Wednesday, 30 December 2015

भारतले हामीलाई कंगाल बनाएर छाड्छ- एमाले नेता रविन्द्र अधिकारी

मधेशी मोर्चाका मागलाई संबोधन गर्न सरकारले तीन वटा बुँदा पास गरेको छ । ती बुँदालाई भारतले स्वागत पनि गरेको छ । अब के नेपालको समस्या समाधान हुने हो ?

मुख्य रुपमा नेपालको पछिल्लो राजनीतिक अबस्था धेरै जटिल अप्ठेरो र संकट पुर्ण अवस्थाबाट गुज्रिएको छ । यो कुरा धेरै अगाडी भइसक्नु पथ्र्यो तर यति समय वितेर जे भयो त्यसलाई भारतले जुन हिसाबले सकारात्म भनेको छ त्यो राम्रो कुरा हो ।

अहिले तपाईको पार्टीले सरकारको नेतृत्व गरेको छ । अहिले सरकारले ल्याएको बिकल्प पहिला नै ल्याएको भए त उती बेलै समस्या समाधान भइसक्ने देखियो । तर किन पहिलै गर्न सकिएन? 

यो विकल्प पहिला पनि थियो । तर क्याविनेटले पास अहिले गर्यो । पास त्यतिबेला गर्यो जतिबेला यो कुरामा समर्थन जुट्छ भनेपछि । समर्थन नजुट्दै पास गर्ने कुरा भएन । मधेशमा भएको लामो आन्दोलन, हिंसा,नाकाबन्दीबाट बला लाग्छ मित्रराष्ट्रहरुले पनि सिकेको हुनुपर्छ । की यो आन्दोलनमा ठुलो जनमत छैन, यसले पद्धतीलाई विर्गार्ने काम गरेको छ । र यो तरीकाबाट नेपालमा लोकतन्त्र  संस्थागत हुन सक्दैन , नेपाली जनताले निर्माण गरेको संविधान दिगो र अगाडी बढ्न सक्दैन ।यो महसुश अहिले भएको हुनुपर्दछ । जसका कारणले आज यो निर्णय पछाडि मित्र राष्ट्रले यसलाई स्वागत गरेको छ ।

मधेश आन्दोलनको पछाडि ठुलो जनमत छैन भन्नुभयो,त्यही जनमत छैन भनेर तपाईहरुले मधेश आन्दोलनलाई दबाउन खोजेको हो ?

होइन । सबै जनमत भएको भएपनि उहाँहरुका कतिपय मागहरु छन्  ती पुरा हुन कहिले पनि सक्दैन।

मोर्चाका पुरा गर्न नसकिने मागहरु कुन कुन मागहरु हुन ?

एक मधेश एक प्रदेश सक्दैन, यसलाई पछाडि छोडेर एक मधेश दुई प्रदेश पनि सम्भव छैन । हन्डेट प्रसेन्ट जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण सम्भव छैन ।  हिमालका १० वटा जिल्ला एकै ठाउँमा हाल्दा  मधेश अथवा शहरको  एउटा निर्वाचन क्षेत्र हाल्दा पनि बराबर जनसंख्या छैन । भनिसकेपछि इन्डियामा २९ हजारको पनि निर्वाचन क्षेत्र छ र ४९ लाखको पनि छ ।यसरी हेर्दा के हुँदो रहेछ भने त्यो ठाउँ,भुगोलको प्रतिनिधित्व पनि हो । निर्वाच क्षेत्र भनेको जनसंख्याको मात्र प्रतिनिधित्व हैन । त्यहाँको विशेष परिवेश, भुगोलको प्रतिनिधित्व हो त्यसकारणले हामीले १०० प्रतिशत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउन सक्दैनौ । त्यसको लागि जनसंख्या र भुगोलको सन्तुलनलाई हेर्नुपर्छ । हामीले एक जिल्लालाई एक निर्वाचन क्षेत्र मानेर बाँकी जनसंख्याको आधारमा गरौँ भन्ने कुरा मानेको हो ।

