
ज्यान मार्ने उद्योग अन्तरगत चलाइएको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजालसले एसिड हान्ने युवा जीवन विकलाई १० वर्ष जेल सजायको फैसला बुधबार गरेको हो ।
२०७१ फागुन १० गते ट्युसन पढ्न गएका किशोरीहरुमाथि वसन्तपुरमा एसिड हानिँदा संगीता पुलामी गम्भीर घाइते भएकी थिइन् ।
एसिडले लागेर किशोरीहरु सीमा बस्नेत र हेमु मुखर्जीको शरीरमा सामान्य चोट लागेको थियो ।
काठमाडौंको टोखामा बस्दै आएका जीवनले संगीतासँगको प्रेममा धोका पाएको रिसमा किशोरीहरुमाथि एसिड हानेका थिए ।
एसिड हानेपछि काठमाडौं र भारसतसम्म पुगेर लुक्न सफल उनलाई प्रहरीले घटनाको २६ दिनपछि पक्रन सफल भएको थियो ।
ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएपछि गत वैशाख ३ गतेको काठमाडौं जिल्ला अदालतको आदेशमा उनी जेल चलान भएका थिए ।
आदेशलगत्तै उनलाई केन्द्रीय कारागारमा चलान गरिएको थियो । जीवनले एसिड हान्दा संगीताको अनुहार बिग्रेको छ । उनको लामो समयसम्म काठमाडौं मेडिकल कलेजमा उपचार भएको थियो ।