Sunday, 6 December 2015

शेष घले र जमुना गुरुङले जनकपुर क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने



काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने भएको छ ।
नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका एमआईटी फाउण्डेसनका संस्थापकद्वय घले र गुरुङले शनिवार जनकपुरस्थित क्षेत्रीय अस्पतालको निरिक्षण गर्नुभयो ।
सो क्रममा अस्पताल ब्यबस्थापनले अस्पतालको प्रसुती सेवामा निकै चाप रहेको र त्यसलाई ब्यबस्थित बनाउन नसकिएको जानकारी दियो । अस्पतालको पहिलो आबश्यकता प्रसुती सेवालाई अत्याधुनिक बनाउनु रहेको भन्दै ब्यबस्थापनले प्रसुती गृह निर्माणमा सहयोग गर्न घले दम्पत्तिसमक्ष अनुरोध ग¥यो ।
सन् २०११÷१२ मा स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनअनुसार ६ वटा क्षेत्रीय अस्पतालमध्ये जनकपुर क्षेत्रीय अस्पतालमा बिरामीको सवैभन्दा धेरै चाप देखिएको थियो । अन्य अस्पतालमा ९७ प्रतिशत अकुपेन्सी रेट रहेकोमा जनकपुर अस्पतालमा १४५ प्रतिशतसम्म अकुपेन्सी रेट देखिएको थियो । साथै अस्पतालमा मातृशिसु मृत्युदर पनि निकै उच्च रहेको देखिएको छ, जहाँ ४५ प्रसुतीमध्ये २२ जनाको ज्यान जाने गरेको देखिएको छ ।
‘सरकारी बजेटले मात्र नयाँ–नयाँ सुविधा थप्न गाह्रो छ, बिरामीको चाप अत्यन्तै धेरै छ तर हामीसँग पर्याप्त बेड पनि छैनन्’ अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेण्ट डा. राजकिशोर पण्डितले भन्नुभयो–‘सुविधासम्पन्न अपरेशसन थिएटरसहितको प्रसुती गृह बनाउन सके धनुषासँगै अन्य ५–६ वटा जिल्लाका लाखौं मानिसले सुविधा पाउँछन् ।’
अस्पतालका अध्यक्ष नागेन्द्रप्रसाद चौधरीले बर्षमा करिव १४ हजारलाई प्रसुती सेवा दिइरहेको जानकारी दिनुभयो । धुनषासहित करिव ७ वटा जिल्लाका गरिव तथा निम्नवर्गिय बिरामीलाई अस्पतालले सेवा दिइरहेको जानकारी दिँदै उहाँले अत्याधुनिक प्रसुती गृह बन्न सके यो क्षेत्रकै लागि ठूलो उपलब्धि हुने बताउनुभयो ।
अस्पतालको निरिक्षण र ब्यबस्थापन पक्षसँगको छलफलपश्चात अध्यक्ष घलेले छिटै प्रसुती गृह निर्माणका लागि काम अगाडी बढाउने बताउनुभयो ।
‘हामीले मौजुदा सरकारी संयन्त्रलाई नै कसरी बलियो र प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका थियौं’ अध्यक्ष घलेले भन्नुभयो– देशकै दोस्रो ठूलो प्रसुती सेवा दिने अस्पतालमा पूर्वाधारको दयनीय अबस्था रहेको थाहा पाएपछि हामी आफ्नै आँखाले हेरेर सहयोगको खाका बनाउन अस्पतालमै आएका हौं ।’
‘हामीले अस्पताल ब्यबस्थापनलाई आबश्यकता के कति हो भन्नेबारे विस्तृत जानकारी उपलब्ध गराउन भनेका छौं, साथसाथै फाउण्डेसनले पनि अनुसन्धान अगाडी बढाउँछ, केही दिनभित्रै हामी सहयोग रकमको राशी तय गरी घोषणा गर्ने छौं ।’ घलेले भन्नुभयो ।
एमआईटी फाउण्डेसनकी संस्थापक जमुना गुरुङले सेवाको गुणस्तर सुधार गरी मातृशिसु मृत्युदर कम गर्न सहयोग गर्न लागिएको बताउनुभयो ।
‘अकुपेन्सी रेटलाई १४५ प्रतिशतबाट घटाएर ८० मा झार्ने र मातृशिसु मृत्युदर पनि बिश्वस्वास्थ्य संगठनको मापदण्डभित्र ल्याउने लक्ष्यका साथ हामीले सेवामा गुणस्तर बृद्धि गर्न लागेका हौं’ गुरुङले भन्नुभयो–‘अस्पतालमा सुविधा थप गरी सेवा स्तरलाई बृद्धि गर्न र बार्षिक हजारौैं आमा र बच्चाको जीवनलाई सहज बनाउने र मृत्युदरलाई घटाउने लक्ष्यसहित हामीले सहयोग गर्न लागेका हौं ।’
नेपालमा स्वास्थ्य र शिक्षामा लगानी गर्नेगरी काम थालेको एमआईटी फाउण्डेसनले महाभूकम्पका बेला दुई करोड र नाकाबन्दीबाट सिर्जित मानवीय संकटका बेला औषधि खरिदका लागि एक करोड रुपैयाँ सहयोग गरिसकेको छ । अध्यक्ष घलेका अनुसार राज्यको मौजुदा संरचनामा सुधार गरी गरिव तथा निम्नवर्गिय समुदायमा सहज सेवा पु-याउन फाउण्डेसनले सहयोग गर्ने नीति लिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us