हामीले के बुझ्नु पर्दछ भने कुनै पनि व्यवस्था,पद्धतिहरु भनेको कसैका लहड,आग्रहले,कसैका स्वार्थहरु पुरा गर्नका नीम्ति हुन सक्दैन । मधेशको मुद्धा,त्यहाँको नागरिकको मुद्धा हाम्रो पनि हो । एक छिन मानौं हिमालका शेर्पाले उठाएका मुद्धामा चीनले समर्थन गर्दिनी मधेशतिरका जनताले उठाएका मुद्धामा भारत नजिक नजिक भइदिने हो भने त यो झन जातियतामा गयो नी त। भारतले कुरा गर्दापनि र चीनले कुरा गर्दा पनि एउटा देशसंग कुरा गर्नुपर्छ । कुनै समुदायलाई नजिक राखेर कुरा गर्नु हुँदैन ।

अहिले भारत पछि हटेको हो त ?

 भारत पछाडि हटेको म भन्दिन । भारत सकारात्मक भएर आयो, हामीले समयमा बुझाउन सकेका रहेनछौं । गल्ति हाम्रै थियो । अहिले हामीले अलि बुझाउन सक्यौं, घटना परिवेशले बुझे्यो,बरु बुझ्दा बुझ्दै खर्बैै रुपैयाँ क्षति बनायौं । मुलुकको सबैभन्दा धेरै सामाजिक सद्भाव हत्तपत्त नफर्किने गरी ठुलो क्षति सिर्जना गर्यो । ठुलो मुल्य चुकाएपछि हामी यो स्थानमा आएका छौं ।अझै अगाडी कसरी बढ्छ हेरेर मात्रै भन्न सकिन्छ ।

सरकार र मोर्चाबीच  अब सहमति हुन्छ त ?

मलाई विश्वास छ सहमति हुन्छ । यसमा उपेन्द्र जीले सरकार जोड्नु हुन्छ यसको के अर्थ छ । केपी ओली प्रधानमन्त्री हुनु र नहुनुमा के अर्थ छ । के सुशिल कोइराला प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको थिएन र , नाकाबन्दी र्भपछि उहाँहरुले संसदमा सुशिल कोइरालालाई भोट हाल्न आउनुभएको हैन । ल ठिक छ के अब केपी ओली प्रधामन्त्रीबाट हटेर  सुशिल कोइराला फेरि प्रधानमन्त्री हुने वित्तिकै उहाँका सबै कुरा हुन्छ । यस्ता अपत्यारीला,गलत र मुलुकलाई असाधै अस्थिरतामा धकेल्ने खालका कुराको पछाडि कोहिपनि लाग्नु हुँदैन । अझ नेपाली कांग्रेस त लाग्नै हुँदैन ।

उपेन्द्रजीले त भनिसक्नु भो हाम्रा माग पुरा भएपनि नभएपनि ओली सरकार ढल्छ ?

उहाँहरुले त थाल्नै चाहानुन्छ । सरकार बनाउनै नदिन आन्दोलनमा गरिरहेको मान्छेले सुशिलजीलाई भोट हाल्नुभा हैन उहाँले कुन मुल्यमा हाल्नुभयो ? भने पछि उहाँहरुले केपी ओलीलाई राख्न कहाँ चाहानुहुन्छर नसकेर मात्रै हो  ।त्यसले गर्दा केपी ओली रहने र नरहने ठुलो कुरा हैन मुख्य कुरा मुलुकको सार्वभौमिकता रहन पर्यो, मुलुकको अखण्डता रहन पर्यो, मुलुकले संविधान निर्माणको लोकतान्त्रीक पद्धति रहनु पर्यो र लोकतन्त्रको संस्थागत विकास  हुने एउटा परिवेश, जनताको जीवनमा खुसियाली आउने काम  हुनुपर्यो । संविधान बनेको खुसियाली मनाउन पाएनौं हामीले, चुलो बलेन,दुख भयो कष्ट भयो,हैरानी भयो । हो नेपाली दुख त पाए होलान् तर यस्तो व्यवाहार त दुनियाका सामु छर्लङग भयो नी । र मोर्चाले निस्चित आफ्नो अभिष्टका लागि राजनीतिक खास स्वार्थ र दाउपेजका लागि यत्रो मुलुकलाई बर्बाद गर्न पाइन्छ?

तर सरकारले एउटा कदम त चाल्नु पर्यो जनताले दुख पाए नी ?

