Sunday, 20 December 2015

पूर्व लडाकु शिविरमा अर्बौं भ्रष्टाचा्र भयो: बाबुराम भट्टराई

पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व जनमुक्ति सेना र वाइसीएलका लडाकुहरुलाई नयाँ शक्ति निर्माण अभियानमा लाग्न आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार काठमाडौमा पूर्व जनमुक्ति सेना र वाइसीएलको भेला गरी आफूले संचालन गरेको नयाँ शक्ति निर्माण अभियानमा लाग्न आग्रह गरे। उनले पूर्व जनमुक्ति सेना र वाइसीएलका २ सय भन्दा बढी लडाकुहरु सहभागी भेलामा पूर्व लडाकुहरुले विगतको भूमिकाप्रति गर्व गरी अब निर्माण र समृद्धिको नायक बन्नुपर्ने बताए।
उनले एकीकृत नेकपा माओवादीमा स्वार्थी र नवधनाढ्यहरुको समूह माकुराको जालो जसरी फैलिएका कारण आफूले पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियान सुरु गरेको भन्दै आफूलाई रुपान्तरण गरेर अभियानमा साथ दिन पूर्व लडाकुहरुसँग आग्रह गरे।
नयाँ शक्ति निर्माण अभियानका संयोजक रहेका डा. भट्टराईले पूर्व लडाकुहरु नेपाली सेनामा थोरै संख्यामा समायोजन हुनुमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल दोषी रहेको बताए। उनले पूर्व लडाकुहरुको शिविरमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको र त्यो लुकाउनका लागि पार्टी अध्यक्ष दाहालले आफूलाई समेत जानकारी नदिइ समायोजन हुनेहरु गोप्यरुपमा छानेको बताए।

 शान्ति प्रक्रियामा आए लगत्तै एमाओवादीले आफूसँग ३५ हजार लडाकु रहेको बताएकामा उसका जम्मा १३ सय ५२ लडाकु मात्र नेपाली सेनामा समायोजन भएका थिए। पूर्वप्रधानमन्त्री डा. भट्टराईले एमाओवादी अध्यक्ष दाहालमाथि पार्टीका एजेण्डा छोडेको आरोप समेत लगाए।

 उनले गणतन्त्रका कट्टर विरोधी राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चा सहभागी सरकारमा सम्मिलित हुनुले एमाओवादीले एजेण्डा छोडेको पुष्टि भएको बताए। पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको नेतृत्व तहमा मुलुकको आर्थिक समृद्धि गर्ने भिजन नदेखेर नै आफूले नयाँ शक्ति निर्माण गर्न लागेको भन्दै नयाँ शक्तिमा विभिन्न क्षेत्रका सक्षम युवाहरु समेट्ने बताए।साभार:सेतोपाटी

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us