Wednesday, 30 December 2015

प्रधानमन्त्री ओली र नरेन्द्र मोदी बीच टेलिफोन वार्ता


ओलीलाई भारत भ्रमणको निम्तो
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार बिहान टेलिफोन वार्ता भएको छ ।

पूर्व–पश्चिम राजमार्ग सफाइ अभियान उद्घाटनका लागि गृहजिल्ला झापामा रहेका प्रम ओलीलाई भारतीय प्रम मोदीले टेलिफोन गरेका हुन् ।

दुई प्रमबीच तीन महिनादेखि जारी भारतीय नाकाबन्दी तथा नेपालको संविधान संशोधनबारेमा कुराकानी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

ओली र मोदीबीच विहान १०.३५ बजे टेलिफोनमा संवाद भएको हो । करिब २० मिनेट भएको वार्तामा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँ वर्ष २०१६ को शुभकामना पनि आदानप्रदान गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिएका छन् ।

नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उनीहरुबीच कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतीय प्रम मोदीलाई बताएका थिए ।

प्रधानमन्त्रीओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रमको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेका छन् ।

जवाफमा मोदीले आफू सदैब आपूर्ति व्यवस्था सहज होस भन्ने पक्षमा रहेको बताउँदै त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताए ।

मोदीले रक्सौल–बीरगन्जबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको जिकिर गरेका थिए ।

प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयर लिफ्ट गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओली र मोदीबीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भएको दाहालले बताए । मोदीले छिटै भारत भ्रमणगर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गरे । छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री निर्वाचित भएयता भारतीय प्रम मोदीले प्रम ओलीलाई टेलिफोन गरेको यो तेस्रो पटक हो ।

यसअघि मोदीले प्रधामन्त्रीमा निर्वाचित भएका दिन ओलीलाई फोन गरेका थिए । त्यसपछि वीरगञ्जमा नेपाली सुरक्षाकर्मीको गोलीबाट भारतीय युवा मारिएपछि पनि मोदीले ओलीलाई फोन गरेका थिए ।

प्रम ओली र एमाओवादी अध्यक्ष प्रचण्डले अबको केही सातामै नाकाबन्दी पनि खुल्ने र मधेस आन्दोलनमा पनि टुंगिने बताइरहेका बेला मोदीको फोन आएको हो ।

बुधबार मात्रै भारतीय राजदूत रणजीत रायले नेपालमा मधेसी दलसँग संवादको प्रगति र संविधान संशोधन प्रक्रियाको स्वागत गर्दै प्रम ओलीलाई भारतमा स्वागत गर्न तयार रहेको बताएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us