Saturday, 30 January 2016

जसले कविता लेखेकै कारण फाँसीमा चढ्दैछन्

तिहासका विभिन्न कालखण्डमा कवि, साहित्यकार र दार्शनिक जेलमा कोचिए । कतिले निर्वासन भोगे त कतिलाई दिइयो मृत्युदण्ड । ईसापूर्व ३९९ मा ग्रिक दार्शनिक सुकरातलाई एथेन्स राज्यका देवताहरूको अपमान गरेको र युवाहरूलाई भड्काएको कसुरमा ‘हेम्लक’ बिस पिउन बाध्य गराइएको थियो । ग्यालिलियोले पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने थाहा पाए ।

 तर, चर्च र राज्यको डरले धेरै समय उक्त सत्य सार्वजनिक गर्न सकेनन् । त्यसैले धर्म र सत्ताभन्दा फरक विचार राख्नेहरू इतिहासमा बारम्बार सताइएका छन्, प्रताडित भएका छन् । फेरि एउटा कविमाथि त्यस्तै विपत् थोपरिएको छ । साउदी अरबमा रहँदै आएका ३५ वर्षीय कलाकार तथा कवि असरफ फयादलाई फाँसीको सजाय सुनाइएको छ । इस्लाम धर्म छाडेको र नास्तिक विचारलाई प्रोत्साहन गरी कविता लेखेको आरोप लगाएको छ साउदी सरकारले उनलाई । फयादको कविता संग्रह ‘इन्स्ट्रक्सन्स विद इन’ २००८ मा प्रकाशित भएको थियो, जसमाथि साउदी सरकारले प्रतिबन्ध लगाएको छ । कवि फयाद ब्रिटिस–साउदी कलासम्बन्धी संस्था एज अभ अरेबियाका प्रमुख सदस्य पनि हुन् । 

साउदीको एक अदालतले उनलाई २०१४ मेमा आठ सय कोर्रा र चार वर्षको जेल सजाय सुनाएको थियो । पछि थपियो फाँसीको सजाय । फयाद साउदी अरबका नागरिक होइनन्, प्यालेस्टाइन शरणार्थी हुन् । परिचयपत्र खोसिएका कारण उनले आफ्नो वकिलसमेत राख्न पाएका छैनन् । एक कलाकार साथीसँग भएको व्यक्तिगत विवादमा फसाइएका फयाद मृत्युको सजाय कुरेर बसेका छन् । साउदी अरबका आरोप स्विकार्दैनन् फयाद । उनी भन्छन्, उनका कविताहरू उनी आफैँ र प्यालेस्टाइन शरणार्थीबारे लेखिएका हुन् ।

 आफ्ना कवितामा इस्लामविरोधी र ध्वंसात्मक कुरा नरहेको उनको जिकिर छ । उनी बारम्बार भन्छन्, ‘मेरा कविताका विषय संस्कृति र दर्शन मात्र हुन् ।’ फयाद कविता र विचारकै कारण आउँदो नोभेम्बर १९ मा मृत्युदण्डको सजाय भोग्दै छन् । फयादको फाँसी संसारभरिका साहित्यकार, कवि, पत्रकार, चिन्तक, विचारक, मानव अधिकारवादीका लागि चासो र चिन्ताको विषय हो । फयादको रिहाइको माग गर्दै १४ जनवरीका दिन ४४ राष्ट्रका विभिन्न स्थानमा कविता वाचन भएका थिए । अंग्रेज स्वच्छन्दतावादी कवि विलियम वर्डसवर्थले भनेका छन्, ‘कवि तथा साहित्यकारको कल्पनाशक्तिको परिधि नसुनेका वा सुनेर पनि बेवास्ता गर्ने मानिसलाई स्वतन्त्रताविना सिर्जना सम्भव छैन भनेर सिकाउन वर्षौं लाग्न सक्छ । कविहरू गुफाभित्रको छाया–संसारलाई नै वास्तविक संसार ठान्दैनन् ।’

 सामान्य व्यक्तिको भन्दा उच्च सोच राखेकै कारण या संसारलाई फरक दृष्टिकोणले हेर्न खोज्दा साहित्यकार र दार्शनिकहरू समय–समयमा शासकबाट सताइएका छन् । साहित्यकाररकलाकारले यथार्थ दुनियाँको कुरा गर्दा शासकहरूको सातो जान्छ र उनीहरू थाल्छन् आफ्नो शक्तिको दुरुपयोग गर्न । त्यसैगरी आज साउदी शासक विचार राखेकै कारण फयादलाई मृत्युदण्ड दिँदै छ ।

 कहिलेकाहीँ लाग्छ, अधार्मिक र नास्तिकहरूभन्दा पनि खतरनाक हुन्छन्, धार्मिक र ईश्वरवादीहरू । नत्र धर्मकै नाममा किन कुनै निर्दोषलाई फाँसीको सजाय सुनाइन्छ 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us