

बारपाकमा बेलुकी ९ बजेदेखि असिनासहितको पानी परेको थियो भने लाप्राक र घ्याच्चोकमा बेलुकी ११ बजेदेखि असिनापानी परेको स्थानीयले टेलिफोनमा बताएका छन् । त्यस क्षेत्रमा रातभर सिमसिम पानी बर्सेको छ । वैशाखमा गएको ‘गोरखा भूकम्प’ पछि लाप्राकबाट बिस्थापित भएका ५९५ घरधुरीका लाप्राकीहरू टहरो हालेर गुप्सीपाखामा बस्दै आएका छन्। दुई हजार ७०० मिटर उचाईको गुप्सीपाखा हिउँले सेत्तामे भएपछि बढेको चिसोले बृद्धबृद्धा र बालबालिका थप पीडामा परेको स्थानीयले टेलिफोनमा बताएका छन्।
गएराति हिउँ पर्नुअघि हावाहुरीसहित असिना पानी बर्षेको थियो। हावाहुरीले भूकम्प पीडितका टहरो छाएको त्रिपाल र जस्तापाता उडाएको छ। केही टहरो भत्किएको छ। बिहानदेखि हिउँ पर्न रोकिएको जानकारी दिँदै लाप्राककी भूकम्पपीडित सुनिता गुरुङले चिसोले गर्दा टहरो बाहिर निस्कन नसकिएको बताइन्।
भूकम्पपीडितहरू आगो तापेर बसेका छन्। गाउँभन्दा माथिका डाँडाहरूमा तीन फिटसम्म हिउँ परेपनि गाउँमा भने बाक्लो हिउँ परेको छैन। ‘चिसोले सतायो। घरबाहिर निस्कन सकिँदैन’, गुरुङले भनिन्, ‘एउटा कम्मल कसले ओढ्ने?’ टहरोमा पानी चुहिएकाले भएका थोत्रा कपडा पनि भिजेका छन्। भिजेका कपडा आगोमा सेकाएर लगाउनुपरेको उनको भनाइ छ।
स्याँठले गर्दा बिहान, बेलुकी बस्न गाह्रो भएको भन्दै केही भूकम्पपीडित यसअघि नै पूरानो लाप्राक फर्किएका थिए। हिउँबाट बच्न उनीहरुले ढुङ्गाको खातैखात लगाएर जस्तापाताले छाएको घर बनाएका छन्। दुई हजार १०० मिटर उचाइमा रहेको लाप्राक गाउँमा पनि हिउँ परेको छ। ‘गुप्सीमा जस्तो बाक्लो हिउँ तल गाउँमा परेन’ गुरुङले भनिन्।
गुम्दा गाउँमा पनि हिमपात भएको छ। केरौंजा, काशीगाउँ, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पारलगायत उत्तरी भेगमा पनि हिमपात भएको छ।
त्यस्तै भूकम्पको केन्द्रबिन्दू बारपाक गाउँ, घ्याच्चोकको उपल्लो भेगमा पनि हिमपात भएको हो। बारपाक –४ का तेजबहादुर घलेका अनुसार बारपाक गाउँमा हल्का मात्रै हिउँ परेको छ। गएराति भने भीषण असिना पानी परेको थियो। ‘मञ्चेडाँडासम्म हिउँ पर्यो' घलेले भन्ो, ‘गाउँमा असिना पर्यो।' असिनाले त्रिपालले छाएका टहराहरु च्यातेको छ। स्नान गाउँमा टेण्ट, त्रिपालले छाएका ३० भन्दा बढी टहराहरु छन्।
हिमपात भएका क्षेत्रमा हालै न्यानो कपडा खरिदका लागि १० हजार रुपैयाँका दरले राहत रकम वितरण गरिसकिएको छ । त्यस्तै विभिन्न सङ्घसंस्थाको सहयोगमा सिरक, कम्बल र ज्याकेट वितरण गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
अझै १२ गाविसमा बाँड्ने रकम निकासा नआएकाले समस्या भएको हो । ३८ गाविसमा भने राहत रकम वितरण गरिसकेको छ । १० हजार राहत रकम बुझेका भूकम्पपीडितले न्यानो कपडा किनेका छैनन् । केहीले घरखर्चमै सो रकम सिध्याएका छन् ।