Thursday, 7 January 2016

पर्दामा सबैभन्दा रुचाइएका चर्चित अनुहारहरु

कलाकारको रियलभन्दा रिल जोडीको बढी चर्चा हुन्छ । आखिर, दर्शकले कलाकारप्रतिको इमेज बनाउने भनेको पर्दामा हेरेरै हो । त्यसैले हिरो–हिरोइन आफ्नो को–एक्टरका बारेमा निकै सजग हुन्छन् किनभने जोडी सुहाउँदो भयो भने करिअरले गति लिन्छ, जोडी जमेनले ओरालो लाग्ने खतरा रहन्छ । यो त कलाकारको हकमा भयो ।

निर्माताको आँखाबाट हेर्दा पनि फिल्ममा कास्ट हुने हिरो–हिरोइनले ठूलो महत्व रहन्छ । स्टारडम हावी भएको उद्योगमा हिट अनस्क्रिन कपल ओपेनिङ कलेक्सनमा वरदान सावित हुने गर्छन् । नेपाली फिल्म उद्योगमा विस्तारै ‘कपल कल्चर’ फस्टाउन थालेको छ । यहाँ यस्तै, बक्स अफिसमा दबाब राख्न सक्ने ५ रिल जोडी छानिएको छ, जसले दर्शक र निर्माता दुवैलाई रिझाएका छन् ।
दयाहाङ राई र प्रियंका कार्की

सफलता र व्यस्तता दुवै कोणबाट दयाहाङ र प्रियंका यो समयका नम्वर वान हिरो–हिरोइन हुन् । यो जोडीलाई पहिलो पटक देखिएको थियो फिल्म झोलेमा । जतिबेला दुवैको करिअर धरमरमा थियो । लुटपछि दयाहाङ अभिनित झण्डै आधा दर्जन फिल्म असफल भएका थिए भने प्रियंकाले करिअरको सुरुवातमै फ्लप फिल्मको ह्याट्रीक गरेकी थिइन् । तर झोले रिलिजपश्चात उनीहरुले सन्तोषको सास फेर्न पाए ।

कमेडी जनराको यस फिल्मले पैसा पनि कमायो, प्रसंशा पनि । त्यसयता दयाहाङ र प्रियंका हटकेक जोडी बने । उनीहरुले स्क्रिन शेयर गरेको वडा नम्बर ६ सुपरहिट भएपछि भाउ ह्वात्तै बढ्यो । दयाहाङको कबड्डी–कबड्डीमा पनि प्रियंका छुटिनन् । ‘बेस्ट फ्रेन्ड’को रिलेसनमा रहेको यो जोडीको नयाँ फन्को १ माघमा रिलिज हुँदैछ भने अहिले लालटिन नामक सिनेमा सुटिङमा व्यस्त छन् ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठ

उसो त आर्यन सिग्देलको डेब्यु फिल्म किस्मत नै हिट नभएको होइन् तर उनलाई मासमा पुराउने फिल्म बनिदियो मेरो एउटा साथी छ । कोरियन लुक्समा जब आर्यनले नम्रता श्रेष्ठसँग रोमान्स गरे, प्लस टु पुस्ता हलमा ओइरिए । जो अक्सर नेपाली फिल्म भन्नासाथ नाक खुम्चाउँथे । तर आर्यन र नम्रता उनीहरुको प्रिय बने । त्यसपछि नम्रताको आधा दर्जन फिल्म रिलिज भए, कुनैले कमाल गरेनन् ।

जब आर्यनको जोडी बनेर अघिल्लो वर्ष नोभेम्बर रेनमा देखापरिन्, फेरि दर्शकको ओइरो लाग्यो । व्यावसायिक सफलताले उनीहरुको मित्रता पनि प्रगाढ बनिरहेको छ । त्यसैले त आर्यनको लगानी रहेको फिल्म क्लासिकमा नम्रता दोहोरिन । क्लासिक आउँदो भ्यालेन्टाइन्स डेमा रिलिज हुँदैछ । यो जोडीले मृगौला बेचविखनविरुद्धको सर्ट फिल्म होक्सेमा पनि सँगै काम गरेको छ ।
 रेखा थापा र सविन श्रेष्ठ

नेपाली फिल्म वृत्तमा हिरोलाई लिड गर्न सक्ने कुनै हिरोइन छिन् भने रेखा थापा मात्र हुन् । सिंगल स्क्रिन थिएटरमा राम्रो पडक जमाएकी रेखाले राजेश हमालदेखी आर्यन सिग्देल, जीवन लुईटेल, आयुष रिजालसम्मका हिरोसँग जोडी बाँधिन्, दर्शकले रुचाए पनि ।

पछिल्लो समय सविन श्रेष्ठसँग रेखाको जोडी जमिरहेको छ । सविनलाई रेखाले आफ्नै ब्यानरको अन्दाजबाट डेब्यु गराएकी हुन् । उनीहरु अभिनीत रावण, वर्षात, हमेशा, दमदारलगाएतका फिल्म रिलिज भइसकेका छन् । नेपाली नयाँ वर्षको छेकोमा रिलिज हुने रामप्यारीमा रेखा र सविनलाई एकसाथ देख्न पाइनेछ ।
जीवन लुईटेल र नीता ढुंगाना

फिल्म नोटबुकको ‘गाला रातै।।।’बोलको गीतमा ठुम्का मिलाएसँगै जीवन र नीताको जोडी एकाएक चर्चामा आयो । गीत जस्तै फिल्म हिट भइदियो । त्यसपछि निर्माताहरु यो जोडीलाई काम गराउन लालायित देखिए, ‘सँगै काम गर्दा सहज महसुस हुने’ मार्काका उनीहरुका अभिव्यक्ति सार्वजनिक भए ।

दुवै सिंगल थिएटरमा रुचाइएका कलाकार हुन् । त्यसपछि भुलभुलैयामा फेरि जोडी बाँधे । यसले औसत व्यापार गर्‍यो । तर म्युजिक लभस्टोरी धुन व्यावसायिकरुपमा असफल ठहरियो । तैपनी अझ कतिपय निर्मातारनिर्देशक उनीहरुलाई सँगै कास्ट गर्न खोजिरहेका देखिन्छन् ।  

अनमोल केसी र आना शर्मा

होस्टेल रिलिजसँगै अनमोल एकाएक सुपरस्टार बने । मल्टिप्लेक्सको बिकाउ अनुहारका रुपमा स्थापित भए, फिल्ममा अफरको ओइरो लाग्यो तर झण्डै डेढ वर्षको ग्यापपछि मात्र अर्को फिल्ममा देखिए, जेरी । अनमोलको यही स्टारडमको फाइदा आनाको पोल्टामा पनि पर्‍यो, एउटै फिल्मबाट त्यतिविघ्न वाहवाही कमाउने भाग्यमानी हिरोइन कमै हुन्छ ।

खासगरी प्लस टु पुस्ता अनमोल र आनाको जोडीको ‘डाइहार्ट फ्यान’ बने । त्यसमाथि ‘रिलेसन’मा रहेको हल्ला चल्यो । जेरी रिलिजपश्चात उनीहरुलाई काम गराउन खोज्ने फिल्ममेकर धेरै देखिए । ड्रिम्स र गाजलुमा आना नै हुने हल्ला चलेको थियो तर त्यस्तो अवसर जुरेन । यद्यपी दुवै उचित प्रोजेक्टको प्रतिक्षामा रहेको उनीहरुका नजिकका मित्रहरु बताउँछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us