
काठमाडाैं-भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दुई नेता राजेन्द्र महतो र महेन्द्रराय तत्काल नफर्कने भएका छन्।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर मात्रै आज राती स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
सदभावना पार्टी अध्यक्ष महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव भने केही दिन दिल्लीमा नै बसी स्वास्थ्य उपचारमा ब्यस्त रहनेछन् । दिल्ली जाँदा पनि दुबै नेता बेग्लै एकदिन पहिले नै गएका थिए। दुबै नेता पटना हुदैँ गत आइतवार दिल्ली प्रस्थान गरेका थिए ।
'हाम्रो पार्टी अध्यक्ष (महतो) र महेन्द्ररायजी स्वास्थ्य उपचारका लागि बस्नु परेकाले आज फर्कनु हुन्न' सदभावना महासचिव मनिष सुमनले नागरिकन्युजसँग भने, 'आज राती उपेन्द्रजी र महन्थजी फर्कनु हुन्छ ।' उनका अनुसार महतो र यादव केही दिन स्वास्थ्य उपचारका लागि उतै रहनेछन र शुक्रबार मात्रै स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
नेपालको नयाँ संविधान बिभेदकारी भएको भन्दै भारतको समर्थन लिनका लागि 'सम्झाउन' दिल्ली पुगेका मोर्चा आवद्ध ४ नेतालाई सीमा नाकामा अवरोध नगरी आपूर्ति सहज गराउन भारत सरकार र भारतीय नेताहरुले अनुरोध गरिसकेका छन् । मधेसी मोर्चाको माग सम्वोधन गर्ने बारेमा प्रमुख दलले तयार पारेको ३ बुदेँ साझा अवधारणामा मोर्चाका नेताले औपचारिक रुपमा छलफल चलाउन सहमत भएको सन्देश दिल्लीबाट नै दिइसकेका छन् ।