Tuesday, 5 January 2016

आन्दोलनकारीलाई वीरगञ्ज नाकामा भारतीय समूहले फेरि कुट्यो, पेट्रोल बम प्रहार

वीरगन्ज, २२ पुस । तीन महिनादेखि बन्द देशकै प्रमुख वीरगञ्ज नाका अवरोध गरी बसेका धर्नाकारीमाथि भारतीय समूहले फेरि आक्रमण गरेको छ । आक्रमणबाट ७ जना आन्दोलनकारी घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नाकामा धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तामाथि भारतबाट आएका आक्रोशित स्थानीय र व्यापारीको २०–२५ जनाको समूहले बुधबार विहान १० बजे आक्रमण सुरु गरेका थिए । आधा घण्टासम्म दुबैपक्षबीच झडप भएको प्रहरीले जनाएको छ । दुबै पक्षबीच ढुंगा हानाहान भएपछि वीरगन्ज नाका तनावग्रस्त बनेको छ । पर्साका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले दुबै पक्षबीच झडप भएको पुष्टि गरे । भारतीय समूहले धर्नाकारीतर्फ पेट्रोल बम समेत प्रहार गरेका छन् । भारतीय प्रहरीले दोहोरो झडप भएपछि भारत तर्फका आन्दोलनकारीलाई फिर्ता लगेको छ । मोर्चाका कार्यकर्ताले भारतीय तस्करहरूले आफ्ना सामान छुटाउनका लागि आफूहरूमाथि आक्रमण गरेको बताएका छन् । यसअघि पनि भारतीय समूहले पटक पटक मोर्चाका कार्यकर्तामाथि मितेरी पुलमा आक्रमण गर्दै आएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us