
इटहरी–भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मंगलबार विहारकाे सुपौल जिल्लाको बिरपुरमा ५२ जना नेपालीलाई नियन्त्रणमा लिएको छ। एसएसबीले नियन्त्रणमा लिएकामा १९ जना महिला र ३३ जना पुरुष छन्।
सप्तरी, उदयपुर र दोलखाबाट भारत जादैं गरेका नेपालीलाई एसएसबीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई खबर गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ। 'ठूलो संख्यामा नेपाली भारत प्रवेश गरेको भनेर एसएसबीले नियन्त्रणमा लिएको जानकारी गराएको छ,' सुनसरीका प्रहरी प्रमुख एसपी सन्जयराज शर्माले नागरिकन्युजसँग भने, 'नेपाल प्रहरीको टोली बिरपुर गोइसकेको छ, त्यहाँ पुगेर फर्किएपछि मात्र यकिन टंगो लाग्छ।'
एसएसबीले नियन्त्रणमा लिएका नेपालीको अवस्था बुझ्न डिएसपी चिरञ्जिवी कोइरालाको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको हो । 'रोजगारीकालागि भारत प्रवेश गरेको प्रारिम्भक सूचना आएपनि नेपाल प्रहरीले त्यहाँ पुगेर अनुसन्धान गरेपछि मात्र यकिन टुंगो लाग्नेछ,' सुनसरीका प्रमुख जिल्ला आधिकारी रविलाल पन्थले भने । नागरिक न्यूज