Wednesday, 16 December 2015

सरकारी खर्चमा छोरालाई अष्ट्रेलिया पठाएका पूर्वमन्त्री पराजुलीले हर्जना तिरे, गृहमन्त्री बस्नेतको पालो कहिले ?

काठमाडौं । छोरालाई गैरकानुनी रुपमा अष्ट्रेलिया भ्रमणमा पठाएका पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुलीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ६० हजार रुपैयाँ असुल उपर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहेका बेला गैरकानुनी रुपमा छोरालाई अष्ट्रेलिया भ्रमणमा पठाएबापत हर्जना तिराएको छ ।

पराजुलीले अनुचित र गैरकानूनी रुपमा छोरालाई अष्ट्रेलिया पठाउँदा दुग्ध विकास संस्थानलाई २ लाख ६० हजार नोक्सानी भएको ठहर गर्दै उक्त रकम हर्जना तिर्न आदेश दिएको थियो ।

अख्तियारले बुधबार एक विज्ञप्ति मार्फत पराजुलीले सोमबार हर्जना बुझाएको जनाएको छ । पूर्वमन्त्री पराजुलीले हिमालय बैंकमा रहेको दूग्ध संस्थानको खातामा २ लाख ६० हजार रुपैयाँ जम्मा गरेको अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पराजुलीले मन्त्री स्तरीय निर्णयबाट वनकटवा दूग्ध उत्पादन सहकारी संस्था बाँकेका शेयर सदस्य गिर्वाणविक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा ०७२ असार २९ गतेदेखि ०७२ साउन ४ गतेसम्म अष्ट्रेलिया भ्रमणमा पठाएका थिए ।

सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका पराजुली गत असार १५ गते धान दिवसका दिन भएको रोपाईंका क्रममा महिलाहरुलाई अश्लिल हर्कत गरेपछि विवादमा तानिएका थिए । सोही विवादका कारण पराजुलीले पदबाट राजीनामा दिएका थिए ।

सोही नजिरका आधारमा भूकम्प पीडितको कोटामा दुई छोरीलाई चीन भ्रमण पठाएको विषयमा समेत हर्जना तिराउने बाटो खुलेको छ । उक्त प्रकरणबारे अख्तियारले छानबिन थालेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us