
कारबाहीमा पर्ने कर्मचारीमा गृह मन्त्रालयका पाँच, अर्थका सात र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका छ कर्मचारी छन् । यस्तै पोसाक नलगाउने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका तीन, सहकारी तथा गरिबी निवारणका दुई र ऊर्जा मन्त्रालयका सात कर्मचारी छन्।
केन्द्रका अनुसार सिँचाइ मन्त्रालयका दुई, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका छ, शिक्षा मन्त्रालयका १३, सूचना तथा सञ्चार प्र्रविधि मन्त्रालयका १४ र सहरी विकास मन्त्रालयका एक कर्मचारी छन् । तोकिएको पोसाक नलगाई कार्यालय आउनेमा एक सहसचिव, १० उपसचिव, १५ शाखा अधिकृत र ४० सहायकस्तरका कर्मचारी छन् ।
सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयमा सरकारी कर्मचारी हो कि बिचौलिया हो छुट्याउन नसकिएको भन्दै आपत्ति प्रकट गरेपछि केन्द्रले आजदेखि स्थलगत अनुगमन गरी पोसाक नलगाउने कर्मचारीलाई कारबाही गर्न सुरु गरेको हो । पोसाक नलगाउने कर्मचारीलाई सचेत गराउने र सम्बन्धित कार्यालय प्रमुखलाई कारबाहीका लागि सिफारिस गरिने केन्द्रका सहायक प्रवक्ता रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सामान्य प्रशासन मन्त्रालयका सचिव टङ्कमणि शर्माले बुधबार नै पोसाक नलगाई कार्यालय आउने कर्मचारीलाई कारबाही गरिने जानकारी दिनुभएको थियो ।
विशेष गरी सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयमा कर्मचारीले तोकिएको पोसाक नलगाई बसेका कारण बिचौलिया र कर्मचारी छुट्याउन नसकेको भन्दै गुनासो आएपछि सामान्य प्रशासन मन्त्रालयले आवश्यक कारबाही गरिदिन केन्द्रलाई आग्रह गरेको थियो । रासस