२७ मंसिर, काठमाडौं ।भारतीय नाकाबन्दीका कारण सारा नेपालीको चुलो निम्यो ग्यास अभावका कारण । अझै पनि नेपालीहरु संकटमा रहेका छन् । तर नेपालमै ग्यास उत्पादन गरेर सिलिन्डरमा भरी खाना पकाउनेहरु पनि बढ्दै गएका छन् । इच्छा शक्ति भयो भने असम्भव केही छैन भन्ने कुरा सुनसरीमा देखिएको छ ।
सुनसरीको धरानमा गाईको मलमुत्रबाट बायोग्यास उत्पादन सुरु गरिएको छ । स्थानीय व्यवसायी घनेन्द्र कार्की र लोकबहादुर खापुङले ५० लाख रुपैयाँको लगानीमा २ सय घनमिटर क्षमताको बायो ग्यास प्लाण्ट निर्माण गरी बायो ग्यास उत्पादन सुरु गरेका हुन् ।
भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको तराई बन्दका कारण खाना पकाउने एलपी ग्यासको हा–हाकार भइरहेका बेला बायो ग्यास उत्पादनले केही राहत मिल्ने अपेक्षा स्थानीयले गरेका छन् ।
धरान उपमहानगरपालिका–२६ स्थित विष्णुपादुकामा निर्माण गरिएको बायो ग्यासबाट दैनिक १० सिलिण्डर ग्यास उत्पादन गरिँदै आएको छ । यो बायो ग्यासबाट ६२ दशमलव ५ केभी विद्युतसमेत उत्पादन हुने भारतीय इन्जिनियर अरविन्द सिंहले जानकारी दिए ।
कार्की र खापुङले सञ्चालनमा ल्याएको केके लाइभस्टक एण्ड एग्रिकल्चर रिसर्च सेन्टरमा पालिएका गाई, बंगुर, खसीको मलमुत्रबाट बायो ग्यासको उत्पादन सुरु गरिएको हो । यो प्रविधि सबैतिर विस्तार गर्ने हो भने ग्यासमा परनिर्भरता कम हुने विज्ञहरुले बताएका छन् ।