Thursday, 17 December 2015

इन्धन आयातको सम्झौता गर्न प्रतिनिधिमण्डल चीन जाँदै


  चीन सरकारसँग इन्धन आयातलगायत अन्य व्यापारिक सम्झौता गर्न सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल यही पुस ८ गते त्यसतर्फ जान लागेको छ ।

भारतको अघोषित नाकाबन्दीपछि इन्धन आयात गर्ने विषयमा सरकारका विभिन्न निकायले चीनसँग औपचारिक तथा अनौपचारिक रुपमा जारी राखेको छलफललाई निष्कर्षमा पु¥याउने उद्देश्यका साथ उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको हो ।

हाल बेलायत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री थापा यही पुस ६ गते स्वदेश फर्किएलगत्तै चीन भ्रमणमा जाने हुने छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले केही समय पहिले गर्नुभएको चीनको अनौपचारिक भ्रमण र नेपाल आयल निगमका उच्च अधिकारीको भ्रमणपछि उच्चस्तरीय भ्रमणको तयारी गरिएको हो ।

चीनको सरकारी कम्पनी पेट्रो चाइनासँग व्यापारिक रुपमा इन्धन खरिद गर्ने विषयमा प्रारम्भिक सहमति भए पनि व्यापारिक सहमति भने हुन सकेको थिएन । निगमको प्राविधिक टोलीले पेट्रो चाइनाका उच्च अधिकारीसँग यसअघि नै छलफल गरेको थियो भने वाणिज्य मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठी लगायतको अर्को प्रतिनिधिमण्डल इन्धन आयातलगायत विषयमा द्विपक्षीय कुराकानी गर्न हाल चीनमै रहेको छ ।

प्रतिनिधिमण्डलमा वाणिज्य तथा आपूर्ति, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारी पनि सहभागी रहने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उपप्रधानमन्त्री बेलायत भ्रमणबाट फर्किएलगत्तै चीन भ्रमणमा जाने तयारी गरिएको छ । परराष्ट्र मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । चीन भ्रमणका क्रममा इन्धन आयात लगायत अन्य व्यापारिक सम्झौता हुने बताइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us