Monday, 11 January 2016

सदगद गरिएका युवक आठ महिनापछि घरमा आइपुगेपछि..........

 जंगलमा भेटिएको कंकाल बुझेर सदगत गरिएका युवक आठ महिनापछि घर फर्किएपछि मोरङको पथरी शनिश्चरेका बासिन्दा चकित भएका छन् । परिवारको जाहेरीको आधारमा प्रहरीले मृत्यु पुष्टि गरेर अन्त्येष्टि गरिएको आठ महिनापछि शनिश्चरे–५ का भूपाल अधिकारी जिवितै घर आइपुगेका हुन् ।

मृत्यु भएको ठानिएका छोरा जिवितै घरमा आइपुग्दा परिवारमा खुशीयाली छाएको छ । तर, क्रियाकर्म गरिसकेको छोरालाई घरमा राख्न नहुने भन्दै गाउँलेले दबाब दिएपछि परिवार सामाजिक रुपले अप्ठेरोमा पनि परेको छ ।

२०७२ जेठ २२ मा पथरी शनिश्चरे नगरपालिका–१ स्थित शान्ति सामुदायीक वनमा फेला परेको कंकाल कपडाका आधारमा १८ वर्षिय सुस्त मनस्थितिका भूपालको भएको उनको परिवारले ठहर गरेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक रमेश बस्नेतले जनाए ।

ट्रयाक्टरमा लोडअनलोडको काम गर्दे आएका भूपाल जेठको मध्यमा २–४ गायब भएका थिए । प्रहरीकै आग्रहमा अधिकारी परिवारले उक्त कंकाल गाडेका थिए । उनको ट्रयाक्टरबाट लडेर मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनी काम गर्ने ट्रयाक्टरका चालकलाई केही दिन हिरासतमा राखी अनुसन्धान गरी कर्तब्य ज्यान मुद्दा दर्ता गरि अनुसन्धान अगाडी बढाएको थियो । तर, उनी जिवितै भेटिएपछि त्यो कंकाल कसको थियो भन्ने प्रश्न उब्जिएको छ ।

मरेको ठानिएका भूपाल भने सिक्किम पुगेको खुल्न आएको छ । गत मंगलबार उनी नेपाल फर्किएका थिए । मंगलबार काकरभित्ताबाट धरान आइरहेको बसमा उनलाई पथरीकी एक महिलाले उनलाई भेटेकी थिइन् । उर्लाबारीबाट बस चढेकी ती महिला पहिले त भूपाललाई देख्दा तर्सिएकी थिइन् । तर, पछि भूपाल नै भएको यकीन भएपछि उनले घर ल्याएकी थिइन् ।

रोजगारीका लागि साउदी अरबमा रहेकी भूपालकी आमा मनमाया १५ दिनअघि मात्र घर फर्किएकी थिइन् । उनले पनि धार्मिक विधिअनुसार छोराको क्रियाकर्म सकेकी थिइन् । त्यसको तीन दिनमै भूपाल घरमा आइपुगेको भूपालका आफन्त भुवनेश्वर पोखरेलले बताए ।

कक्रियाकर्म गरिसकेको छोरा घरमै पुगेपछि आमा मनमायाले ईलाका प्रहरी कार्यालय पथरीमा निवेदन दिँदै आफ्नो हराएको छोरा फर्केको र भुलवश अर्कैको शवको कंकालको सदगत गरेको बताएपछि प्रहरीले उक्त कंकाल कसको हो भन्ने विषयमा फेरि खोजी सुरु गरेको छ ।

‘हाम्रो घरमा त खुशी फर्किएको छ,’ मनमायाले  भनिन्, ‘आफू विदेशमा हुँदा छोरा मरेको खबर पाईयो, म उतै हुँदा बुबाले क्रियाकर्म गरे, म फर्किपछि म पनि रितिरिवाजले क्रियाकर्म गरेको ३ दिन बित्न नपाउदै छोरो टुपलुक्कै घरमा आईपुग्दा हाम्रो हर्षको सीमा छैन ।’

तर, माया मारिसकेको छोरा भेट्दाको खुशी गाँउलेका कारण निरासामा परिणत हुन लागेको मनमायाले बताइन् । ‘क्रियाकर्म गरिसकेको छोरोलाई घरमा राख्न हुँदैन भन्दै गाउँलेले दबाब दिन थालेका छन्,’ मनमायाले भनिन् । छोरा घरमा आईनपुग्दै गाउका मानिस आएर घरमा राख्न नहुने भन्दै दबाब दिन थालेका कारण तीन दिन आफ्नो छोरालाई झापाको चारआली स्थित माइतीमा राखेर फेरि ईलाका प्रहरी कार्यालय पथरी ल्याएको मनमायाले बताइन् । ‘अब जसले जे भनुन् सुन्दैनौं, मैले जन्म दिएको छोरा हो घरमै लगेर राख्छु,’ मनमायाले भनिन्

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us