हामी वार्ता वाटै समस्या समाधान गर्न चाहान्छौ । हामलिे बुझाउन खोजेको हो तर उहाँहरुले नबुझेको अभिनय गरेको हो  । नबुझेको लाई बुझाउन सकिन्छ , नबुझेको जस्तो गरेर अभिनय गरेकोलाई बुझाउन गाह्रो हुन्छ ।आज  हामीले भोगेको अवश्था त्यही हो । कसैको आडमा  कसैको बलमा मुलुकलाई यस्तो अवस्थामा पार्न मिल्छ ? प्रधामन्त्री,मन्त्री जोसुकै हुन ।

भनेपछि मधेशी मोर्चाले राखेका सबै माग गलत छन् भन्नुहुन्छ ? 

त्यो स्वभाविक छ । सबैलाई रियालाइज भाछ नी । दिन दिनै फोड्या छ , तीन चार हजार उद्योग धन्दा बन्द भाका छन् ।  आर्थिक क्रियाकलाप थप्प भाको छ । मधेशको जनजीवन ढप्प भएको छ । मधेशका बालबालीकाले पढ्न पाएका छैनन् । विरामीले उपचार गर्न पाका छैनन् । अनी के जित्नु भयो त उहाँहरुले । मधेशलाई,देशलाई झन पछाडि पारेर के जितिन्छ ।

उहाँहरुले गलत काम गरिरहनु भएको छ भने त राज्यले ठिक पार्न सक्नु पर्यो नी, के हेरेर बसेको छ राज्य ?
हैन यो संक्रमणकाल हो । हामी फेरि यसलाई राजनीतिक हिसावले वार्ता संबादबाटै समस्या समाधान गरौं भन्ने हाम्रो प्रयास हो । र हिंसाबाट बलबाट समाधान हुन सक्दैन ।

तर हिंसा त राज्यबाट पनि आन्दोलनकारीबाट पनि भएको छ नी ?

सिडियो कार्यालयमा आगो लगाइदियो अब उनीहरुलाई तपाईले राम्रो गर्नुभो अब वार्ता गरौं भन्नी, मान्छे मारिरहेको छ, अं मान्छे मार्नुभो ठिकै भो अब वार्ता गरौं भन्नी के राज्यको त्यहाँ उपस्थिती हुँदैन । राज्यले थप प्रतिकारर प्रतिवाद गरेन तर आफ्नो सुरक्षाका लागि त राज्यले गर्नुपर्छ अर्झ त्यो गर्ने कुरामा अझै कमी भयो ।प्रभावकारी रुपमा गर्नुपथ्यो । अरु पनि कुरा छन् । संविधान प्रगतिसिल दस्ताबेज हो गतिसिल छ । यसलाई समय अनुसार बदल्दै लान सक्छौ तर साना साना कुराको निहुमा अहिलेका उपलब्धि नै समाप्त पार्ने हिसावमा काम भइराछ ।

हिंसा बढी भयो राज्यलाई आवश्यक पर्योभने छ सेना परिचालन पनि गरेर आफ्नो र देश र जनताको सुरक्ष गर्न सक्छनी ? 

सेना परिचालन गर्नुपर्दैन, पर्यो भने त सेना देशकै लागि त होनी तर अहिले पर्दैन ।

तपाई युुवा नेता अब कुन तहबाट अगाडी बढ्यो भने अवस्था सहज हुन्छ ?

म संग पनि मधेशका धेरै साथिहरु हुनुहुन्छ । उहाँहरुसंग दिनदिनै फोन हुन्छ । उहाँहरुले अहिले सरकारले गरेको निर्णयलाई राम्रो कदम  भन्नुभाछ । उहाँहरुको चासो सिमांकनमा हो अरुको चासो अन्त भएपनि अरुको चाँसो पनि उहाँहरुले बोक्दीनु भएको भएपनि । सिमांकनको विषयमा के भनेको छ भने नेपालको अखण्डतालाई, एकता,सम्बृद्धीलाई र खलल नपर्ने गरि गर्न सक्नेसम्मको सिमांकन हुन्छ त्यसकारणले सिमाङकन तीन महिनाभित्रमा  विज्ञहरुलाई दिएर राम्रो एक्पोर्टहरुबाट आएको कुराको आधारमा हामी गरौं । हाम्रीले पहिला पनि भनेका हौं उहाँहरुले मान्नुभएन । अब मान्नुहुन्छ । तर हामीले यस्तो सिमा नबनाउ भोली नेपालै खोज्न नपरोस ।

यो समस्या आउँदा कुटनीतिक रुपमा सरकारले केही गर्न सकेन । कुटनीतिक रुपमा धेरैनै कमजोरी भएको त होनी ?

