शासनको विरुद्ध आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई तत्कालिन राणा शासकहरुले वि.सं.१९९७ सालमा एकै साता भित्र पालैपालो रुखमा झुण्ड्याएर फाँसी दिएका थिए ।

तिनै चार वीर सपुतहरुमध्येका एक थिए, शुक्रराज जोशी । काठमाडौंको खिउँल, थाय्मदुमा जन्मिएका शुक्रराजले उच्च श्रेणीमा संस्कृत भाषामा शास्त्री उतीर्ण गरेकाले उनलाई पछि शुक्रराज शास्त्री भनियो । तिनै शुक्रराज, जसलाई वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो ।

राणा शासनको विरोध गरेकोमा राजद्रोहको अभियोग लगाई शुक्रराजलाई पक्राउ गरी तीनवर्ष कैद सुनाइयो । आठ वटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो झण्डै १०–११ बजेतिर सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारिएको थियो ।

रुखमा झुण्ड्याएर मारिएका शास्त्रीको शव निकाल्ने हिम्मत समेत कसैले गरेन । रुखमा झुण्डिरहेको शव निकाल्ने ब्यक्ति थिए, डिठ्टा चतुरमान श्रेष्ठ, चिरिबाबु महर्जन र चिरिबाबुका बाबु । महान सहिद शुक्रराजको शव स्पर्श गर्ने मध्येका एक चिरिबाबु आज पनि शुक्रराजको शव निकालेको कुरा विर्सन सक्दैनन् । काठमाडौंको स्बयम्भू ठूलोभ¥याङमा आफ्नो माहिला छोराको घरमा बसिरहेका चिरिबाबु शुक्रराजको शव रुखबाट झार्दा मात्र ११ वर्षका थिए । अहिले उनी ८६ वर्षका छन् ।

त्यो दिन यसरी सम्झिन्छन्, चिरिबाबु

बेलाबेलामा हाम्रो घरमा आइरहने डिठ्टा चतुरमान श्रेष्ठ त्यो दिन पनि आउनुभएको थियो । केही काम लिएर आएपछि बाबालाई लिएर उहाँ जानुहुन्थ्यो । तर त्यो दिन बाबा उहाँसँग जान मान्नु भएको थिएन । तर केही कुरा गरिसकेपछि बाबा तयार हुनुभयो । र बाबाले मलाई लैजान खोज्नुभयो तर आमा मान्नुभएन । त्यस्तो ठाउँमा छोरालाई पठाउदिन भनेर मलाई च्याप्नुभयो । मलाई उत्सुकता लाग्यो । बाबाले मलाई कहाँ लैजान लाग्नुभएको होला । मलाई पनि जान पाए हुन्थ्यो जस्तो लाग्यो ।

चतुरमानको सम्झाई बुझाईका अगाडि आमाका के लाग्थ्यो र मलाई समातिरहनु भएको आमाले हात खुकुलो बनाउनुभयो । म, डिट्ठासाब र बाबासँगै घरबाट निस्कियौं । तर मलाई थाहा थिएन कहा जान लागेको भन्ने बारेमा ।

कुरा वि.सं. १९९७ साल माघ ११ गतेको बिहानको हो । बाटोमा मैले बल्ल थाहा पाएँ, चर्तुमानले बाबालाई शुक्रराजको त्यो शब रुखबाट भुइँमा झार्नको लागि बोलाउन आउनुभएको रहेछ ।

हामी टेकुतिर बढ्दै थियो, टेकु दोभान क्षेत्र सुनसान थियो । त्यहाँ पुग्दा खेरी दिउँसोको १२ बजिसकेको थियो तर एक जना पनि हिडेँकोे देखिदैनथ्यो । मैले टेकुको एउटा ठूलो रुखमा एउटामान्छे झुण्ड्एको देखेँ । म झसङ्ग भएँ । मेरो पाईला टक्क रोकियो । बुबाको हात समातिराखेको मेरो हात कस्सियो ।

त्यतिबेला त मलाई थाहा भएन तर पछि थाहा भयो उहाँ शुक्रराज शास्त्री हुनुुहुँदोरहेछ । म रोकिएको देखेर चतुरमान जिले मलाई गाली गरेर अगाडि बोलाउनुभयो । मैले बचाउका लागि बुबालाई हेरेँ उहाँ मेरो हात छोडेर अगाडि बढिसक्नु भएको थियो ।

मैले आफूलाई तानेर अगाडि बढेँ । बुबाले रुखमा झुण्डिरहेको लाश समात्नुभयो । मैले पछाडिबाट समातेँ, चतुरमानजीले डोरी खोल्नुभयो । हामीले शवलाई बिस्तारै सुतायौँ यति गरिसकेपछि शव चतुरमानजीको जिम्मामा छोडेर हामी हतार हतार घर फर्कियौं । बाटोमा बुबाबाट थाहा पाएँ– उहाँलाई राणाहरुले गाठगादी ताकेको आरोपमा राति त्यहाँ ल्याएर झुण्ड्याएको रहेछ ।

(स्रोत :गोप)

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us