Friday, 4 December 2015

बालुवाटारको वार्ता स्थगित गरेर मधेसी मोर्चाका नेताहरु ‘अचानक’ भारतीय दूतावास छिरेपछि.....

काठमाडाैं-बालुवाटारमा तय गरिएको वार्तामा मधेसी मोर्चा सहभागी नभएपछि वार्ता स्थगित गरिएको छ। प्रमुख तीनदलको बैठक जारी रहँदा मोर्चा नेताहरू बालुवाटार अाउने र वार्ता हुने अपेक्षा गरिएको थियो। तर मधेसी मोर्चाका नेताहरु बैठकमा गएनन् । सत्तारुढ दलहरु नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु अपराह्न ४ बजे नै बालुवाटार पुगेर मोर्चाका नेताहरुको प्रतीक्षा गरेका थिए ।

तर, मोर्चाका नेताहरु भने बालुवाटार नगइ अचानक लैनचौरस्थित भारतीय दूतावास गएकाले वार्ता नभएको हो ।

उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका मोर्चाका नेताहरु दूतावासमा भारतीय राजदूत रणजित रायसँगको छलफलमा गएका थिए ।

मोर्चासँग छलफल हुन नसकेपनि प्रमुख दलहरुले भने मधेसी मोर्चाको आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले तीन बुँदे सहमति गरेका छन् ।

सहमतिअनुसार अघिल्लो सरकारले अघि बढाएको समावेशी सहभागिता र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संशोधन विधेयक अघि बढाउने निर्णय प्रमुख दलहरुले गरेका छन् ।

यस्तै, संघीय प्रदेशहरुको सीमांकनलाई राजनीतिक समितिमार्फत् तीन महिनाभित्र टुंग्याउने प्रस्ताव पनि प्रमुख दलहरुले अघि सारेका छन् ।

साथै, मधेसी मोर्चालाई प्रमुख चार दलले संयुक्तरुपमा वार्ताका लागि आह्वानसमेत गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us