Friday, 1 January 2016

युएईमा एक वर्षमा ६४ जना नेपाली कामदारको मृत्यु

उमाकान्त पाण्डे/उज्यालो । युएई, पुस १८ - संयुक्त अरब एमिरेट्स युएईमा सन् २०१५ मा ६४ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । यो सख्या अघिल्लो वर्षमा भन्दा एकजनाले धेरै हो । सन् २०१४ मा ६३ जना नेपाली कामदारको युएईमा ज्यान गएको थियो । सन् २०१५ को तथ्याङक अनुसार ज्यान जानेमा सबैभन्दा बढी ४० जनाको प्राकृतिक मृत्यु छ । प्राकृतिक कारण भनेर सुतेको सुत्यै भएर ज्यान गएको, हृदयघात, मस्तिष्क पक्षघातलाई समेटिएको छ । जसअन्तर्गत सातजनाको हृदयघातका कारण र बाँकी ३३ जनाको ज्यान जानुको कारण अन्य भनिएको छ । चार जना नेपालीको भने उच्च मधिरासेवनका कारण ज्यान गएके भएपनि सो सख्यालाई पनि प्राकृतिक कारणमा समावेश गरिएको छ । त्यस्तै, नौ‌ जना नेपालीले आत्महत्या गरेको र अन्य १५ जनाको दुर्घटनामा परेर ज्यान गएको हो । १५ मध्ये नौ‌ जनाको सडक दुर्घटनामा परेर र अन्य दुर्इ जनाको जलेर तथा पानीमा डुबेर ज्यान गएको हो । त्यस्तै एक जनाको कार्यस्थलमै भएको दुर्घटनाका कारण ज्यान गएको हो । सन् २०१५ मा ज्यान गुमाउने ६४ जनामध्ये महिला र पुरुषको सख्या छुट्टाइएको छैन । गुल्मीका राम बहादुर पुन र बाराका बिकास उप्रेतीको विदेशी नागरिकद्वारा हत्या भएको र त्यसबारे अनुसन्धान जारी रहेको अबुदाबी स्थित नेपाली दूतावासले बताएको छ । ज्यान गुमाउने मध्ये औसतमा २० देखी ४९ उमेर समुहका धेरै छन् । त्यसमा पनि ज्यान गुमाउने मध्ये धेरैको औसत उमेर ३२ वर्ष देखिएकाे छ । गएको तीन वर्षमा १ सय ९७ जना नेपालीले यूएईमा ज्यान गुमाएका छन् । सडक दुर्घटनामा परेर युएईमा ज्यान गुमाउनेको सँख्या औसतमा गएको तीन वर्षमा समान छ । त्यसरी ज्यान गुमाउनेहरु मध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली हुन् । पछील्लो पाँच वर्षको तथ्याकं अनुसार युएईमा औसतमा ज्यान गुमाउने नेपालीको सँख्या घटेको छ । दूतावास एक्लैबाट सबै काम सम्भव नहुने र यसकालागि यहाँ रहेका सबैले सचेत भई जानकारी लिने दिने र खानपीनमा ध्यान दिएर काम गरे मृत्युदरलाई न्यून गर्दै लैजान सम्भव रहेको दूतावासका द्धितिय सचिव कृष्ण अर्यालले बताउनुभयो । युएईमा कतिपय नेपालीहरु विभिन्न अभियोगमा अझैसम्म जेल सजाय भोगिरहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us