Sunday, 24 January 2016

नाकाबन्दी र आन्दोलन झन् सशक्त बनाउने फोरमको निर्णय

संघीय समाजवादी फोरम, नेपालले महिनौंदेखि जारी सिमानाका अवरोध र आन्दोलनलाई झन् सशक्त बनाउने निर्णय गरेको छ । समाजवादी फोरमले आफूहरुको सहमति विपरीत प्रमुख तीन राजनीतिक दलले संविधान संशोधन गरेको भन्दै आपत्ति जनाएको छ । आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन र काठमाडौ केन्द्रीत आन्दोलन चर्काउन विभिन्न पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय भएको फोरम नेपालक अध्यक्ष उपेन्द्र यादवले जनाएका छन् । काठमाडौंमा आइतवार सम्पन्न फोरम नेपालको केन्द्रीय कार्य समितिको विस्तारित बैठकले सरकार वार्ता र निकासका लागि गम्भीर नभएकोले निर्णायक आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
बैठक पछि अध्यक्ष यादवले वार्ता मार्फत् समाधानका लागि आफूहरु हदैसम्मको लचक र गम्भीर भएपनि सरकार आफैले वार्तामा गम्भीर नदेखिएकोले जारी आन्दोलनलाई निर्णायक बनाउन आन्दोलन थप सशक्त पार्ने निर्णय भएको बताए ।
शनिवार राती सरकारले संशोधन गरेको प्रक्रिया र अन्तर्वस्तुलाई बैठकले अस्वीकार गरेको छ । ‘नयाँ संविधान जस्तै सरकारले संशोधन पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको छ’, बैठक पछि अध्यक्ष यादवले भने, ‘नयाँ संशोधनले मधेश आन्दोलनलाई सम्बोधन गर्न सक्दैन ।’ मनपरी ढंगले संविधान संशोधन भएकोले केन्द्रीय बैठकले जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको उनले बताए ।
मोरंगको रंगेली लगायत विभिन्न संवेदनशील स्थानमा जबरजस्ती कार्यक्रम आयोजन गर्न लगाएर सरकारले साम्प्रदायिकता मच्चाउन खोजेको आरोप लगाएको छ । आन्दोलनका क्रममा लगाइएका सबै झूठा मुद्दा तत्काल खारेज गर्न पनि बैठकले माग गरेको छ । यसैगरि, आन्दोलनमा चरम दमन भएको निष्कर्ष निकाल्दै केन्द्रीय बैठकले सत्य तथ्य छानविन र दोषिमाथि कारवाहीका लागि तत्काल उच्चस्तरिय न्यायिक आयोग गठन माग गरेको उपाध्यक्ष लालबाबु राउतले जानकारी दिए ।
शुक्रवारदेखि राजधानीमा जारी फोरम नेपालको केन्द्रीय समितिको बैठक १२ बुँदे निर्णय गर्दै आइतवार सम्पन्न भएको छ । बैठकमा प्रस्तुत राजनीतिक, सांगठनात्मक र आर्थिक प्रतिवेदन सर्ब सम्मतले पारित भएको छ । ५१ सदस्यीय राजनीतिक समिति सहित चार वटा केन्द्रीय निकाय गठन गरिएको छ । नयाँ संविधान प्रतिगामी रहेको निष्कर्ष सहित वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन, प्रतिगामी संविधान विरुद्धको सदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन र विद्रोह, मोर्चा र सरकारबीच भएको वार्ता लगायतका विषयबस्तु समेटिएको राजनीतिक प्रतिवेदन सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए । भोलि सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरी बैठकको औपचारिक निर्णय सार्वजनिक गरिने सहअध्यक्ष श्रेष्ठले जनाएका छन् ।
मधेशमा जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउन काठमाडौं केन्द्रीत आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड अनुसार थप छलफल गरेर काठमाडौं केन्द्रीत आन्दोलनको रणनीति र कार्यनीति तय गरिने बताइएको छ । मधेशी मोर्चासँगै सिंगो पार्टी पंक्ति मधेश आन्दोलनमा होमिएकै बेला राजधानीमा केन्द्रीय समिति बैठक आह्वान गरिएकोले फोरम नेपालको केन्द्रीय निर्णय र आगामी रणनीतिलाई महत्व र चासोका साथ हेरिएको थियो ।
शान्तिपूर्ण रुपमा पाँच महिनादेखि आन्दोलनरत मधेशी जनताको टाउको र छातीमा ताकी ताकी गोली हानी हत्या गर्दै आएको ओली सरकारलाई झुकाउन काठमाडौं केन्द्रीय आन्दोलन चर्काउनु पर्ने सुझाव दिइएको केन्द्रीय सदस्य वीर बहादुर लामाले बताए । पहिचान र अधिकारका लागि प्रहरीको गोली खाएर मधेशी जनता सडकमा मरिरहँदा पनि काठमाडौं र जनजाति बहुल क्षेत्रमा आन्दोलन उठ्न नसकेकोप्रति उनले चर्को असन्तुष्टि पोखेका थिए । मधेश आन्दोलनमा चरम दमन भएकोले सरकारलाई अन्तर्राष्ट्रिय अदालत उभ्याउनका लागि तत्काल पहल थाल्न समेत पार्टी नेतृत्वलाई सुझाव आएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us