Saturday, 16 January 2016

भुकम्प पुनर्निमाण भ्रष्टाचारको साचो प्रधानमन्त्री केपी ओलीसंग

 प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको काम पारदर्शीरूपमा गर्ने भन्दै कसैले भ्रष्टाचार गरे सरकारले तत्काल कारबाही गर्ने बताएका छन्।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले शनिबार काठमाडौमा गरेको पुनर्निमाण महाअभियानको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले भुकम्पका कारण लाखौं परिवार घरवारविहिन भएको अवस्थामा पुनर्निमाण जस्तो संवेदनशील काममा कसैले भ्रष्टाचार गरे आफूले एक छिन पनि नसहने बताएका हुन्।

उनले पुनर्निमाणको काममा दातृ निकायले दिने एक रुपैयाँ पनि भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सबै रकम पारदर्शी रुपमा खर्च हुनेमा आश्वस्त हुन आग्रह गरे।

प्रधानमन्त्री ओलीले पुनर्निमाणका लागि धेरै जनशक्ति चाहिने तर सरकारसँग आवश्यक संख्यामा जनशक्ति नरहेको भन्दै उद्धारमा जस्तै पुनर्निमाणमा पनि स्वयंसेवकका रुपमा परिचालित हुनका लागि तयार रहन युवाहरुलाई आग्रह गरे। उनले राजनीतिक दलहरुबीच पनि पुनर्निमाणमा कसले बढी स्वयंसेवक परिचालन गर्ने भन्ने प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पुनर्निमाणको काममा आफ्नो पार्टीले सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने बताए। उनले भुकम्प प्रभावितहरूको अवस्था निकै कष्टपूर्ण रहेकाले उनीहरू बस्ने घर सकेसम्म वर्षा सुरु हुनु पहिले नै बनाइसक्नुपर्ने बताए।

कार्यक्रममा सत्तारुढ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार एक्लैले पुनर्निमाणको काम गर्न नसक्ने बताए। उनले पुनर्निमाणको काममा जनताको सहभागीता अनिवार्य रहेको भन्दै भौतिक संरचनाहरुको गुणस्तरमा कनै किसिमको सम्झौता नगर्न सरकारसँग आग्रह गरे। उहाँले उद्धारका बेला राहतमा भएको भ्रष्टाचारबाट सरकारले पाठ सिक्नुपर्ने बताए।

कार्यक्रममा उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री शक्ति बस्नेत लगायतका नौ जनाले पुनर्निमाणका बारेमा आ(आफ्नो धारणा राखेका थिए । त्यस क्रममा नेपाल भुकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले गत वैशाखमा गएको भुकम्पले ६ लाखभन्दा बढी घर क्षतिग्रस्त भएको घटनाबाट पाठ सिकी घरको गुणस्तरमा कठोर अनुशासन अवलम्बन गरिनुपर्ने अन्यथा वैशाख १२ गतेको नियति फेरि भोग्नुपर्ने बताए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us