मैले भनिहाले नी निदाएकोलाई उठाउन सकिन्छ तर निधाएको अभिनय गरेकोलाई सकिदैन ।

सरकार पनि निदाएकै हो ?

(अलि अलमलिर्दै)....मैले भने यसमा यतिबाटै बुझ्नुस न । हामी प्रयास गर्दै छौ ।यदि सरकार निदाएकै भन्ने प्रमाणीत भयो भने ठिकै छ त । तर मुल कुरा के छ भने समस्या समाधान गर्ने भन्दा समस्यालाई बल्झाउने प्रवृति नियत बंस जानी जानी गरिन्छ नी त्यतिबेला बल्ल समस्या आउँछ ।

अब सबै समस्या हल भएर जनताले कहिलेसम्म राहातको सास फेर्न पाउँछन् ? 

अरु नाकाहरु त सुचारु भइसकेका छन् । विरगञ्ज नाकाहरु पनि छिटै सुचारु हुने मैले सुचना पाएको छु । जनतालाई दुख दिने मुलुकलाई कमजोर पार्ने काम नगरौं । दई वटा शक्तिसाली मुलुकको विचमा हामी सधै भिखारी भएर बस्ने हैन । यसमा गम्भिर हुनुपर्यो । अबको हाम्रो लडाइ मुलुकको गरिबका विरुद्ध हुनुपरयो ।अबको लडाई तराई मधेशमा रहेको अशिक्षाको विरुद्ध हुनुपर्यो । मधेशका नाममा भजाएर शक्ति लिने हैन,उपेन्द्र यादवजी,महन्त ठाकुरजी अब गरिबका विरुद्धमा लडाइ लड्नुस । हिजो राजतन्त्र विरुद्ध लड्न हिजो जस्तो खालको योग्यतम कार्यकर्ता बनाइयो  अब अशिक्षा,गरिबी,अविकास,पछौटेपनको विरुद्ध लड्न त्यस्तै खालको योग्यतम कार्यकर्ता बनाउनु पर्यो । गरिबीको विरुद्ध लड्ने ढुंगा हान्ने  कार्यकर्ता हुन सक्दैन । सक्षम युवाहरु यसका लागि अगाडी आउनुपरयो ।

त्यसको लागि तपाईहरु जस्ता युवा नेताले नेतृत्वलाई दबाब दिनुपर्यो नी । तपाईहरुले पनि गर्न सकेको देखिदैन नी?

यहाँ हाम्रो कुराको सुनवाइ कम छ । किनभने हाम्रो नेताहरुको थिती कस्तो छ भने संसार सबै हामीले मात्र जानेका छौं भन्ने छ । दुनिया   बदलिसक्यो कहाँबाट कहाँ पुगिसक्यो,हामीलाई कति पछाडी छोडिसके तर हामी हाम्रै टेप्पो बजाएर बसेका छौ ।

अनी देशमा यति ठुलो संकट आउँदा पनि भारतकै मुख ताकेर बस्ने चीनसंग किन व्यापारिक सम्झौता हुन सकेन ?
हाम्रो मानसिकता हो, दक्षित्रको त्रास हो । हाम्रो इच्छा शक्तिको कमी हो । हामी उत्तर र दक्षिणसंग समानताका आधारमा जानु पर्दछ । तर अहिलेको विश्व व्यापी वजारमा एउटा देशसंगमात्र भर परेर जानु हुँदैन । हामीले दुबै देशसंग व्यापार सम्झौता गर्नु पर्दछ । हैन भने हाम्रा मित्र राष्ट्रहरु हामीलाई कंगाल बनाएर, हामीकहाँ अस्थिरता मच्चाएर,आफ्नो स्वार्थका लडाई देशको भुमीमाथि खेलेर हामीलाई विपन्न र कंगाल बनाएर छाड्छन् ।






About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us