
Monday, 28 December 2015
महेन्द्रनगरबाट नयाँ दिल्लीसम्म बस सेवा सुरु
कञ्चनपुर, पुस १४ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सोमबारदेखि नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।
भारतको उत्तर प्रदेश परिवहन निगम र महाकाली सेती यातायात बस व्यवसायी समितिले संयुक्त रुपमा ‘एसी डिलक्स’ बस सेवा सुरु गरेका हुन् ।
नेपाल र भारतबीच गत वर्ष भएको सहमतिअनुसार बस सेवा सञ्चालनमा ल्याउने सहमति भएको महाकाली सेती यातायात बस व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले बताए ।
महाकाली यातायात व्यवसायी समितिलाई अनुमति दिन परराष्ट्र मन्त्रालयले ढिलाइ गरेपछि उत्तर प्रदेश परिवहन एक्लैले बस सेवा सुरु गरेको छ । उत्तर प्रदेश परिवहनका अध्यक्ष हकिम सिंहले मैत्री बस सेवा सुरु भएपछि दुवै देशका नागरिकलाई आवतजावतमा निकै सहजता हुने बताए ।
महाकाली यातायात बस सेवा समिति र उत्तर प्रदेश परिवहनले महेन्द्रनगरबाट दैनिक साँझ छ बजे र नयाँ दिल्लीबाट राति नौ बजे आलोपालो गरी बस सेवा सञ्चालन गर्ने सहमति गरेका छन् । यात्रुको चापअनुसार बसको सङ्ख्या थप्दै जाने योजनासमेत दुवै बस समितिको छ । रासस
