Friday, 11 December 2015

भूकम्पपीडित कोटामा प्रचण्डका छोरीनातिनीदेखि, गृहमन्त्रीका छोरीहरूसम्म चीन शयरमा


एकीकृत नेकपा माओवादीले भूकम्पपीडितका लागि नेपाल सरकारले पाएको चीन भ्रमणको कोटाको दरुपयोग भएको बारे छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ । 
चीन सरकारले नेपालका भूकम्पपीडित युवायुवतीलाई आफ्नो देशको भूकम्प प्रभावित क्षेत्रमा अवलोकन गराउने परियोजना गृहमन्त्रालयलाई दिएको थियो ।
उक्त कोटामा गृहमन्त्री शक्ति बहादुर बस्नेतले पार्टी अध्यक्ष प्रचण्डकी नातिनीलाई समेत मुछेर आफ्ना परिवारका सदस्य, नातेदार एवं पार्टी कार्यकर्तालाई शुक्रबार चीन पठाएपछि यसले पार्टीभित्र आलोचना भएको छ । टोलीमा भूकम्प प्रभावित नै नभएका जिल्लाका एमाओवादी कार्यकर्तालाई समेत संलग्न गराइएको छ ।

बैठकमा केन्द्रीय सदस्य राजकाजी गुरुङले गृहमन्त्री बस्नेतले सत्ताको दुरुपयोग गरेको आरोप लगाए । आफ्ना छोरी, नातागोता र नजिकका पार्टी कार्यकर्तालाई छानीछानी चीन भ्रमणमा पठाएको भन्दै गुरुङ मन्त्री बस्नेतविरुद्ध कड्किए ।

‘सत्तामा कम्युनिष्ट प्रभावलाई सकारात्मक उपयोग गर्नुपर्नेमा सत्ताको दुरुपयोग भएको छ’, गुरुङको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेसँग भने, ‘शक्तिको अशोभनीय दुरुपयोग रोकिएन भने यो सरकार धेरै दिन चल्दैन ।’

गुरुङले बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नातिनीहरुलाई चीन पठाएर मन्त्रीले चाकडी गरेको आरोप लगाए । यद्यपि उक्त प्रकरणमा अध्यक्ष प्रचण्डलाई मुछेर बदनामी गर्न नमिल्ने तर्क गरे ।

नारायणकाजी सरकार खोज्दै सडकमा  !
बैठकमा गुरुङले पार्टी उपाध्यक्ष एवं सरकार सञ्चालनका लागि गठित संयन्त्र प्रमुख नारायण्काजी श्रेष्ठको समेत आलोचना गरे ।

सरकार सञ्चालनको विधि र नीति बनाउन र त्यसलाई कार्यान्वयन गराउन छाडेर श्रेष्ठ सरकार खोज्दै बानेश्वरको सडकमा हिंड्ने गरेको भन्दै व्यंग्य गरे ।

‘सरकारको प्रभावकारी सञ्चालन गर्ने जिम्मेवारी पाएका व्यक्तिलाई सरकार खोज्दै बानेश्वरको सडकतिर हिंड्न थालेपछि सरकारले कसरी काम गर्छ ?’, उनको प्रश्न थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us