Sunday, 17 January 2016

दिल्ली छोडेर काठमाडौं आइपुगे राजेन्द्र महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या समाधान हुन्छ भनेकाले आफू काठमाडौं आएको बताएका छन् । बिराटनगर झडपमा घाइते भएर उपचारका लागि दिल्ली गएका मधेसी मोर्चाका नेता महतो आइतबार स्वदेश फर्किएका छन् । दिल्लीबाट सोझै मधेस जाने योजना भएपनि प्रधानमन्त्रीले बोलाएकाले काठमाडौं आएको उनले बताए ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मोर्चाका महतोले भने(सिधै मधेस जान्थेँ, प्रधानमन्त्रीले फोन गरेर तपाई काठमाडौं आउनुस्, समस्या समाधान हुन्छ भन्नु भएको छ । त्यही आशा लिएर आएको छु ।’ महतोले आइतबार साँझ नै प्रधानमन्त्री ओलीलाई भेट्दैछन् भने सोमबार कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

उनले भने(‘प्रधानमन्त्रीले समस्या समाधान हुन्छ भन्नु भएको छ । त्यस अनुसार होस् ।’ आफूहरु पनि समस्या समाधान होस् भन्ने पक्षमा रहेको भन्दै उनले संविधान संशोधन गरेर मधेसको माग सम्बोधन गर्नु पर्ने बताए । अहिलेसम्म सहमति हुन्छ भन्ने प्रधानमन्त्री र तीन पार्टीको हातमा रहेको उनले बताए । सदभावना अध्यक्ष महतोले भने(समस्या समाधान हुन्छ भनेर काठमाडौं आएको हुँ । आशा र विश्वास अनुसार काम होस् ।’ तर उधारो वा गठिने सहमति मान्य नहुने उनले बताए । संविधान संशोधन गर्न समय लाग्ने भन्दै उनले मधेसको माग अनुसार सीमांकन हुन्छ भन्ने सुनिश्चितता दिलाउनु पर्ने बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us